हाम्रो समूह सिध्याउन खोज्नु महाभूल हुनेछ : माधव नेपाल

Madhav kumar nepal
लाेकपाटी न्यूज

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा मन्त्रीपरिषद पुनर्गठन गर्न माग गरिएको छ । शनिबारको बैठकमा सरकारको काम कार्वाही प्रभावकारी गराउन भन्दै केही नेताहरुले मन्त्रीपरिषद पुनर्गठन गर्न माग गरेका थिए ।

पार्टी र सरकारको काम कार्वाहीबारे समिक्षा गर्ने मूल एजेण्डासहित एक हप्ता अघिबाट सुरु भएको स्थायी समितिको शनिबारको बैठकमा पनि अध्यक्षद्वय ओली र प्रचण्डले संयुक्त रुपमा पेश गरेको राजनीतिक प्रतिवेदनमाथिको छलफल जारी रहेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले आफ्नो अमेरिकी भ्रमणबारे बिफ्रिङ गर्दै सफल भएको दावी गरेका थिए ।

बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले असन्तुष्ट नेताहरुको नेतृत्व लिने प्रयास गरेका छन् । बैठकमा नेपालसँगै झलनाथ खनाल, महासचिव विष्णु पौडेल, रामबहादुर थापा बादल र गिरिराजमणि पोखरेलले बोलेका थिए । नेपालले पार्टीमा एउटा पक्षलाई सिध्याउने प्रयास भएको भन्दै यो महाभूल हुने चेतावनी दिएका छन् ।

वरिष्ठ नेता नेपालले नेतालाई पूजा गर्ने प्रवृत्ति देखिएको भन्दै बैठकमा असन्तुष्टि जनाएका छन् । ‘नेता पनि मान्छे नै हुन्, मान्छेबाट गल्ती, कमी कमजोरी हुन्छ’ उनले भने । आत्मप्रशंसा र आत्मनिन्दा दुवै गलत हुने नेता नेपालले बताए । नेता नेपालले सचिवालय र विधानबारे देखिएको अस्पष्टता हटाउनुपर्ने, व्यक्तिलाई हेरेर नभई मापदण्डका आधारमा जिम्मेवारी दिनुपर्नेमा जोड दिएका छन् ।

झलनाथ खनालले सरकारले राम्रो काम गर्न नसके आकार खुम्चन सक्ने चेतावनी दिए । मन्त्री, राजदूतलगायतका महत्वपूर्ण नियुक्तिहरु गर्दा पार्टीमा कुनै छलफल नभएको भन्दै उनले असन्तुष्टि जनाए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्