काठमाडौं,१५ पुस । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले १० महिनाको अवधीमा करीब रु.५० करोड बक्यौता रकम उठाएको छ ।
विमानस्थल कार्यालयका अनुसार मंसिर मसान्तसम्म विभिन्न विमान कम्पनीबाट सो रकम उठाइएको हो । कार्यालयले अझैँ करीब डेढ अर्ब बक्यौता उठाउन बाँकी नै छ ।
बढी बक्यौता हुनेमा सरकारी निकाय भन्सार विभागदेखि नेपाल वायुसेवा निगमसहित हवाई सेवा लिने ७ ओटा एयरलाइन्स छन् । भन्सार विभागको करीब ५५ करोड रुपैयाँ बक्यौता छ भने नेपाल वायु सेवा निगमको करीब ४० करोड रुपैयाँ छ ।
आफू विमानस्थल कार्यालयमा आएपछि करीब ५० करोड रुपैयाँ बक्यौता उठाएको र उठाउन बाँकी रहेकालाई पनि निरन्तर ताकेता गरिरहेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीले जानकारी दिए ।
बढी बक्यौता हुनेमा एयर एशिया रहेको छ । उसको ७ करोड रुपैयाँ साँवा र १४ करोड हाराहारी विलम्ब शुल्कसहित २१ करोड रुपैयाँ बक्यौता रहेको उनले जानकारी दिए । उसले तिर्नुपर्ने बक्यौतामा एयरलाइन्सको भन्दा पनि एयर एशियाका स्थानीय एजेन्ट हरिमान लामाको बदमासी रहेको विमानस्थल कार्यालयले जानकारी दिएको छ ।
उनको कम्पनीले साढे ७ करोड रुपैयाँको चेक मात्रै बुझाएका छन् । तर ती चेक बाउन्स भएपछि उनी ६ महीनादेखि सम्पर्कविहीन छन् । चेक बाउन्स प्रकरणमा विमानस्थलका तत्कालीन कर्मचारीकोे समेत संलग्नता रहेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले छानबिन गरिरहेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको विमानस्थल सेवा शुल्क नियमावलीअनुसार ६० दिनभित्र रकम नबुझाउने एयरलाइन्सको उडान रोक्न र जहाज ग्राउन्डेड गर्न सकिने प्रावधान छ । साँवा रकम नबुझाएपछि ३० प्रतिशतका दरले विलम्ब शुल्क लाग्छ । समयमा बुझाउँदा छूटको व्यवस्था छ ।



लाेकपाटी न्यूज
