“भनिन्छ मानिसको जीवन हजार जुनीमा एकपटक आउँछ, अनि पुर्नजन्मको लागि निक्कै त्याग र तपस्या चाहिन्छ। म असाध्यै भाग्यमानी रहेछु, भगवानको कृपा, साथीभाइको निस्वार्थ सहयोग र मेरी श्रीमती सुमीको अद्भुत मायाले मैंले झण्डै दुई महिनापछि पुनर्जन्म पाएर यहाँसम्म आइपुगें।” पूर्ण गुरुङ सरले गहभरि खुसीको आँसु बर्षाउनुभयो र फेरि अघि बढ्नुभयो “पुनर्जन्म यस कारण कि चिकित्सकहरुले धेरै कोशिस गर्दा पनि स्वास्थ्य स्थिति नसुध्रिएको अवस्था जसले गर्दा आश मारिसकेका, आफन्त र केही साथीभाइहरुले “नारायण नारायण” भनेर मृत्यु कुर्नुबाहेक अर्को विकल्प नरहेको भनेका र अन्तिमजस्तै स्थितिमा पुगेको त्यो शरीरको अवस्था थियो त्यो समय।”
पूर्ण सरले आफ्ना ती नमिठा दिनहरु खोतल्नुभन्दा पनि उहाँको अन्तरआत्माले के भन्दोरहेछ भनेर मैंले प्रश्न गर्नै नपाउँदा उहाँले निस्फिक्री रुपमा आफूमा भएका गुण केलाउँदै भन्नुभयो “हामीमा इमान्दारिता, उदारता, कसैलाई धोका नदिने चरित्र, निष्ठावान् र भगवान (साइबाबा) को भक्तिभाव भयो भने केही क्षण वा वर्ष नैरश्यता छाए पनि, दुःख, पीर परे पनि अन्त्यमा भगवानको कृपाले सुख प्राप्ति हुँदो रहेछ, तिमीले देखिहाल्यौ नि म कति खुसी छु ! मलाई विश्वास छ म अझै संगीत क्षेत्रमा मेहेनत गर्दै केही संगीतमा लगाव गर्ने युवाहरुलाई भजन संगीत र काठे लोकभाका, लोकगीत, गजलको जर्गेना गर्न अभिप्रेरित गर्न सक्छु। एउटा सानो संगीत सिर्जना गर्ने पाठशाला खोलेर वा कुनै संगीत सिर्जना गर्ने जस्तैसंग मिलेर गरिब तर जेहेन्दार युवा वा क्षमतावानहरुलाई निःशुल्क संगित संयोजन सिकाउने मेरो ठूलो सपना छ।”
संगीतमा करिब तीसौं दशक पार गरिसकेका पूर्ण सरमा अझै उत्साह र हौसला त्यसरी नै अनुभूत हुन्थ्यो, जसरी उहाँको अनुहारको रेखा, फरक यत्ति, उहाँको स्पष्ट अन्तरआत्माले उहाँलाई अझै “नाफाको जिन्दगी” जीवनलाई झक्झकाइरहेको थियो। कृष्ण कंडेल (इन्द्रेणी लोकदोहोरी कार्यक्रम सञ्चालक), प्रकाश पौडेल (रोइला गायक) जस्ता होनाहार उहाँका शिष्य, जो जहिले पनि अर्काको हितमा काम गर्न लालयित छन्, लोकदोहोरी संगीतमा उत्तिकै उर्जाशील र कहिलेकाहिँ खबरदारी गर्न पनि हौसिएका देखिन्छन्। एकहजार भन्दा बढी गीतमा संगीतमा सिर्जना गरिसकेका तर “पानसमा बत्ति बालेको”, “चाँगुनारन्थान” जस्ता काठेभाकाले निकै श्रोता र दर्शकको मन जितेको छ।
पूर्णसरको पुराना कुराहरु केलाउँदै गर्दा उहाँमा खुसीको रंग देख्दा म निकै मख्ख परें। त्यो खुशी र आनन्दको कुनै मूल्य थिएन, अनवरत रुपमा उहाँ अघि बढ्दै हुनुहुन्थ्यो। “कति यस्ता गीतहरुको संगीत संयोजन गरियो, लेखाजोखा नै छैन। तर साइबाबाका भजनहरुमा संगीत संयोजन गर्दा म कतिपटक अध्यात्मको गहिराइमा डुब्दाको स्वर्णीम् आनन्द कहिल्यै बिर्सन सकिन्न र यस्ता भजनहरु (जस्तै बाबा आओ मेरे मन मन्दीर मे) कालजयी हुन्छन् जस्तो लाग्छ मलाई।” कता कता उहाँले मेरै अन्तरमनका कुरा गर्नुभएको अनुभूत हुन थाल्यो।
