– उमेश बञ्जाडे
हाम्रो देशका नेताहरु भयानक चिन्तामा डुब्ने गर्छन् । चप्पल पड्काएर सिंहदरबार पुगेका होउन् वा गोल्डस्टार जुत्ताका जुम्रा कन्याउँदै काठमाडौं कुल्चिएका। यिनीहरु जहिल्यै तनावै तनावमा भेटिन्छन् । न यिनीहरुको काम भेटिन्छ, न त कहिल्यै फुर्सद देखिन्छ। सधैं आफ्नो शान–मान र सम्मानको अपेक्षा राख्ने सत्तालिप्साका सेठहरु देश बनाउने चिन्तनमा नभएर भाग नपुग्ने चिन्ताको चितामा डढिरहेका हुन्छन् । उदाहरणकै लागि कञ्चनपुर घटनालाई हेर्दा पनि यिनीहरु देश र जनताप्रति कत्तिको बफादार छन् भन्ने कुराको सजिलै अड्कल काट्न सकिन्छ।
मानवरुपी दानवहरुको दुव्र्यवहारमा परी ज्यान गुमाएकी निर्मला पन्त गरीब परिवारकी नेपाली चेली हुन् । उनका आमा–दिदीबहिनीले सडकमा बसेर न्याय मागिरहेका छन् । उनीहरु यो देशका भुइँमान्छेको कित्तामा पर्ने महिलाहरु हुन् भने शित्तल निवासमा पलेटी कसेर अठार करोडको गाडी माग गर्ने पनि नेपाली नारी नै हुन् । हिजो महिला पनि मेरो देशको ‘सर्वोच्च पदमा’ पुग्न सफल भए भनेर गर्व गर्ने ती निर्मलाका आमा दिदिबहिनीको न्यायिक आन्दोलनलाई शित्तल निवास भित्रिने तरखरमा रहेको अठार करोडको गाडीले गिज्याइरहेको छ।
आम उत्पीडित नारीहरुको कुण्ठित आवाजको प्रतिनिधित्व गर्ने भन्दै राज्यको माथिल्लो तहमा पुगेका प्रतिनिधिहरु सुख, शयल र ऐस–आरामका लागि सुसारेलाई आदेश जारी गर्नमै दत्तचित्त लगाएर समय कटाई रहन्छन् भने ती भुइँमान्छेहरु न्याय खोज्न कुन लोक पुग्नुपर्ने हो ? गणतन्त्रको ताज पहिरिएर दरबारको ओछ्यानमा ढल्किएर राजशी ठाँट देखाउँदै लगाम फुकेर दौडिरहेको अत्याचारयुक्त नृत्यको रमिता हेरिरहेका महामहिमहरुलाई यस्ता पीडादायी दृश्यको निलकाँडोले घोच्दो हो कि नाइँ ?
पुरुषहरुको त कुरै छोडौं । यदाकदा राज्यको उपल्लो तहमा पुगेका महिला प्रतिनिधिहरु पनि कर्तव्य बोधविहिन देखिए । देशमा महिला मुक्तिका ठूलठूला आन्दोलनहरु भए। यद्यपि पुरुषवादी समाजमा महिला मुक्तिको सङ्घर्षले पूर्णतः सफलता हासिल नगरे पनि पहिलेको तुलनामा आंशिक रुपले अहिले केही फरकपनको आभाष हुन थाल्यो। राष्ट्रपति, सभामुख र मन्त्रीजस्ता उपरिसंरचनामा पुरुष सँगसँगै महिला प्रतिनिधि पनि पुगे। चुलोचौको, मेलापातदेखि घाँस–दाउराको भुलभुलैयामा पारिएका नारीहरुमा ‘अब त केही होला कि’ भन्ने आशा पलायो।
अहिले पनि देशकै सर्वोच्च पद राष्ट्रपतिमा सम्माननीय विद्यादेवी भण्डारीले दोस्रो कार्यकाल निभाउँदै छिन् । आम उत्पीडित नारीहरुको प्रतिनिधित्व गरेर उपल्लो तहमा पुगेका अन्य पनि थुप्रै महिला माननीयहरु छन् । यो हामी आम नेपालीका लागि सुखद पक्ष हो। यसका साथसाथै यी पद र प्रतिष्ठासँग जोडिएका केही विषयहरु बेलाबखतमा हाम्रो अघि विडम्बनाजस्तै बनेर उभिन्छन् । तपाईंहरुलाई अवगत गराई हालौं – मैले यसको अर्थ राज्य सञ्चालनको तहमा पुगेका पुरुष एकदमै सही र महिला गलत भन्न खोजेको किमार्थ होइन। बेथितिको मलजल गर्नुमा महिला पनि पुरुषभन्दा कम देखिएनन् भनेर चिन्ता मात्रै व्यक्त गरेको हुँ ।
देशका कैयौं छोरीचेलीहरु आफ्नै घर आँगनमै बलात्कार एवं दुव्र्यवहारको शिकार बनेका छन् । अपराधीहरु कार्वाहीको दायरामा आउनु त परको कुरा, सत्ता सञ्चालककै पेरिफेरि र पहराभित्र हिँडिरहेका छन् । हाम्रा चेलीबेटीका लागि आफ्नै घर, खलियान र पानी–पँधेरो मृत्युको घाट बनेका छन्। अझ पछिल्लो समय त झन् सञ्चार प्रविधिको बढ्दो विकासले गर्दा पनि होला, यस्ता अपराधिक क्रियाकलापहरु बढी नै सतहमा आइरहेका छन् । लुकाइनुभन्दा बाहिर आउनु नराम्रो विषय होइन, यद्यपि यस्ताखाले डरलाग्दा गतिविधिलाई कसरी न्यूनीकरण गर्ने ? यो आजको मूख्य सवाल हो ।
