गोराहरूको रङ्गभेदवादी शासन र शोषणबाट काला जातिलाई मुक्त गर्ने बहुसंख्यक काला जाति बसोबास गर्ने दक्षिण अफ्रिकाका प्रथम राष्ट्रपति तथा महान् नेता नेल्सन मण्डेलाले रङ्गभेदका विरुद्धको आन्दोलनमा लाग्दा निरन्तर २७ वर्ष कारावासको सजाय भोगेका थिए। स्वतन्त्र दक्षिण अफ्रिकाको राष्ट्रपति हुँदा मण्डेला ७१ वर्ष पुगिसकेका थिए। त्यस्ता जनप्रिय प्रथम काला राष्ट्रपति मण्डेला केवल एक कार्यकाल मात्र राष्ट्रपतिका पदमा आसीन रहे। उनमा सत्तामोहको कुनै सोचसम्म आएको कतै देखिएन। उनको राजनीतिक यात्रा र जीवनबाट आज पनि धेरै प्रेरणास्पद कुराहरू सिक्न र सिकाउन सकिन्छ। ती महान् विश्व व्यक्तित्वको सातौं स्मृति दिवसका सन्दर्भमा उनको बिचार यहाँ प्रस्तुत गरिएको छः
मण्डेलाले स्वतन्त्रता संग्रामका आफूले बिताएका ती दिनहरू सम्झँदै लेखका छन्- ‘ती दिनहरूमा.. कम्युनिष्टहरुप्रति मेरो पुरानो आक्रोश मत्थर हुँदै गइरहेको थियो। कम्युनिस्ट पार्टीको महासचिव तथा अफ्रिकी नेशनल काँग्रेसका महासमिति सदस्य मोसिस् कोताने रातबिरात मेरो घरमा आउने जाने गरिरहन्थे। हाम्रोबीचमा बिहान नहुँदासम्म(अर्थात् रात भरी जसो) बहस चलिरहन्थ्यो। कोताने ट्रान्स्वालको किसान परिवारमा जन्मेका व्यक्ति थिए। उनी विचारमा एकदमै प्रस्ट थिए। उनी मलाई भन्ने गर्थे- नेल्सन, आखिर हामीविरुद्ध लाग्नुपर्ने कुन कारण छ तिमीसँग ? हामी सबै एउटै दुस्मनका विरुद्ध लडिरहेका छौ। हामी अफ्रिकी नेशनल काँग्रेसमाथि कुनै प्रभुत्व कायम गर्न खोजिरहेका छैनौ। हामी अफ्रिकी राष्ट्रवादकै पक्षमा काम गरिरहेका छौ।’ म उनका यस प्रकारका तर्कहरूको कुनै गतिलो जवाफ दिन सक्दिनथें।’
मण्डेला अगाडि लेख्छन्- ‘कोताने, इस्माइल मिर तथा रुथ फर्स्टसँगको मित्रता र उनीहरूको बलिदानको कारण (कम्युनिस्ट) पार्टीविरुद्धका आफ्ना पूर्वाग्रहहरूलाई न्यायोचित ठान्न पनि असमर्थ थिए। उता अर्कोतिर, अफ्रिकी राष्ट्रिय काँग्रेसभित्रका डाक्टर दादुलगायतका थुप्रै नेताहरूलाई पनि म निकै समर्पित व्यक्ति मान्थे! यस्ता व्यक्तिहरूलाई अविश्वास गर्ने प्रश्न नै उठ्दैनथ्यो।’
मलाई मार्क्सवादी दर्शनको कुनै ज्ञान थिएन। आफ्नो यही अल्पज्ञानको कारण साथीहरूको बीचमा मार्क्सवादबारे राजनीतिक छलफल हुँदा राम्ररी कुरा नबुझेर म ट्वाल्ल पर्नुपर्थ्यो। त्यसपछि नै हो मैले आफूमाथि आइलागेको यस्तो अप्ठ्यारो परिस्थिति बदल्न संकल्प गरेको।
मैले मार्क्स, एंगेल्स, लेनिन स्टालिन, माओत्सेतुङलगायत अन्य व्यक्तिहरूद्वारा लिखित मार्क्सवादको इतिहास र दर्शनको अध्ययन गर्न थाले। यी पुस्तकहरू रिठ्ठो नबिराईकन एकाएक पढ्ने समय मसँग नभए तापनि उनीहरूले कल्पना गरेको वर्गविहीन समाज अफ्रिकी चिन्तन अनुरुपनै छ भन्ने विचारद्वारा म प्रेरित थिए। म मार्क्सको अत्यन्त साधारण तर अत्यन्त उदार भनाइद्वारा ज्यादै प्रभावित भए। ‘प्रत्येकबाट क्षमता अनुसारको काम लिने र प्रत्येकलाई आवश्यकता अनुसार दिने’ मार्क्सवादको सुनौलो वाक्य मलाई साँच्चै आदर्श र अनुकरणीय लाग्यो।