घमण्ड र अहंले पराकाष्ट भइसकेको म केही अविष्मरणीय वर्षपछि कसरी कसरी अध्यात्ममा घोत्लिँदै स्वर्गीय आनन्दप्रति लालयित छु भन्ने परिकल्पना गर्दै पूर्णसरलाई अघि भनें “सरले भनेको जस्तै अध्यात्म नै जीवनको मैंले पनि मुख्य लक्ष्य लिएको छु। कुनै समय म धन, शक्ति र सम्मानप्रति बुद्धि र वर्कतले भ्याएसम्म एकलव्य तवरले लागिरहें। केही वर्षपछि प्राप्ति पनि भयो। तर धेरै वर्ष उदास, निरास र आत्मग्लानी भइरहन्थ्यो, जसको उत्तर नै पाइएन। त्यतिबेला अनि अच्चम लाग्थ्यो किन म निरास ! जबकि ममा आर्थिक सम्पन्नता, शक्ति, सीप र प्रतिष्ठा अथाह थियो। २०७२ सालको भूकम्पका बेलामा विशेषगरि ढोटार गाउँका गाउँलेहरु, स–साना बालबालिकाहरु, जसले आफ्ना बाबुआमा गुमाए, तिनीहरुमा दुःखभन्दा बढी सुखको अनुभूत गर्न पाउँदा (ढोटार विद्यालयको भवन निर्माणमा करिब ४ महिना बसाइका क्रममा देखेभोगेका अनुभव) म एकपटक खुसी के हो गहन मनन गर्दै अध्यात्ममा घोत्लिने प्रयास गर्न थालें।
युरोप विशेषगरि जर्मनीको मेमिंगेनमा अत्यन्तै सम्मान (जुन अकल्पनीय थियो मेरा लागि) पाएपछि धेरै रोएँ र आत्मबोधको चेतना हुन थाल्यो, तब यही नै स्वर्गीय आनन्द रहेछ, सबै समान रहेछन्, माया र करुणा हुनुपर्ने रहेछ, घमण्ड गर्नु बेकार रहेछ भनेर जागृत हुँदैछ।” सर एकछिन टक्क अडिनुभयो र चियाको चुस्की निक्कै गहिरिएर लिनुभयो। मानौं कि मेरो त्यो सम्वाद उहाँको अन्तरआत्मासँग हुँदैछ।
सरले अघि भन्नुभयो “सानोमा मेरो चञ्चल स्वभाव देखेर आमाले ‘बाबु सबै काम गर्नु तर कसैलाई चोट पुर्याउने काम कहिल्यै नगर्नू’ भनेको कुरा मेरा लागि रामवाण जस्तै भयो।” पूर्ण सर आफ्ना विगत कोट्याउने प्रयत्न गर्दै हुनुहुन्थ्यो। “हाम्रो जमानामा संगीतप्रति लगाव देखेर निकै प्रशंसा गर्थे। धरै प्रेमका प्रस्तावहरु पनि आउँथे, अलि अलि रमाइलो गरिन्थ्यो। तर कुनै पनि बेला आमााको त्यो रामवाणलाई बेवास्ता गरेर कसैलाई आजसम्म चोट पुर्याइनँ।” उहाँको अनुहारमा अलि उदासीपना देखिन थाल्यो।
“बाबु मैंले सत्प्रयास गरे पनि जुनी जुनीसम्म सँगै बाँच्ने कसम खाएकी मेरी पहिली संगिनीसँग छुट्टिन बाध्य हुनुपर्यो। साइबाबा साक्षी छन्, उनले कतिपटक उपहास गरे पनि म मनमनै जलेर भए पनि मेरी संगिनी र छोरीलाई उज्यालो छर्ने प्रयासमा अनवरत रुपमा लागिरहें। यो विकृत समाजमा र परिवारमा आफ्नो आदर्शले मात्र काम गर्दो रहेनछ। उनको गतिविधि चरमोत्कर्षमा पुग्यो, मेरा हातखुट्टा पग्लिए र अब एक निमेष सँगै नबस्ने कठोर निर्णय गर्न पुग्यौं।” अफसोचको सुस्केरा हाले। मलाई उहाँको त्यो पारिवारिक दुर्घटनालाई अघि बढाउने दुस्साहस भएन।
