‘कांग्रेसलाई जसले जिस्काउँछ, त्यो सक्किन्छ’ : गगन थापा

Gagan Thapa
लाेकपाटी न्यूज

काठमाडौँ । सरकारले पेश गरेको चिकित्सा शिक्षा विधेयक २०७५ दुईतिहाइ बहुमतबाट पारित गरेपछि प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेस आक्रोशित भएको छ ।

आफूहरुको नाराबाजी र विरोधका बीच विधेयक बहुमतका आधारमा पारित भएपछि कांग्रेस सांसद गगन थापाले एकपटक पनि सम्वादको पहल नगरी सरकारले पेलेर विधेयक पारित गरेकोमा कडा रोष प्रकट गरेका छन् ।

‘प्रमुख प्रतिपक्षी दल विरोधको स्वरसहित सदनमा उभिइरहेको बेला सरकारले निषेध गर्याे, यसले दुईतिहाइको दम्भमा नेकपाको सरकारले देशैभरि निषेधको राजनीतिक थालेको छ’, थापाले भने, ‘यसको जवाफ हामी दिन तयार छौँ, सभामूखले आग्रह र जालझेलपूर्ण व्यवहार गरेका छन् ।’

सांसद थापाले बैठक अघि छलफलमा बोलाएर विरोध भयो भने सदन अघि बढाउँदिन भनेका सभामूखले जालझेलपूर्ण ढंगबाट विधेयक पारित गराएको बदला कांग्रेसले लिने चेतावनी दिए ।

‘सभामूख नेकपाको आदेशपालक मात्रै भए, विधेयक पास गराउन सरकारभन्दा सभामूख खुलेर लागे’, थापाले भने, ‘संसदको नियम ११ ले सरकारी विधेयमाथि शुक्रबार छलफल गरिँदैन भनेको छ । तर, ढाँटेर छलेर सभामूखले संसद चलाए, सभामूख जिम्मेवार भएनन् ।’

नेता थापाले १७ दिनदेखि अनशनमा रहेका प्रा.डा. गोविन्द केसीको माग पूरा नगरी सरकारले ताली बजाएर विधेयक पारित गरेको भन्दै यसले जटिलता बढाउने जिकिर गरे । ‘सरकारको भनाइ अनुसार केसीका ९५ प्रतिशत माग पूरा भएका छन् । सरकारले प्रमूख प्रतिपक्षीसँग भिड्न तयार भएको सन्देश दिएको छ, गोविन्द केसी मरोस भन्न तयार भएको देखियो’, थापाले आक्रोशित हुँदै भने, ‘केही मेडिकल कलेजका लागि सरकार प्रतिपक्षीसँग लड्न तयार भयो, केही व्यापारीको पक्षमा लागेर विधेयक पारित गर्यो ।’

नेता थापाले समाजवाद ल्याउने सरकारले सरकारी शिक्षा बलियो हुनुपर्छ भन्ने मागलाई कुल्चेको पनि आरोप लगाए । ‘यसको जवाफ कांग्रेसले दिन्छ, सभामूखलाई पनि महङ्गो पर्नेछ’, थापाले संसद बैठकबाट बाहिरिने क्रममा पत्रकारहरुसँग भने, ‘कांग्रेसलाई जसले जिस्क्यायो त्यो सकियो र सकिएको छ ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्