यता देशका शासक प्रशासकहरु मञ्च उक्लिएर घाँटी च्यातिञ्जेल सुशासन र समृद्धिको रसिलो डोरी बाटिरहन्छन् । उता आफ्नै टोल–छिमेकमा एउटी निर्दोष छोरीको बलात्कारपछि निर्मम हत्या गरिन्छ। यता यो देश हाँक्न आफूसिवाय कसैको हिम्मत छैनझैँ गरी कुर्लिएर सत्ताको सिरान लगाएकाहरु ‘हत्यारा पत्ता लाग्न अझै बाह्र वर्ष लाग्न सक्छ’ भन्दै पन्छिन खोज्छन् । हत्यारालाई आफ्नै दरबारको खोपीमा लुकाएर बाहिर हत्यारा खोजिरहेको अभिनय गर्ने यी खुरापातीहरुले पाँच वर्षका लागि सत्ता गठन गरेका हुन् वा पार्टी ? बुझ्न सकिएको छैन।
आफूमाथि आइपरेको असह्य बज्रपातले थलिएका छोरीका बाबुले न्याय माग्दै गर्दा मानसिक सन्तुलनसमेत गुमाउनु परेको छ। अनाहकमा मानवरुपी दानवहरुको क्रुर पञ्जामा परेर मारिएकी छोरीको न्यायका लागि पीडित परिवारले अझै के–के गुमाउनुपर्ने हो ? त्यसको कुनै पत्तो छैन । रात–दिन आफूलाई ‘गणतान्त्रिक नयाँ नेपालका अग्रगामी नेतृत्व’ भनेर दुई बित्तामाथि उफ्रिनेहरुले यो कस्तो तमासा देखाउन खोजेका हुन् ? आफैं लज्जित छु ।
अपराध अनुसन्धान गर्न जागिर खाएको प्रहरी अधिकृतले अपराधको प्रमाण खुलमखुला नष्ट गरेको जगजाहेर छ। त्यो भिडियो दृश्य आइजीपी, गृहमन्त्री र प्रधानमन्त्रीले पनि हेरेकै हुनुपर्छ। जिज्ञासा जाग्छ, ‘को होला त्यो सरकारभन्दा शक्तिशाली बलात्कारी अनि हत्यारा ? जसलाई जोगाउन राज्य शक्ति दुरुपयोग गरेर प्रमाण नष्ट गरियो ? अनि बर्खास्तीको अभिनय गरेर किन जोगाउन खोजियो असली हत्यारालाई ?
के ती कम्मर कसेर ‘प्रमाण नष्ट गर्न लागि परेकाहरु कोबाट निर्देशित थिए’ भनेर उनीहरुलाई केरकार गर्न सक्ने हैसियत हाम्रो सुरक्षा निकायसँग नभएकै हो ? कम्तिमा आफ्नो नैतिकता उदाङ्गो भए पनि आफूले पहिरिएको बर्दीको त इज्ज्यत गर्नुपर्ने हो । एसियाकै उत्कृष्ट प्रहरी संगठन भनेर नाकका पोर्रा फुलाउने नेपाल प्रहरी र इतिहासकै शक्तिशाली सरकार भनेर बम्किने नेताहरुलाई यो घटनाक्रमले थोरै पनि लज्जाबोध हुँदैन होला ?
घटनामा संलग्न ठानिएका आरोपित बम दिदीबहिनीप्रति प्रधानमन्त्रीले अनुसन्धानको सुरुमै सहानुभुति प्रकट किन गरे होलान् ? सामान्य नागरिकले समेत ‘कुराको चुरो’ अड्कल काटिसक्दा पनि, दोषीलाई कठघरामा उभ्याउन प्रहरी प्रशासनको हत्केला किन थर्थराएको होला ? उहिले जनताको आन्दोलनलाई अँध्यारो कोठाबाट धारेहात लगाउने तर अहिले भने राजाको आँगनमा ‘भैलेनी’ भट्टाएर गणतन्त्र आए, जसरी चौतर्फी हात लम्काएर ठालु ठहरिन खोज्नेहरुले यसको जवाफ दिनु पर्दैन ?
चौतर्फी बेथिति मौलाइरहँदा राज्यको उपरिसंरचनामा पुगेकाहरू भन्दैछन्, ‘अधिकार प्राप्तिका लागि गरिने सङ्घर्षका दिन सकिए । समृद्धि अनि विकासको युगको सूत्रपात भइसक्यो। आजसम्म भए गरेका हरेक परिवर्तनलाई शक्ति उन्मादको तप्केनीमा राखेर मस्ती गर्नेहरु परिवर्तनको कुम्लो बोकी शयन कक्षमा भ्रष्ट र अपराधी नाइकेहरुसँग मोलमोलाई गरिरहेका छन् ।
सत्ताको भर्याङ उक्लिएपछि परिवर्तन भन्ने चीज जहिल्यै यिनीहरुकै वरिपरि घुमिरहन्छ। परिवर्तनको सुखानुभूति गर्न पाउनुपर्ने असली जनताहरुको दैनिकी झनै बिकराल बन्दै जान्छ। आखिर यो अझै कहिलेसम्म ? अब राज्यसत्ताका साहुहरुले जवाफ दिनुपर्ने बेला भएको छ । अझै कतिञ्जेल तिम्रा यी काला कर्तुतहरुको सोझा र निर्धा जनताहरु मुकदर्शक बनेर हेरिरहनुपर्ने हो ? सहिरहनुपर्ने हो ?
लमही दाङ, हाल परदेश



लाेकपाटी न्यूज

