माधव कामरेड, तपाईंजस्तो सम्मानित नेताले यस्ताे गर्न मिल्छ ?

ganesh basnet
आफ्नै दलका बरिष्ठ नेता माधवकुमार नेपाल आफैले संसद बैठकमा बिपक्षी भन्दा चर्को आलोचना गर्नुभयो । त्यस्को भोलिपल्ट नेपालले म गुट बनाउँदिन भन्ने आफ्नै घोषणाबाट पछि हटेर गुट भेला गर्नुभयो ।
लाेकपाटी न्यूज

गणेश बस्नेत

तात्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्ड भारत भ्रमणमा हुनुहुन्थ्यो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटबार्ता हुनुभन्दा केही समय अगाडि नेपालमा प्रचण्डबिरुद्ध ठुलो षडयन्त्र भयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले पत्रकार सम्मेलन गरी माओवादी लडाकू शिविरमा भएको भ्रष्टाचार छानविन गर्ने र त्यस्मा प्रधानमन्त्री प्रचण्डसम्मलाई कार्वाही हुने घोषणा गरे ।

देशको कार्यकारी प्रमुख बिदेशमा रहेको बेला लोकमानले संबैधानिक आयोगमा बसेर बिदेसीको सेवा गरे । जे गर्दा भारतीय समकक्षी मोदीसामु मुलुकको कार्यकारी प्रमुखले शीर निहुर्याउनु पर्छ, ठीक त्यही काम लोकमानले गरे । जस्को सजाय उनले पाइसकेका छन । उनलाई अदालतले नै पदमा रहन अयोग्य घोषणा गरिदियो । मुलुकको कार्यकारी प्रमुख बिदेशमा रहँदा गरिएको त्यो हर्कत नै लोकमान अयोग्य भएको प्रमाण थियो, अदालतले पछि अयोग्य घोषित गरिदियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यतिबेला ठीक प्रचण्डकै जस्तो अवस्थाको सामना गर्नुपरेको छ । अहिले तात्कालिन माओवादी केन्द्र र तात्कालिन नेकपा एमालेबीच एकता भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निर्माण भएको छ । एकतासँगै सरकारको नेतृत्व ओलीले गर्नुभएको छ । ओली संयुक्त राष्ट्र संघको महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्यूयोर्कमा हुनुहुन्छ । उच्च मनोवल, स्वाभिमानी शैली र अंग्रेजी भाषामा कमाण्डसहित ओलीको प्रस्तुतीले बिश्व समुदाय नेपालतिर आकर्षित भइरहेका छन । तर नेपालमा भने लोकमानकै जसरी आक्रमण र कद घटाउने काम भइरहेछ ५ दशक लामो सहयात्रीबाट ।

जतिबेला प्रधानमन्त्री ओली न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको महासभामा नेपालको छवी उच्च बनाउने अभियानमा हुनुहुन्थ्यो, ठीक त्यही बेला नेपालमा उहाँबिरुद्ध अभियान छेडियो । जुनबेला काठमाडौंमा सरकारमाथि आक्रोस पोखिदै थियो, ठिक त्यही बेला न्युर्योकमा प्रधानमन्त्री ओली नेपालको सार्वभौम, स्वतन्त्र र स्वभिमानी छवी स्थापित गर्ने काम गरिरहनु भएको थियो । विश्व पूजीवाँदको केन्द्र मानिने न्युर्योकको युएन भवनभित्र ओली यति व्यस्त हुनुहुन्थ्यो, कि हरेक मिनेट बिश्व समुदायलाई नेपाल चिनाउने काम गरिरहनु भएको थियो ।

