काठमाडौं, १५ पुस । राजधानीमा चोरीका घटना बढिरहँदा प्रहरीले तीन जना लुटेरालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
शनिबार काठमाडौं महानगरपालिका-३२ जडिबुटीस्थित गणेशमाया श्रेष्ठको घरमा चाईनिज पेस्तोल देखाई लुटपाट गर्दै गरेको अवस्थामा ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा काठमाडौं कंलकी बस्ने धादिङ गल्छीका ३३ वर्षीय अर्जुनप्रसाद अधिकारी, २५ वर्षीय केदारप्रसाद अधिकारी र काठमाडौं चाबहिल बस्ने काभ्रे भुम्जु गाउँपालिका-८ का ३० वर्षीय अन्जन उप्रेती रहेका छन् ।
श्रेष्ठको घरमा अपरिचित व्यक्तिहरू प्रवेश गरेको सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट प्रहरी खटिएको थियो । उनीहरुको साथबाट प्रहरीले चाईनिज पेस्तोल १ थान, गोली १ राउण्ड, खुकुरी १ थान बरामद गरेको छ ।
केदारप्रसाद अधिकारी दुई वर्ष नेपाल प्रहरी र ३ वर्ष नेपाली सेनाको जागिर छाडेर विभिन्न आपराधिक कार्यमा संलग्न भएको प्रहरीले जानकारी दिएको छ । त्यस्तै अर्जुन अधिकारी पनि यसअघि सार्वजनिक अपराधमा पटकपटक सजाय भोगिसकेका व्यक्ति हुन् ।



लाेकपाटी न्यूज