छोरी मात्रै जन्माएको भन्दै महिला घर निकाला

women violence 01
लाेकपाटी न्यूज

जुम्ला, ८ पुस । ६ वटि छोरी जन्माएको भन्दै जुम्लाकी झनमाया रोकायालाई घरबाट निकालिएको छ । लगातार ६ वटी छोरी जन्माएको भन्दै जुम्ला कनकासुन्दरी गाउँपालिका–६, लुड्कीकी रोकाया गत कात्तिक महिनादेखि घर निकाला भएकी हुन् ।

२६ वर्षीया झनमायाले छ महिनाको गर्भवती अवस्थामा श्रीमान गंगाराम रोकायाले छोरीसहित घर निकाला गरेको बताइन । श्रीमानले घरबाट निकालेपछि माइतीमा बस्दै आएकी उनले पुस ३ गते छैटौँ सन्तानका रूपमा छोरीलाई जन्म दिएकी छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शल्यक्रिया गरी जन्माइएकी नवजात छोरीलाई जन्मदै हेपाटाइटिस बी भएको र साथमा पैसा नहुँदा उपचारमा समस्या भएको उनले बताइन् ।

झनमायाकी दुईटै छोरी माइतीको संरक्षणमा छन् । झनमायाका माइती पक्ष पनि आर्थिक रूपमा निकै विपन्न भएका कारण उनको उपचारमा सहयोग नभएको बताइएको छ । अस्पतालले अन्य बाहिर जिल्ला लैजान सिफारिश गरेपछि कहाँ र कोसँग जाने भन्ने चिन्ताले सताएको झनमायाले बताइन । सानै उमेरमा बिहे गरेकी उनले छ सन्तान जन्माएको र तीन मात्रै जीवित रहेको दुखेसो गरिन् ।

पहिलो सन्तान छोरी जन्मदा मरेको जन्मिएको र त्यसपछि गर्भवती हुँदा गर्भ परीक्षण गर्दा छोरी देखिएपछि दुई छोरी श्रीमान्को दबाबमा गर्भपतनसमेत गरेको उनको भनाइ छ ।

‘पटक–पटक छोरी जन्माएपछि निकै दुःख पाए’ झनमायाले भनिन, ‘श्रीमान आफ्नो नभएपछि परिवारले पनि राम्रो गरेनन, आफ्नो कोही भएनन ।’

गर्भको शिशु उल्टो छ भन्ने थाहा पाएपछि वृद्ध बुबाको सहारामा अस्पताल पुगेकी उनले जन्मदै छोरी रोगी जन्मिएपछि झन पीडा थपिएको बताइन ।

कसैको सहयोग पाए छोरीलाई हेपटाइटिस ‘बी’ को खोप लगाउने र नभए उपचार नै नगरेर अस्पतालबाट जानुपर्ने स्थिति रहेको उनले बताइन । छोरा नजन्माएको भन्दै आफूलाई घरबाट लखेट्ने श्रीमान् भने कहाँ छन् भन्ने पत्तोसम्म नभएको झनमायाले सुनाइन ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्