नेपाली प्रधानमन्त्रीको आत्माबिश्वास राष्ट्रसंघमा यसरी यसअघि कहिल्यै सार्वजनिक भएको थिएन । राष्ट्रसंघको महासभामा ओलीको सम्बोधनले दुनियाका शक्तिशाली भनिने कार्यकारी प्रमुखहरु नतमस्तक बनेको दृष्य सवैले टेलिभिजनमै देखे । कसैलाई मन परोस वा नपरोस, चाकडी भनोस वा बिरोध गरोस, तथ्यले बिपी कोइराला र राजा बीरेन्द्रपछि बिश्व राजनीतिक मञ्चमा प्रधानमन्त्री ओलीले नै आफ्नो सार्थक उपस्थिति देखाउनु भयो । करिव २८ मिनेटको सम्वोधनमा ओलीले विश्वलाई सन्देशमात्र दिनुभएन, द्धन्द्ध र संक्रमणको सम्वाद र ब्यालेटमार्फत भएको शान्तिपूर्ण सत्ता परिवर्तनको अनुभव बाँड्न तयार रहेको भन्दै द्वन्दलाई शान्तिमा रुपान्तरण गर्न नेपाली अनुभव नै उपयुक्त भएको तथ्य राख्नुभयो ।

‘मतभेदलाई सम्वादले र बन्दुकलाई मतले जित्छ । नेपालमा त्यस्तै भयो । कोही सिक्न चाहानुहुन्छ भने हामी यो अनुभव बाँडन र निर्यात गर्न तयार छौं,’ प्रधानमन्त्री ओलीको यो अभिब्यक्ति आउँदा महासभामा ताली गुञ्जियो । ओलीले गरिव राष्ट्रको प्रधानमन्त्री भन्दै हिनताबोध गरेर आफ्नो कुरा नराख्ने बिगतका प्रधानमन्त्रीको रोगको पनि आफैबाट उपचार गर्नुभयो । त्यसैले महासभामा उहाँले राष्ट्रसंघको सुधारको मुद्दा उठाउँदै उत्तरदायित्व, पारदर्शिता र साझा स्वामित्वको प्रस्ताव गर्नुभयो । सुरक्षा परिषद्को सुधारमा वर्तमानको परिवर्तित बिश्व कुटनीतिक व्यवस्थाको यथार्थता चित्रित हुनुपर्नेमा पनि जोड दिनुभयो ।

यस्तै भारत डराउँछ कि भनेर सार्कबारे चुइक्क नबोल्नेहरु जस्तो नगरी सार्कलाई पनि सक्रिय पार्ने नीति पनि महासभामै सुनाउनु भयो । क्षेत्रीय विकासको अवधारणलाई विदेश नीतिको प्राथमिकतामा नेपालले राखेको प्रष्ट पार्नुभयो । सम्बोधनका क्रममा चयन भएका भाषा, प्रस्तुती र शैलीमा ओली सवैभन्दा प्रभावकारी नेता देखिनु भयो । नेपाललाई आजसम्म बुझ्न नसकेको अन्तराष्ट्रिय जगतलाई उनीहरुकै भाषामा प्रधानमन्त्री ओलीले नेपाल बुझाउने काम गर्नुभयो । ओलीको यो काम सायद नेपालमा केहीलाई मन परेन । नेपाल जिन्दावाद भन्दा आफूलाई गाली गरेको ठान्ने, समृद्ध नेपाल निर्माण भन्दा पनि आफैबिरुद्ध जेहाद छेडिएको ठान्ने रोगबाट ग्रसित केही समुहलाई नेपाललाई बिश्वसामु चिनाउने ओलीको त्यो कामले सायद ठेश पुर्यायो । तर यथार्थ के हो भने ओलीले न्यूयोर्क बसाईमा जे गर्नुभयो, त्यो नेपालका लागि अहिलेसम्म कुनैपनि प्रधानमन्त्रीले गर्न नसकेको काम गर्नुभयो ।

अमेरिकी बसाइलाई नेपालको हितमा सदुपयोग गरी क्यानडाका प्रधानमन्त्री जष्टिन टुडेदेखि बेलायती प्रधानमन्त्री थेरेसा मेसम्मलाई नेपालको मुद्दामा सहमत गराउने काम गर्नुभयो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको छोटो भेटमै प्रधानमन्त्री ओलीले नेपालको आफ्नै मौलिकताको बिशिष्ट शान्ति प्रक्रिया र संविधानले नागरिकलाई दिएको अधिकारसम्मको ब्रिफिङ गर्नुभयो । जुन कुराले ट्रम्प स्वयं नतमस्तक बने । यति छोटो समयमा नेपालका प्रधानमन्त्रीले अंग्रेजी भाषामा गरेको ब्रिफिङले ट्रम्पको नजरमा ओली भिजिनरी लिडरका रुपमा देखा पर्नुभयो ।

