वीरगन्ज, १४ माघ । प्रदेश नम्बर २ मा ‘मुख्यमन्त्री स्वच्छता अभियान’ शुरु गरिएको छ । ‘स्वच्छ मधेस समृद्ध प्रदेश’को नारासहित प्रदेश सरकारले सोमबारदेखि उक्त अभियान शुरु गरेको हो ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सोमबार वीरगन्जको घण्टाघरबाट अभियान शुरुवात भएको घोषणा गरे ।
अभियानको उदघाटन गर्दै मुख्यमन्त्री राउतले मानिसको पहिलो प्राथमिकता स्वास्थ्य र सरसफाई नै भएकोले आफ्नो घर-आँगन सफा राख्न आफैबाट शुरु गर्न सबैलाई आग्रह गरे ।
उनले मानिस स्वस्थ भए गुणस्तरीय शिक्षा र दक्ष जनशक्ति पनि उत्पादन हुने भएकोले हरेक व्यक्तिको पहिलो प्राथामिकता स्वस्थ्य र सरफाई हुनुपर्नेमा जोड दिए । मानव विकास सूचकांकमा पछि परेको प्रदेश २ लाई समृद्ध बनाउन स्वच्छ मधेस हुन जरुरी रहेको उनको भनाई छ ।
उनले स्वच्छता अभियान प्रदेश २ का जनताको घर-घरबाट शुरु गर्न आग्रह समेत गरेका छन् । प्रदेशका छोरी-चेलीहरुको भविष्य सुरक्षित गर्नकै लागि प्रदेश सरकारले ‘बेटी पढाऊ बेटी बचाऊ’ ‘छोरी जीवन वीमा’ लगायतका अभियान पनि ल्याएको बताए । उनले फागुन ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा वीरगन्ज बाटै यो अभियानको औपचारिक शुरुवात गरिने पनि जानकारी दिए । अभियानको क्रममा मुख्यमन्त्री राउतले वीरगन्जको घण्टाघरमा कुचोले बढाएर सरसफाईको शुरुवात गरेका थिए ।
मुख्यमन्त्रीसहितको सरसफाई अभियान टोलीले घण्टाघरदेखि माईस्थान हुँदै नारायणी अस्पतालदेखि छप्कैयामा पुगेर समापन गरेको थियो ।



लाेकपाटी न्यूज

