सप्तरी, ९ माघ । सप्तरीमा प्रहरी इन्काउन्टरबाट एक जनाको मृत्यु भएको छ ।
प्रहरी हवल्दार महेन्द्र सत्रा यादवलाई गोली प्रहार गर्ने ३५ वर्षीय दीपेन्द्र जैसवाल भन्ने दिपेन्द्र चौधरी बुधबार प्रहरी इन्काउन्टरमा मारिएका हुन्। नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि नै गोली प्रहार गर्न खोजेपछि जवाफी कारबाहीमा उनी मारिएका प्रहरीले जनाएको छ ।
राजविराजबाट रुपनीतर्फ गस्तीमा गइरहेको प्रहरी टोलीमाथि मोटरसाइकलमा सवार ब्यक्तिले गोली प्रहार गरेपछि आत्मरक्षाका लागि प्रहरीले गोली चलाउँदा मोटरसाईकल पछाडि बसेका चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रदेश २ का प्रहरी प्रमुख डिआइजी हरि बहादुर पालले उनको टाउकोमा गोली लागेको बताए । उनको साथबाट एक थान कटुवा पेस्तोलसमेत बरामद भएको छ ।
सप्तरीको कडरबोना निवासी जैसवालले केही दिन अघि सप्तरीको खडक नगरपालिका स्थित विसनपुर चौकीका प्रहरी हवल्दारलाई गोली प्रहार गरेका थिए ।
उनी प्रहरीको खोजी सूचीमा थिए । उनले ०७४ सालमा सप्तरीको कटरबनामा इलाका प्रहरीको कार्यालयको गाडीमा एम्वुस थापेर विस्फोट समेत गराएको आरोप थियो । त्यस्तैगरी ०७२ मा सप्तरीमा नेपाल प्रहरीका असइ रमेश शुव्वालाई गोली हानेर हत्या भएको थियो। उक्त घटनामा पनि जैसवालकै संलग्नता रहेको प्रहरीको दावी छ।



लाेकपाटी न्यूज