म उहाँको विक्षिप्तिएको मन हलुका पार्न उहाँको बखानमा लागें। “सरले हामीलाई मञ्जुश्री स्कुलमा संगीत सिकाएको एकदमै रुचि लाग्थ्यो। म संगीतको धेरै पारखी नभए पनि सरमा जुन उर्जा भर्ने सीप विरलै पाइन्छ जस्तो लाग्छ। मेरो जिन्दगीमा पहिलोचोटी समूहमा गीत गाउने अवसर सरकै उत्प्रेरणाले भएको थियो। नत्र लजालु स्वभावको म त्यसरी स्टेजमा जाने आँट कहिल्यै आउँदैनथ्यो। म लगायत अरु साथीहरु इन्द्र क्षेत्री, साधना रिसाल, रीना खड्का, प्रमोद मानन्धर पनि जीवनको त्यो गायकीको अनुभव सधै मानसपटलमा गुन्जिरहन्छ होला। मैंले त्यति धेरै अभिभावक र शिक्षकहरुका अगाडि गाउँदा गाउँदै शब्दहरु बिर्सेछु। ममा सरले गाली गर्नुहुन्छ भन्ने मन डराए तापनि सरले ‘यस्ता गल्तीहरु धेरै हुन्छन्, तर बाबु प्रयास गर्नचाहिँ छोड्नुहुन्न अनिमात्र सफलता मिल्छ’ भनेको हिजो जस्तै लाग्छ।

भाष्कर रिसाल, श्यामकाजी थापा, जितेन्द्र के.सी., सुमन थापामगर, जसमा संगीतमा एकसुर लागिरहने दृढ इच्छा भएका, जो आफैंमा सन्तुष्ट थिए। सीके (चन्द क्षेत्री) सर, चन्दा मिस, पूर्णिमा मिस, किरण तामाङ सर लगायत सरको टीमले हामीलाई निक्कै हौस्याउनु भएको थियो, अझै पनि ताजा स्मरण छ।” मेरा शब्दहरुको गुञ्जायसले सरमा हर्षको वर्षा भएको महसुस गर्दा खुसीको सीमा रहेन। सरले मञ्जुश्री स्कुल, भैंसेपाटी बसाइ, त्यहाँको संगीतसाधनाप्रति लक्षित गर्दै सम्झने कोशिस गर्नुभयो। “हो नि त्यो बेला ममा पनि निक्कै जोस र जाँगर थियो। त्यहाँका साथीभाइहरु बच्चु रिसाल, यादव रिसाल, राजु के.सी., रबि के.सी, शिवराम बानियाँ, आत्माराम बानियाँ कति मिलनसार थिए। कार्यविनायकमा भजन गरेको आजै जस्तो लाग्छ, कोरिवालमा सप्ताहमा भजनमा बच्चु रिसालसँगै लिन भएको हिजै जस्तो लाग्छ। गोकुल के.सी., दौलत, भाष्कर रिसाल, बिदुर थापा लगायत सम्पूर्ण गाउँले दाजुभाइ, दिदीबहिनी, बाआमाहरुसँगको संगति निकै अविस्मरणीय छ। मञ्जुश्री स्कुल त्यो भेगकै नमुना स्कुल थियो, अंग्रेजी पठनपाठन मात्र नभई अतिरिक्त क्रियाकलाप नाटक, नाचगान, खेलकुदमा पनि निकै अब्बल थियोसी.के सरको योगदान अतुलनीय छ। उहाँको सिकाइ पद्धति निकै वैज्ञानिक र सरल थियो, अनुशासनमा रहनुपर्छ भन्ने उहाँको मुख्य उद्देश्य सदैव तारिफयोग्य छ। सैंबु भैंसेपाटी मात्र नभई, बुंगमती, खोकना, चुनिखेलबाट पनि मञ्जुश्री स्कुलमा पढ्न आउनेको ओइरो थियो। गाउँमा नै उज्यालो छर्ने उहाँको प्रयास निकै सराहनीय छ।
