जसले ९७ वर्षको उमेरमा पनि गाडी हाँक्छन्

Philip
लाेकपाटी न्यूज

एजेन्सी । कोही ९७ वर्षको उमेरमा पनि आफैँ गाडी हाँक्न सक्छ ? अनि त्यस उमेरका मानिसलाई गाडी दुर्घटनामा परे कस्तो अनुभूति होला ?

ब्रिटेनकी महारानी एलिजाबेथका पति एवम् ड्युक अफ एडिन्बरा राजकुमार फिलिप अहिले ९७ वर्षका भए । उनले गाडी हाँक्न छोडेका छैनन् ।

तर, बिहीबार उनले चलाइरहेको ल्यान्ड रोभर जीप क्वीन्स सान्द्रिङ्घम एस्टेटनजिकै दुर्घटना भएको बकिङ्घम दरबारले जनाएको छ ।

दुर्घटनामा उनलाई कुनै चोटपटक लागेन । तर, घटनापछि उनी निकै हताश भने देखिए ।

के भएको थियो ?

स्थानीय समय दिउँसो तीन बजेतिर ल्यान्ड रोभरलाई ड्राइभ्‌वे बाट निकाल्दै ए१४९ मार्गमा लैजाने क्रममा उक्त दुर्घटना भएको थियो ।

उनको जीप अर्को किया कारसँग ठोक्किएको थियो । सो कारमा रहेका दुई महिलालाई अस्पतालमा उपचारपछि घर पठाइएको छ ।
प्रत्यक्षदर्शीहरूका अनुसार ठोक्किएपछि राजकुमारको गाडी पल्टिएको थियो । उनीहरूले राजकुमार फिलिपलाई बाहिर निकाल्न सघाएका थिए।

त्यतिखेर राजकुमार होसमै थिए तर निकै भयभीत अवस्थामा भएको उनीहरूले बताए ।

स्थानीय प्रहरीका अनुसार प्रचलित नीतिअनुसार दुर्घटनापछि दुवै गाडीका चालकले मादक पदार्थ सेवन गरेको वा नगरेको परीक्षण गरिएको थियो ।

परीक्षणमा कसैले पनि मादक पदार्थ सेवन नगरेको पाइयो । सान्द्रिङ्घम फर्किएपछि राजकुमारले चिकित्सकलाई देखाएका छन् ।

राजकुमार अझै गाडी आफैँ चलाउँछन् । बीबीसीका शाही सम्वाददाता जनी डाइमन्ड भन्छन्, ‘यो दुर्घटनाको समाचार सुनेर धेरैले लामो सास फेरे होलान् ।’ पहिलो त राजकुमारलाई केही भएन र उनी दुर्घटनामा सकुशल छन् ।

दुर्घटनाको तस्बिरमा ल्यान्ड रोभर पल्टिएको र चालक बस्ने सीटपट्टि भुइँमा घोप्टिएको देखिन्छ। त्यसबाट ठूलै क्षति भएको हुने सक्ने देखिन्छ। तर, दरबारले राजकुमार फिलिपलाई कुनै चोटपटक नलागेको बताएको छ ।

-बिबिसी नेपालीबाट