काठमाडौं, ४ मंसिर । एशियाली विकास बैंकले नेपाल सरकारलाई दुईवटा परियोजना कार्यान्वयन गर्न करिब रु. ३९ अर्ब ३२ करोड विकास सहायता उपलब्ध गराउने भएको छ ।
बैंकले दक्षिण एशियाली उपक्षेत्रीय आर्थिक सहायता (सासेक) अन्तर्गतको राजमार्ग सुधार परियोजनाका लागि १८ करोड ८० लाख अमेरिकी डलर र प्रकोप सहनशील विद्यालय निर्माण परियोजना कार्यान्वयन गर्न १४ करोड ८९ लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण प्रदान गर्ने भएको हो । त्यसैगरी बैंकले एक करोड ५० लाख अमेरिकी डलर अनुदानस्वरुप उपलब्ध गराउने भएको छ ।
अनुदान रकम प्रकोप सहनशील विद्यालय निर्माण परियोजनामा खर्च हुनेछ । विकास सहायतासम्बन्धी समझदारीपत्रमा मंगलबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा बैंकका देशीय निर्देशक मुख्तोर खामुदखानोभ र अर्थसचिव राजन खनालले हस्ताक्षर गरे ।
सासेक राजमार्ग सुधार परियोजनाअन्तर्गत पूर्व पश्चिम राजमार्गको पूर्वमा रहेको कमला कञ्चनपुर खण्डको करिब ८७ किलोमिटर सडक सुधार गरी फराकिलो बनाउने, सडक सुरक्षामा सुधार गर्ने र सडक क्षेत्रमा काम गर्ने निकायको क्षमता अभिवृद्धि गरिनेछ ।



लाेकपाटी न्यूज