‘‘तर अलिकति परम्परागत सोच र संगीत आजको जस्तो पेशा नभएको भएर कति प्रतिभाहरु विलिन भए।” उहाँले मन फुकाएर सी. के. सर, मञ्जुश्री स्कुल, सैबु भैंसेपाटी बसाइको प्रसंसा गरेको मलाई असाध्यै चित्त बुझ्यो। आखिर, मैंले पनि त्यस स्कुलमा केही वर्ष अलौकिक ज्ञान, सीप पाएकै हुँ। म निक्कै कृतज्ञ भएँ। सँगै चन्द्रमान माली सर जो असाध्यै मृदुभाषी, सरल र आध्यात्मिक हुनुहुन्थ्यो, उहाँले बुंगमतीमा दिव्यज्योति स्कुल खोलेपछि त्यहाँ गएर संगीत सिकाउने र कार्यक्रम गर्नमा पनि धेरै मेहेनत गरेर केही जेहेन्दार संगीतज्ञ विद्यार्थी बनाइदिएको सम्झिँदै आनन्द महशुस गर्नुभयो। समय, परिस्थिति, व्यवस्था बदलिएसँगै उहाँको पनि संगीतमा अझै निखारिएर केही आर्थिकोपार्जन गर्ने इच्छाले नयाँ जोस, जाँगरसहित माउन्ट भ्याली स्कुलमा जाने निधो गर्नुभयो।
उहाँको ठूलो जिम्मेवारी थियो किनकि त्यस पवित्र विद्यालयमा श्रद्धेय भक्तराज आचार्यले संगीत सिकाउनुभएको थियो। “केही महिनापछि मेरो संगीत साधना देखेर प्रधानाध्यापक सीके सरमात्र होइन, अति मिलनसार गुरुङ सर, राई हेडमिस निकै मोहित भएर आफ्ना विद्यार्थीहरुलाई मेरो प्रसंशा गर्न थाल्नुभयो। जतिसुकै आत्मविश्वास भए पनि मलाई नयाँ परिवेशमा समाहित हुन केही समय लागेकै हो। कृष्णजीको मुरलीमा लठ्ठिएका गोपगोपीनीहरु जस्ता नभए पनि संगीतप्रति चाख दिने विद्यार्थीको ठूलो जमातले मलाई निकै आनन्दित तुल्याउँथ्यो।” खुशीको सुसेली हाल्दै भने “आर्थिक अवस्था बलियो हुँदै गयो, अनि त संगीतमा एकसुर लाग्दा लाग्दै कति शरद बिते, कति बसन्त बिते, मलाई पत्तै भएन।”
संगीतज्ञ साथीभाइको जमात निकै बढ्दै गयो। कहिले नेपालका विभिन्न ठाउँमा कार्यक्रम त कहिले सिंगापुर, मलेसियामा सांगितिक महोत्सवमा भाग लिन जान थाल्नुभयो। २०४८ सालमा रेडियो नेपालबाट स्वर परीक्षण पास गरे पनि २०५३ सालमा भैरहवामा “विश्वास गर मेरी मायालु”बाट विषेश चर्चा बटुल्न थाल्नुभयो। र माउन्ट भ्याली स्कुलका सरहरुमा पनि त्यस प्रभाव निकै पर्यो। उहाँको स्टुडियो नेपाल कलापे्रमी मन्दिरमा पनि संगीत सिर्जना गर्न आउनेको लर्कै लाग्न थाल्यो। चिनाजानाको त सिमै रहेन, चाहे हङकङ होस् वा भारत, जसले पनि बोलाइहाल्ने, खाना र खाजा खाना प्रस्ताव गर्ने लहर नै चल्यो।
तर अफसोच उहाँका खुसीका दिनहरु नझाँगिदै अचानक किड्नीमा समस्या आउन थाल्यो। बेला बेलामा हुने घरको पारिवारिक कचिंगलले गर्दा पनि खानामा ध्यान दिनै पाउनुभएन, कहिलेकाहिँ सुरापानमा पनि आनन्दको डुबुल्की मार्न थाल्नुभयो। तर त्यो किड्नीको समस्याले विकराल रुप लिँदै गयो। अनि त्यो पीडा जब चिकित्सकले छिटोभन्दा छिटो अप्रेसन गर्नुपर्छ भन्दै गर्दा संगिनीले चटक्कै छोडिदिँदा ठूलो बज्रपात भयो। जेहोस् भगवानको कृपा, साथीभाइको निस्वार्थ सहयोग र असीम मायाले किड्नी प्रत्यारोपण केही महिनामा नै भयो।
