धनगढी, ३० पुस । कैलालीको सहजपुरदेखि ५० किलोमिटर बोगटान सडक कालोपत्रे हुने भएको छ । शिलान्यास भएको ३३ वर्षपछि उक्त सडक कालोपत्रे हुन थालिएको हो ।
कैलालीको सहजपुरदेखि डोटीको बडीकेदार गाउँपालिका सडक कालोपत्रेका लागि बोलपत्र आह्वान भई सडक निर्माण अघि बढेको कुमार श्रेष्ठ निर्माण सेवाका कन्ट्रयाक्ट म्यानेजर ईश्वर बस्नेतले जानकारी दिए ।
उनका अनुसार सहजपुर–बोगटान सडक कालोपत्रे रु दुई अर्ब ५ करोडमा ठेक्का भई निर्माण अघि बढेको छ । कालोपत्र ३० महीनाभित्र सम्पन् गरिने बताइएको छ ।
कैलालीको चुरे गाउँपालिकाभित्र पर्ने १८ किमी र डोटीको बिपी नगरदेखि बडीकेदारसम्म २८ किमी सडक कालोपत्रेका लागि निर्माण कम्पनीका कर्मचारीहरु खटिई सकेको म्यानेजर बस्नेतले बताए ।
सडक कालोपत्रे गर्ने क्रममा कैलाली र डोटीमा गरी झण्डै छ हजार रुख काट्नुपर्ने अवस्था आएकाले सो प्रक्रिया पनि अघि बढाइएको निर्माण कम्पनीले जनाएको छ । भारतको एक्जिम बैंकको ऋण प्रक्रियाबाट नेपाल सरकारको सडक विभागले सडक कालोपत्रे गर्न लागेको कुमार श्रेष्ठ निर्माण सेवाका कन्ट्रयाक्ट म्यानेजर बस्नेतले बताए बताए ।
सहजपुरदेखि बडीकेदार गाउँपालिका हुँदै बोगटानको सिमचौर भएर दिपायल जोड्ने उक्त सडक २०४२ सालमा शिलान्यास भएको थियो ।



लाेकपाटी न्यूज
