‘बम दिदीबहिनी निर्दोष छन्’

Police Spokesperson Uttam Subedi01
लाेकपाटी न्यूज

काठमाडौं, ८ माघ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले निर्मला हत्या प्रकरण संगठनको लागि पनि प्रतिष्ठाको विषय भएकोले उच्च प्राथमिकताका साथ अनुशन्धान गरिरहेको स्पष्ट पारेका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने, ‘यो प्रकरणमा हाम्रो संगठनले मेहनत र इमान्दारीपूर्वक अनुसन्धान गरिरहेको छ । यो प्रकरण हाम्रो संगठनको लागि पनि प्रतिष्ठाको विषय हो । हामीले उच्च प्राथमिकताका साथ अनुशन्धान गरिरहेका छौं ।’

साक्षात्कारमा बोल्दै प्रवक्ता सुवेदीले निर्मला हत्या प्रकरणमा आजको मितिसम्म संगठनलाई कुनै पनि राजनीतिक दबाब नआएको पनि स्पष्ट पारे । उनले भने, ‘राजनीतिक प्रभाव अथवा दबाबले कुनै घटनालाई यति समयसम्म नेपाल प्रहरीले सहेर, कुनै व्यक्तिले कहिलेकाहीँ कुनै अमुक केशमा कुनैमा सहेको हुँदो होला, संस्थाले कहिल्यैपनि पनि सहँदैन् । त्यसमा पनि यो केशमा कतैबाट दबाब आएकै छैन ।’

यो प्रकरणमा राजनीतिक दबाब आएको थियो भनेर खाली हल्लाको भरमा भन्न नहुने उनको धारणा छ । उनले थपे, ‘कतैबाट कसैलाई बचाउने अथवा कसैलाई फसाउने नियतले त यो आएको होइन ।’

प्रवक्ता सुवेदीले निर्मला हत्या प्रकरणमा नाम मुछिएका बम दिदिबहिनीहरु निर्दोष रहेको पनि स्पष्ट पारे । उनले भने, ‘नेपालको प्रचलित कानून र संविधानले पनि कानूनबमोजिम प्रमाणित नहुन्जेलसम्म उसलाई दोषी भन्न मिल्दैन । मलाई त कहिलेकाहीँ दुःख लाग्छ, यी कुराहरु नआइदिएको भए हुन्थ्योजस्तो लाग्छ ।’

उनले थपे, ‘नेपाल प्रहरीको प्रवक्ताको हैसियतले मैले भन्दाखेरि निजहरुको विरुद्धमा कुनै प्रमाण अथवा अदालतले दोषी करार नगरुञ्जेलसम्म उहाँहरु निर्दोष हुन् ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्