सारा सहयोगी हातहरु शिक्षाका लागि समाज नेपाल (लम्जुङ), यू.के. तनहुँ चौतारी, साई परिवार (हङकङ), तमु कलाकार संघ (काठमाडौं), निरु जोशी (पाटन), गौचन कलाकारहरु, नयाँ गाउँ रानीगाउँ (पक्लीहवा), भगवानले पठाएका दुत जस्तै हुन् भन्दैगर्दा उहाँका आँखा रसाएको प्रष्ट देखिन्थ्यो। किड्नी प्रत्यारोण गर्दा अघिका र पछिका पीडाले केही वर्ष सम्हालिन गाह्रो भयो। जेहोस् संगीतमै जीवन समर्पण गरेका पूर्ण सरको जीवनमा त्यस घटनापछि संघर्ष र चुनौतीको विकल्पै भएन। फेरि सुरुदेखिको दिनमा झैं कामको अलि बढी तनाव भयो। पहिली संगीनी सँगसँगै घरगृहस्थी सम्हाल्दा सम्हाल्दै कति साथीभाइहरु छुटे, विद्यार्थीहरु लाखापाखा लागे र त्यति राम्रो सिर्जना गर्नै सक्नुभएन। तर केही महिनाको एकाग्रता र मेहेनतले राम्रा राम्रा सिर्जना गर्न थाल्नुभयो। बंगलादेश पहिलोचोटी विदेश भ्रमण गर्दाका साथी राजुले शिवशक्ति कल्चर गुपमा आबद्ध हुन अनुरोध गरेपछि सरको दिनचर्या फेरि चुलिन थाल्यो। चाँगु नारन्थान, जाइफूलको बासना, घर हाम्रो रामेछाप, मेरी प्रियसी जस्ता गीतहरुको एफएममा निकै अनुरोध बढ्न थाले। फेरि गायक, कलाकारहरुको जमघट बढ्न थाल्यो र काठे गीत, गीत संगीत सिर्जनामा छुट्टै पहिचान भयो। २०६२ सालबाट त नेपाल संगीतकर्मी संघमा संस्थापक सल्लाहकार भएपछि संगीतमा चौबीसै घण्टाजस्तै व्यस्त हुन थाल्नुभयो। विहान स्कुल, बेलुका गजलमा मस्त अनि एकदम रमाइलोसँग जीवन फेरि चल्न थाल्यो र फेरि फर्केर हेर्नै परेनछ।
पूर्ण सर करुणा र दयाका उत्तिकै खानी हुनुहुँदोरहेछ। एकपटक संगीत सिजर्ना गर्न आउने युवकले एकदमै मिहेनत गर्न लगाएछन्, संगीत सिर्जना गर्न पनि एक हप्ताको मिहेनत लागेछ। उत्तिकै उत्कृष्ट तयार भयो र रातारात हिट हुने त्यस युवकले आंकलन गरेछन्। उनले भनेछन् “सर हेर्नु न घरमा हातमुख जोड्न मुश्किल छ। बाआमासँग नसोधी अन्तरजातीय विवाह गरें, गीत गाउने जिन्दगीकै ठूलो धोको, देवताजस्तो मान्छे हजुरको गुण कहिल्यै भुल्दिनँ। मेरो बिन्ती सरलाई ‘यसको पारिश्रमिक पछि नै मिलाउँला है।” सरले एक रत्ति नसोची भन्नुभएछ “हुन्छ भाइ, तिम्रो कुरा सुनेर मलाई झनै उर्जा मिल्यो। अझै संगीतमा लगाव राख्नु, आफ्नी श्रीमतीको पनि राम्रोसँग ख्याल गर्नु, साइरामले तिमीलाई कल्याण गरुन्।” यस्ता निकै चाखलाग्दो घटना सुन्दा ममा पनि निश्चल शान्ति प्राप्त भयो।