अस्टेलियाका पूर्वप्रधानमन्त्री केभीन रुडले मोडरेट गरेको एसिया सोसाइटीमा प्रधानमन्त्री ओलीको प्रस्तुती र प्रश्नोत्तरमा देखिएको आत्माविश्वास पनि कम गर्व गर्न लायक थिएन । नेपालमा ओलीबिरुद्ध माकुरा शैली अपनाई रहेको बेला त्यहाँ ओलीको उच्च प्रशंसा भइरहेको थियो । बिश्व समुदायलाई ओलीले नेपाल बुझाइ रहँदा र ओली बिश्व्कै नेतामा स्थापित भइरहँदा नेपालमा भने आफ्नै दलका बरिष्ठ नेता माधवकुमार नेपाल आफैले संसद बैठकमा बिपक्षी भन्दा चर्को आलोचना गर्नुभयो । त्यस्को भोलिपल्ट नेपालले म गुट बनाउँदिन भन्ने आफ्नै घोषणाबाट पछि हटेर गुट भेला गर्नुभयो । निकटसँगको भेलामा उहाँ जसरी प्रस्तुत हुनुभयो, त्यो काम शत्रुले पनि गर्न सक्ने अवस्था थिएन ।

ओलीको अभियानले पुर्णता पाउँदा समृद्ध नेपाल, स्वाभिमानी नेपाली बन्नेछन । यो कुरा दास बनाइ राख्न चाहनेहरुलाई मन पर्ने बिषय भएन । प्रधानमन्त्री ओलीले नेपाली स्वार्थको नेतृत्व गरेकै धारणा बिदेशी शक्तिलाई छटपटी भएको छ । त्यैसैले पटक पटक आक्रमण भएको छ ओलीमाथि । ओलीलाई अधिनायकवादी प्रमाणित गर्ने प्रयास देशी बिदेसी एजेण्टबाट भएकै हो, तर त्यो सफल हुन सकेन । अव ओलीमाथि पार्टीभित्रैबाट दबाब सृजनाको प्रयास भएको छ, जसका ट्रेलर देखिदैछ आजभोलि । यो ट्रेलर पनि काम लाग्ने वाला छैन । ब्लण्डर गर्ने नेताले केही समयपछि नै अनुभुति गर्नुहुनेछ । सेलाउँछ । त्यसपछि अर्को बिषय उठाइने छ । यी सवै नपालको समृद्धि रोक्ने अश्त्र नै हुन । प्रहार भइरहने छ, ओली सतिसाल झै खडा भएर सामना गर्दै परास्त गरिरहनु हुनेछ ।

हो, सरकारले अपेक्षित काम गर्न सकेको छैन । अपेक्षाअनुसार काम हुनपनि सक्दैन । यस बिषयलाई प्रधानमन्त्री ओलीले महसुस मात्र गरेको होइन, सार्वजनिक रुपमा अभिब्यक्ति दिनुभएको छ । तर के पार्टीका नेतृत्व तहमा रहेपछि पहिला पार्टीभित्र नै वहस चलाउनुपर्ने होइन ? प्रधानमन्त्रीमाथि देशभित्र र बाहिरबाट घेराउ भइरहँदा त्यसलाई तोडने कि लोकमान पथमा लागेर सहयोगी भइदिने ? यो प्रश्न सायद बरिष्ठ नेताहरुले भल्नुभयो ।

हो, पार्टीभित्र थुप्रै कमजोरी छन् । नेतृत्वमा मात्रैहोइन, सवै नेतामा पनि कमजोरी छन् । तर के तीनको व्यवस्थापन गर्न सकिदैन् र ? जरुर सकिन्छ तर तयस्का लागि सवैको नियत सफा हुनुपर्छ । सवाल बिकास र समृद्धिको हो । नेपालको बिकास अहिले पनि हुन सकेन भने जनतामा चरम निराशा छाउने छ । ओलीले पनि गर्न सकेनन् भने कसले गर्ने भन्ने चिन्ता सबैतिर छ । जुन चिन्ता जायज हो । तर बरिष्ठ नेताहरुले बुझ्नै पर्छ, ओली असफल हुँदा व्यक्तिमात्र होइन, नेकपा नै असफल हुन्छ, नेकपा मात्रै होइन, देश नै असफल हुन्छ । देश असफल भएपछि नेकपाका कुनै नेताको अस्तित्व रहने छैन । यो तथ्यलाई बिरोध गर्ने बरिष्ठ नेताहरुले बिर्सिएको जस्तो छ ।