मार्क्सवादी दर्शनको अध्ययनबाट मलाई दुईटा फाइदा भयो। एक, मैले जाती दमनको घृणित रूप प्रष्टसँग ठम्याउन सके भने दोस्रो कुरा, मैले यस्तो दमन सदाको लागि समाप्त गर्ने उपयोगी हतियार पनि प्राप्त गरेँ मार्क्सवादी साहित्यको अध्ययनले गर्दा मैले गोरा र कालाहरुको बीचमा रहेको असमानता राम्ररी चिने। त्यस सँगसँगै म हाम्रो संघर्षलाई विजयमा पुर्याउन काला र गोरा बीचको साम्प्रदायिक भेदभाव सदाको लागि त्यागी दिनु पर्छ भन्ने निष्कर्षमा पुगेँ। म के कुरा निर्धक्कसँग भन्न सक्छु भने म सधैँ नै वैज्ञानिक आधार तर्फ आकृष्ट हुँदै आएको छु। म प्रयोगको कसौटीमा खरो उत्रने तथ्यलाई मात्र प्रमाणिक मान्छु। मार्क्सवादको आर्थिक विश्लेषण दक्षिण अफ्रिकाको सन्दर्भमा मलाई एकदम सही लाग्यो। किनभने पूजीपति तथा मालिकहरूले अफ्रिकी मजदुरहरूले जान अञ्जान गरेको गल्तीको सजाय स्वरूप मनोमानी ढङ्गले पैसा कटाएर तलब दिन्थे। यसरी उनीहरूले अरूको रगत र पसिना चुस्थे।
मार्क्सवादको उल्लेखित क्रान्तिकारी वाणी कुनै स्वतन्त्रता सेनानीको लागि संगीत जस्तै आकर्षक छ। त्यस्तै गरेर ‘इतिहास संघर्षकै माध्यमद्वारा अघि बढ्छ र परिवर्तन क्रान्तिद्वारा मात्र सम्भव छ’ भन्ने विचार पनि उत्तिकै प्रिय लाग्छ। मार्क्सवादको अध्ययन गरिरहँदा मलाई राजनीतिक क्षेत्रका महत्त्वपूर्ण समस्याहरू बुझ्न विस्तृत कुराहरू प्राप्त भए। जो कोही राजनीतिमा यस्तो जानकारी आवश्यक छ। मार्क्सवादले राष्ट्रिय स्वतन्त्रको आन्दोलनलाई एउटा गम्भीर मुद्दा बनाएको थियो। सोभियत संघले त थुप्रै औपनिवेशिक जनताको राष्ट्रिय संघर्षलाई विशेष सहयोग गरेको थियो। यो पनि एउटा कारण थियो, जसले गर्दा कम्युनिस्टबारे मेरो विचार बदल्न सहयोग पुगेको थियो। यिनै कारणले गर्दा अफ्रिकी नेसनल काँग्रेसले मार्क्सवादीहरुसँग सहकार्य गर्ने जो नीति लिएको थियो, मैले त्यसको समर्थन गरेँ।
एक पटक कुनै एक जना मित्रले मलाई अफ्रिकी राष्ट्रवादी विचारधारालाई मार्क्सवादी भौतिक दर्शनसँग मिलाएर कसरी काम चल्छ र भन्ने प्रश्न गरे। मैले उनलाई भनेको थिएँ कि मार्क्साद र अफ्रिकी राष्ट्रवाद परस्पर विरोधी कुरा होइनन्। म सबैभन्दा पहिला एक जना अफ्रिकी राष्ट्रवादी थिएँ, जो मुठ्ठीभर व्यक्तिको शासनबाट मुक्ति चाहन्थ्यो। तर, त्यति बेला दक्षिण अफ्रिका र अफ्रिकी महाद्विप यति विशाल दुनियाँको एउटा अङ्ग बनेको थियो। हाम्रो समस्या थोरबहुत विशिष्ट र भिन्न थियो तर अनौठो र अरूबाट अछुतो भने थिएन। म मानवीय पूर्वाग्रह र अन्ध-देशभक्ति तथा उग्र राष्ट्रवाद समाप्त गर्न आवश्यक कुनै पनि बाटो अँगाल्न तयार थिएँ।
अनुवादक : लोकनारायण सुवेदी -(स्वतन्त्रताको लामो यात्रा’लङ्ग वाक टु फ्रिडम’बाट अनूदित)



लोकपाटी न्यूज

