ओलीको दिल्ली रुझान : प्रधानमन्त्री जोगाइदिन हारगुहार

Oli and indian leader
लोकपाटी न्यूज

काठमाडौं, २८ मंसिर। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेलाई बिहिबार बालुवाटारमा भेटे। चौथाइवाले नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलको निमन्त्रणमा नेपाल भ्रमण आएका थिए। यसको जानकारी स्वयं चौथाइवालेले गरेका थिए।

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चौथाइवालेको भ्रमणबारे मिडियाबाट मात्र जानकारी पाएका थिए। विदेश विभाग प्रमुख माधवकुमार नेपालले पनि पछिमात्र जानकारी पाए। उनीहरुसँग चौथाइवालेले भेटवार्ता गरेनन्।

चौथाइवालेले प्रधानमन्त्री ओलीसँग बालुवाटारमा वार्ता गर्नुलाई विधि, पद्धति र कूटनीतिक मर्यादा उल्लंघनको अर्को परिघटना भन्दै नेकपा स्थायी कमिटी सदस्य समेत रहेका पूर्व उपप्रधानमन्त्री भीम रावलले आपत्ति जनाएका छन्। उनले चौथाइवालेलाई सरकारी व्यक्तिसरह आमन्त्रण गर्दा आफ्नो पार्टीको कार्यकारी अध्यक्ष र विदेश विभाग प्रमुखलाई जानकारी नदिइएको समेत उल्लेख गरेका छन्।

यसअघि भारतीय गुप्तचर निकाय रअका प्रमुख सामन्तकुमार गोयलसँग प्रधानमन्त्री ओलीले बालुवाटारमा गरेको भेटेको समेत रावलले आलोचना गरेका थिए।

भीम रावलले लेखेका छन्ः आफ्नो पार्टीका कार्यकारी अध्यक्ष र विदेश विभाग प्रमुखलाई जानकारी नदिई भाजपाका विदेश विभाग प्रमुखलाई सरकारी व्यक्ति सरह आमन्त्रण गर्दै नेपालका प्रधानमन्त्रीले वालुवाटारमा वार्ता गर्नु विधि, पद्धति र कूटनीतिक मर्यादा उल्लंघनको अर्को परिघटना हो। देश, पार्टी र पदको गरिमाको रक्षा हास्।’’

नेकपाभित्र विवाद बढ्दै जाँदा ओलीले भारतका सरकारी र राजनीतिक क्षेत्रका नेताहरुसँगको सम्वाद बाक्लो बनाएका छन्। रअ प्रमुख, भारतीय सेनाप्रमुखसँँगको भेटपछि ओलीले भाजपाका विदेश विभाग प्रमुखसँग भेट गरेका छन्। यसो त ओलीले आगामी महिना भारत भ्रमणमा निस्किने गरी तयारी थालिसकेका छन्।

पार्टीभित्र विवाद बढ्दै जाँदा ओलीको दिल्ली रुझानलाई धेरैले कुटनीतिक मर्यादाविपरित भनेका छन्। उनीहरुले ओली पार्टीभित्र अल्पमतमा रहेका कारण सरकार टिकाइदिन आग्रह गर्न थालेको बताएका छन्। ओलीले आफ्नै पार्टीका नेताहरुलाई जानकारी नदिई कुटनीतिक वार्तालाई तीव्रता दिनुले उनी प्रधानमन्त्री पद कायमै राख्न जस्तोसुकै सम्बन्ध स्थापित गर्न पछि पर्दैनन् भन्ने देखाएको छ।