सोचेजस्तो काम गर्न सकेको छैन तर यसरी नांगै बनेर आलोचना गर्नुपर्ने बदमासी पनि केही गरेको छैन । तर किन सरकारअसफल होस भन्दै पार्टीभित्रै हामी माकुराको भुमिका निर्वाह गरिरहेका छौं । ओली र प्रचण्डबिरुद्ध जेहाद छेडदै दुवै अध्यक्षको कद होचो बनाएर नेकपाका कुनै पनि नेता कार्यकर्ताको कद माथि जाँदैन भन्ने तथ्यलाई आत्मसाथ गर्दा नै सवैको उचाइ बढछ । यही नै आजको सच्चाइ हो ।

बाहिर भ्रम छ, बालुवाटारमा केपी ओलीलाई भेटन दिइन्न भन्ने । तर यो साँचो होइन, बिचौलियाको काम गर्न नपाएको झोकमा प्रधानमन्त्रीको काममा सघाउँदा नेकपाका स्थायी कमिटी सदस्यसमेत रहनुभएका मुख्य सल्लाहाकार बिष्णु रिमालमाथि प्रहार गर्न क्वाइन गरिएको शब्द हो यो । यस्मा पनि बालुवाटारमा सवैभन्दा बढी सहज एक्सेस भएका नेता अध्यक्ष प्रचण्डपछि माधव नेपाल नै हुनुहुन्छ । उहाँलाई जतिबेला पनि प्रधानमन्त्री र दुवै अध्यक्षसँग परामर्श गर्ने समय छ । तर किन यसरी सार्वजनिक रुपमा आफ्नै कद घटाउने काम गरिरहनु भएको छ ? अन्तराष्ट्रिय मञ्चमा देशको छवि उचो बनाउने काम गरिरहँदा नेपालमा आफ्नै पार्टीमा चर्को असन्तुष्टि छ भनेर बिदेसी बिदेसीले देखाउने अश्त्र किन बन्नुभयो ? सम्मानित नेतालाई यसरी कस्ले दुरुपयोग गर्दैछ इमोशनल ब्ल्याकमेलिंग गर्दै ?

इमान्दार र सेन्टिमेन्टल नेता माधव कमरेडलाई हिजो जसरी आफ्नो स्वार्थका लागि आपराधिक समुहले दुरुपयोग गर्यो, आज फेरि त्यसरी नै दुरुपयोग गर्दैछ । माधव कमरेड, तपाई हामी सवैको आदरणीय नेता हो, कृपया आपराधिक समुहको चंगुलबाट बाहिर निस्कनोस ।

हामी अहिले पनि तपाइले २५ बर्ष अघि दिनुभएको त्यो प्रशिक्षणबाट दिक्षित छौं । जहाँ तपाईले आदरणीय नेता मनमोहन अधिकारी, केपी ओली, झलनाथ खनाल, बामदेव गौतम, सिपी मैनालीलाई साँक्षी राखेर भन्नुभएको थियो, ‘नेतृत्वको रक्षा नगर्ने, बैठक भन्दा बाहिर गएर नेतृत्वबिरुद्ध जथाभावी बोल्ने ब्यक्ति कम्युनिस्ट पार्टीको नेता त परै जावस, साधरण सदस्यसमेत हुन सक्दैन । तपाईको यो आवाज अहिले पनि दिल र दिमागमा गुञ्जिरहेको छ । तपाई आफै चाहिँ किन यो मान्यता त्याग्नु हुन्छ ? हामी तपाइसँगै छौं । नेतृत्वको रक्षामा दृढतापुर्वक उभिनोस । म जस्ता लाखौं कार्यकर्ता तपाइको साथमा छौं ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्