काठमाडौं, ११ माघ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गीरिराजमणि पोखरेलले चिकित्सा शिक्षा सुधारका लागि डा. गोविन्द केसीले खेलेको भूमिकाका लागि धन्यवाद दिएका छन् ।
चिकित्सा शिक्षा विधेयक प्रतिनिधि सभाबाट पारित भएपछि शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले डा. गोविन्द केसीलाई धन्यवाद दिँदै अब केसीले अनशन तोड्नुपर्ने बताएका हुन् । मन्त्री पोखरेलले २०६९ सालदेखि चिकित्सा शिक्षा सुधारमा उठ्दै आएको आवाजलाई यो विधेयकले सम्बोधन गर्न सफल भएको पनि जिकिर गरे ।
‘पटक–पटक हामीले ऐन बनाएर सुधारको प्रक्रियामा लैजान कोशिश गरेका थियौँ, विधेयक औपचारिक रुपमा पास भएसँगै अब सुधारको काम सुरु भयो’, पोखरेलले भने, ‘राष्ट्रिय सभामा गएपछि पास भएर यसले ऐनको स्वरुप लिन्छ ।’
वैशाखमा नयाँ शैक्षिक सत्र हुने भएकाले डा. केसीका अधिकांश माग सम्बोधन गर्दै विधेयक पारित गरिएको पोखरेलले बताए । ‘वैशाखमा मेडिकल कलेजले इन्ट्रान्स परीक्षा लिनुपर्ने हुन्छ, अब शुल्कसहितका कुरा कार्यान्वयन हुनुपर्छ’, उनले भने, ‘प्रक्रियागत रुपमा हामी सही छौँ । डाक्टर केसी र चिकित्सा शिक्षा सुधारमा लागेको आवाज यस विधेयकले सर्वाधिक समेटेको छ ।’
मन्त्री पोखरेलले अबको १० वर्षभित्र चिकित्सा शिक्षालाई गैरनाफामा लाने ढोका यो विधेयक पास भएसँगै खुलेको पनि दाबी गरे । ‘चिकित्सा शिक्षा सुधारको प्रयत्नका लागि डा. केसीलाई पनि धन्यवाद दिन्छु’, उनले भने, ‘विधेयक संसदको प्रक्रियामा गएको सन्दर्भमा यसको गरिमा र पद्दतिलाई सम्मान गर्दै उहाँले अनशन फिर्ता लिनुपर्छ ।’
मन्त्री पोखरेलले डा. केसीले उठाएका चिकित्सा शिक्षा सुधारका मुद्दाको मात्रै आफूले जिम्मा लिने स्पष्ट पारे । ‘डाक्टर केसीले उठाएका चिकित्सा शिक्षा सुधारका मुद्दाको जिम्मा लिन तयार छु’, उनले भने, ‘केसीले उठाएका राजनीतिक मुद्दाको जिम्मा लिन सक्दिनँ, । सरकार उहाँसँग वार्ताका लागि सदैव तयार छ ।’
मन्त्री पोखरेलले अब पहिलेको सरकारले जस्तो डा. केसीसँग जथाभावी सम्झौता पनि नगर्ने जवाफ दिए । ‘अब हामी जस्तो पायो त्यस्तो कुरामा केसीसँग हस्ताक्षर गर्दैनौँ’, पोखरेलले भने ।



लाेकपाटी न्यूज

