‘आशा जनाउने पत्रकारिता गर्नुस्’ : पोख्रेल

Shankar-Pokhrel-1-1
लाेकपाटी न्यूज

नारायणपुर, १६ पुस । प्रदेश नं. ५ का मुख्यमन्त्री शङ्कर पोख्रेलले जनतामा निराशा पैदा गर्ने समाचार सम्प्रेषण नगर्न सञ्चारकर्मीलाई आग्रह गरेका छन् ।

दाङको घोराहीबाट प्रकाशित गणतन्त्र दैनिकको १२ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले जिम्मेवारीपूर्वक पत्रकारिता गर्न सञ्चारकर्मीलाई अनुरोध गरे । लोकतन्त्रको महत्वपूर्ण आधार मानिने सञ्चार जगत्ले यथार्थता बङ्ग्याएर जनतामा निरासा पैदा गर्ने सामग्री प्रकाशन गरिरहेकाले सत्यतथ्य सामग्री प्रकाशन गरी राज्यको चौथो अङ्गको जिम्मेवारी वहन गर्न उनले जोड दिए ।

मुख्यमन्त्री पोख्रेलले भने, “सरकारले गरेका राम्रा कामहरुलाई लुकाएर जनतामा भ्रम र निरासा फैलाउने काम सञ्चार जगतले गरिरहेको छ, यसलाई तुरुन्त रोकेर जिम्मेवारपूर्ण पत्रकारिताको थालनी गर्नुहोस् ।”

प्रदेश नं. ५ को सरकारले सञ्चार नीति बनाएको उल्लेख गर्दै उनले सञ्चार आचारसंहिताको पालना गरी पत्रकारिता गर्न सबैलाई आग्रह गरे । उनले भने, “संविधान जारी भएपश्चात् मुलुकमा आर्थिक वृद्धि बढिरहेको छ, यसलाई बढाउँदै लैजाने सरकारको यात्रा जारी छ, यस्तो अवस्थामा निरासाका कुरा मात्रै सञ्चारले प्रेषण गरेको पाइन्छ ।”

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्