काठमाडौं, ११ माघ । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले हिनताबोधले स्वाधीनता बलियो नहुने बताएका छन् । राजधानीमा आयोजित ‘शान्ति र समृद्धिका लागि नेपालको दीर्घकालीन परराष्ट्रनीति’ विषयक विचार गोष्ठीमा श्रेष्ठले स्वाधीनताका लागि हिनताबोध त्याग्नुपर्ने बताएका हुन् ।
प्रवक्ता एवं पूर्वपरराष्ट्रमन्त्री श्रेष्ठले राष्ट्रियता, सार्वभौमसत्ता, भौगोलिक अखण्डतालाई केन्द्रविन्दुमा राखेर शान्ति र समृद्धिलाई सहयोग पुर्याउने खालको परराष्ट्र नीति तय गर्नुपर्नेमा जोड दिए । ‘हाम्रो भौगोलिक अखण्डता, राष्ट्रिय हित नै कुटनीतिको केन्द्रमा रहन्छ’ श्रेष्ठले भने ।
नेपालले आफ्नै ढाँचाको लोकतन्त्र स्थापना गरेको र सामाजिक न्यायसहितको समृद्धिको यात्रामा देश अघि बढेकाले विश्वलाई आफ्नो पक्षमा परिचालित गरेर लाभ लिने नीति जरुरी रहेको उनको भनाइ थियो ।
“अझै पनि कूटनीतिक क्षमताको विकास हुन सकेको छैन, भू–राजनीति जोखिममा छ, हामी हिनताबोधको सिकार भएका छौँ, त्यसैले राष्ट्रिय स्वार्थलाई ठीक ढङ्गले विष्लेषण गरेर रणनीतिक रुपमा परराष्ट्रनीति निर्माण गर्नुपर्छ”, प्रवक्ता श्रेष्ठले भने ।



लाेकपाटी न्यूज

