काठमाडौं, ११ पुस । वाणिज्य बैंकहरुले भारतीय बैंक तथा वित्तीय संस्थाबाट भारतीय मुद्रामा ऋण लिन पाउने भएका छन् ।
केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले कृषि क्षेत्र, पर्यटन र लघु वित्त क्षेत्रमा कर्जा प्रवाह गर्ने प्रयोजनका लागि वित्तीय साधनको प्रबन्ध गर्न सो व्यवस्था गरेको हो ।
ऋणदाताले लगाउने अन्य शुल्क समेत गरी ऋणको अधिकतम ब्याजदरमा अधिकृतम एक प्रतिशत भन्दा बढी हुन नहुने गरी तय भएको हुनुपर्ने र ब्याजदर बाहेक अन्य कुनै शुल्क तथा कमिसन दिन नपाइने व्यवस्थासमेत गरिएको छ ।
भारतीय मुद्रामा ऋण लिँदा विदेशी मुद्रामा ऋण लिएको भए सो समेत गरी कूल आफ्नो प्राथमिक पूँजीको ५० प्रतिशतको सीमाभित्र रहनु पर्नेछ भने बैंकहरुले जलविद्युत, सौर्य ऊर्जा, वायु ऊर्जा, प्रसारण लाइन, सुरुङ मार्ग निर्माण, विमानस्थल, केबलकार, पुल जस्ता भौतिक पूर्वाधारका क्षेत्रमा भने त्यस्तो रकम ऋणमा दिन पाउने छैनन् ।
राष्ट्र बैंकले तोकेबमोजिमको पूँजी कोष कायम गरेका बैंकले त्यस्तो ऋण लिन सञ्चालक समितिबाट निर्णय भएको भने हुनुपर्ने छ भने बैंक तथा वित्तीय संस्थालाई अन्तर्राष्ट्रियरुपमा वित्तीय कारोबार गर्न कुनै प्रकारको रोक तथा प्रतिबन्ध नलागेको हुनुपर्ने छ । त्यस्तो ऋणको भुक्तानी न्यूनतम एक वर्ष र अधिकतम पाँच वर्षको हुनुपर्नेछ ।
ऋणका लागि कुनै पनि प्रकारको धितो, जमानत, बैंक ग्यारेन्टी दिन पाइने छैन । ऋण रकम आएपछि अनिवार्यरुपमा राष्ट्र बैंकमा लेखाङ्कन गराउनुपर्नेछ । बैंक ऋण ल्याउँदा सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी प्रचलित राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय कानूनको पूर्ण पालना भएको हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ । यस्तो प्रकारको ऋण लिन राष्ट्र बैंकबाट पुर्व स्वीकृती लिनु पर्नेछ ।
यस्तो छ सूचना :




लाेकपाटी न्यूज
