८ जोडी बालविवाह रोकियो

लाेकपाटी न्यूज

दुल्लु, २६ पुस । दैलेखको डुङ्गेश्वर गाउँपालिका–२ मा एक महिनाको अवधीमा ८ बालविवाह रोकिएका छन् । वडा कार्यालय र गैर सरकारी संस्थाको सक्रियतामा पछिल्लो एक महीनामा आठ बालविवाह रोकिएको हो ।

यही पुस महीनामा मात्रै उमेर नपुग्दै गर्न लागिएका आठ बालविवाह रोकिएको र भोजसहित विवाह गर्न तयार रहेका जोडीका अभिभावकलाई वडा कार्यालयमा बोलाएर छलफलपछि विवाह रोकाइएको वडाध्यक्ष राजुकुमार खत्रीले जानकारी दिए ।

गत दुई वर्षको अवधिमा बालविवाह गर्नेको संख्यामा कमी आए पनि पछिल्लो समय बालविवाह गर्नेको संख्या बढेकाले वडा कार्यालय र त्यहाँ कार्यरत गैससले सक्रियता देखाएका हुन् ।

यस्तै वडामा रहेको स्वास्थ्यचौकी र महिला सशक्तिकरण मञ्च दैलेख शाखा पनि बालविवाह रोक्नमा जुटेको छ । बालविवाह हुने तयारीबारे जानकारी हुनेबित्तिकै केटा र केटी पक्षका अभिभावकलाई वडामा बोलाएर बालविवाहबाट हुने असर, बालविवाहबारे कानूनी प्रावधानबारे जानकारी गराएर दुवै पक्षको सहमतिमा विवाह रोकाइने गरेको छ ।

केटा र केटी दुवै पक्षले उमेर पुगेपछि मात्रै विवाह गर्ने प्रतिबद्धता गर्ने गरेका छन् भने उमेर नपुग्दै विवाह गरेमा उनीहरुका अभिभावकलाई नै कारबाही गरिने वडाध्यक्ष खत्रीले बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्