पुस ११, : नेपाल विद्यार्थी संघ (नेविसंघ) दुई गुटका बीच बैठकस्थलमा नै छुरी प्रहार हुँदा एक विद्यार्थी नेता घाइते भएका छन्।
पर्सा जिल्लामा स्थानीय नेताहरूको दुई गुटझैं नेविसंघमा पनि दुई गुट हुँदा बैठक स्थलमा नै छुरी प्रहार हुँदा जिल्ला उपाध्याक्ष समिर अहमद घाइते भएका हुन्। उनको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक चक्रबहादुर मल्लले बताए।
विद्यार्थी नेता अहमदको अवस्था खतरामुक्त रहेको उनको भनाइ छ। नेविसंघ पर्सामा केही दिन पहिले भएको जिल्ला अधिवेशनको विषयमा असन्तुष्ट पक्ष र अर्को पक्षबीच बुधबार नेपाली कांग्रेसको पार्टी कार्यालय श्रीपुरमा बसिरहेको बैठकस्थलमा नै भनाभन हुँदा छुरी प्रहारसम्मको घटना भएको प्रहरी निरीक्षक मल्लले बताए ।
पार्टीका जिल्ला अध्यक्ष अजय द्विवेदी पक्षले निकटका विश्वास द्विवेदीलाई जिल्ला अध्यक्ष बनाएर र आफूहरूलाई उपेक्षा गरेको रमेश रिजाल, अजय चौरसिया पक्षधर विद्यार्थी नेताहरुको आरोप छ।
असन्तुष्ट पक्ष र अध्यक्ष द्विवेदी पक्षधर विद्यार्थीका बीच आन्तरिक विवाद मिलाउन भनी जिल्लास्थित पार्टी कार्यालयमा बसेको वैठकमा नै विवाद बढेर विवादले उग्ररूप लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। अहिले प्रहरी घटनास्थलमा पुगिसकेकोले थप अप्रिय घटना अब नहुने प्रहरीको भनाइ छ।



लाेकपाटी न्यूज

