दमौली, १५ माघ । प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले आफूले प्राप्त गर्ने तलबवापतको रकम जिल्लाका दुई सङ्घ संस्थालाई हस्तान्तरण गरेका छन् ।
तनहुँ क्षेत्र नम्बर १ बाट सांसदमा निर्वाचित भएपछि आफूले प्राप्त गर्ने तलब जिल्लाका विभिन्न सङ्घसंस्थालाई उपलब्ध गराउने प्रतिबद्धताबमोजिम श्रेष्ठले दुई महिनाको तलबवापतको रु. ५०/५० हजार भानु नगरपालिका–१३ ठूल्ढुङ्गास्थित सिद्धबाबा युवा क्लब र तमु ह्योला छोंज धी गुरुङ राष्ट्रिय परिषद् तनहुँ प्रदान गरेका हुन् ।
ती दुई संस्थालाई एक/एक महीनाको तलब उपलब्ध गराउने सांसद श्रेष्ठले यसअघि नै प्रतिबद्धता जनाएका थिए । उक्त दुवै संस्थाको रकम सांसद श्रेष्ठले क्लबका सल्लाहाकार एवं तमु ह्योला छोंज धी गुरुङ राष्ट्रिय परिषद्का केन्द्रीय सदस्य रगबहादुर गुरुङलाई हस्तान्तरण गरेका छन् ।
गत वर्षको फागुन पहिलो साता सांसदको रुपमा शपथ ग्रहण गर्नुभएका श्रेष्ठले आफूले पाएको तलब हालसम्म सिद्धबाबा युवा क्लब र तमु ह्योला छोंज धी गुरुङ राष्ट्रिय परिषद्सहित व्यास नगरपालिका–११ स्थित चिसापानी खानेपानी उपभोक्ता समिति, भानु नगरपालिका–१० स्थित दुधेकुना सत्यनारायण मन्दिर, भानु नगरपालिका–८ स्थित देउरालीटार युवा क्लब, बन्दीपुर गाउँपालिका–६ ग्याँजाटारस्थित शिवमन्दिर, भानु नगरपालिका–६ नावरुङस्थित कालिका मन्दिर, व्यास नगरपालिका–१० स्थित सुधेरी खानेपानी उपभोक्ता समिति, व्यास नगरपालिका–१ अम्रेनीस्थित शिव मन्दिर र नेपाल पत्रकार महासङ्घ तनहुँ शाखामा रु. एक लाख अक्षयकोषका लागि रकम उपलब्ध गराएको उनका स्वकीय सचिव जगत खड्काले जानकारी दिए ।



लाेकपाटी न्यूज