यसै बिचमा कति विवाह गर्ने प्रस्ताव आए। तर उहाँको मनमा सधैं त्यो वियोग सम्झिँदा डर र भय भइरहन्थ्यो। वर्षौं लगाएको गहिरो माया त टिकेन, अब के बिहे गर्नु भनेर तर्किरहनुभयो। तर उहाँकी प्यारी आमाले भैरहवाबाट सम्झाउने गर्नुहुन्थ्यो “बाबु सधैं एक्लै नबस्नु, निराशमात्र भइन्छ, कि यतै आउ, भगवानले जोडी मिलाएकै हुन्छन्, हामी पनि यता हेर्दैछौं।” स्थापित भइसकेका संगीत सर्जक पूर्ण सरमा कुनै जाँगर नै चलेनछ। रेडियो नेपालमा प्रतिष्ठित आधुनिक गायनमा प्रमाणपत्र लिइसक्नुभएका सरका घनिष्ठ मित्रहरु “रांको बाली बाली”का गायक प्रकाश पौडेल, “जाइफूलको बासना”का गायक गणेश बोहोरा लगायतले कहिल्यै साथ छाडेनन् र कति एक्लै बस्नु भनेर सोच्नै भ्याउनुभएन।
केही अन्तरालपछि दाहाल सर र मैनाली सर (मेरील्यान्ड स्कुल) बाट राम्रो प्रस्ताव लिएर आउनुभएछ र केही आराम र नयाँपन पनि हुने भएकाले विवेकपूर्वक पार्टटाइम संगीत शिक्षकको जिम्मेवारी स्वीकार्नुभयो तर बेलुका हुने गजल कहिले सोल्टी होटलमा त कहिले क्यासिनो एभरेष्टमा जान चाहिं छाड्नुभएन। उहाँमा कहिल्यै उन्माद चढेन गजल गाउँदै गर्दा कत्ति महिलाहरु मदिराको मस्तीमा सँगै आलिंगनमा आउँदा पनि तर्केर नै हिँड्नुभयो। बरु त्यो कहालीलाग्दो दिन कहिलेकाहिँ सम्झिदा उहाँमा जिन्दगीको रंग नै उडेजस्तो हुन्थ्यो। एक किसिमको प्रतिष्ठा कमाइसक्नुभएका सर्जकमा कुनै मोह र इश्र्या थिएन। त्यो देख्दा संगीतलाई औधी रुचाउने र राम्ररी बुझेका सरले अब यस विद्यालयमा पूर्ण रुपमै आबद्ध हुनुहोस् भन्दा पूर्ण सरमा केही आशा पलायो र जीवन अब निकै सहज हुने आभास पाउनुभयो। स्वच्छ छवि बनाउनुभएका पूर्ण सरको भव्य तारिफ हुन थाल्यो। विद्यालयमा मात्र नभई जताततै मिलनसार सर परिश्रम र एकाग्रतामा विश्वास गर्नुपर्छ भनेर प्रत्येक विद्यार्थीहरुलाई हौस्याउनु हुँदोरहेछ। ठ्याक्कै हाम्रो सांगा (प्रहरी स्कुल) मा विनय सरले जस्तै जीवनमा परिश्रम गर्न नछोड्नु, सफलता अवश्य पाइन्छ। तर एकाग्रता र अनुशासन जीवनमा अति आवश्यक छ भनेको याद सधैं आउँछ। ती स्वर्णीम् आनन्दका दिनहरु; चाहे स्कुलबाट भागेर बनेपामा भिडियो हेर्न गएको होस् वा गोठाले चौधरी दाइकोमा गएर ताजा गाइको दूध खाएको होस् झल्झली मानसपटलमा घुम्न थाल्यो। कहिलेकाहिँ अनुशासन भंग गरे पनि विनय सर वा मेडिकलको महत सरले भनेको जस्तै परिश्रम र एकाग्रताको सुत्र सधैं पहिल्याउन पछि नपरेको कुरा पूर्ण सरलाई सुनाउँदा उहाँ असाध्यै प्रफुल्लित हुनुभयो। त्यो बालापनमा केही वर्ष भए पनि उहाँको छत्रछायाँमा रहेर संगीतको अलि अलि ज्ञान लिन पाएको स्मरण आयो।
केही समय असाध्यै संगीतमा केही गर्छु भन्ने सुमी श्रेष्ठसँग संगीत सिक्ने र सिकाउने क्रममा बिस्तारै माया बस्न थाल्यो। एक वर्ष होइन, २/३ वर्ष सुमीले साथ छोड्नु नै भएन। भर्खर बिरामीबाट तंग्रिएका र जातपात पक्षपाती ठान्ने पूर्ण सरलाई पक्कै पनि एउटा नयाँ जिवन, नयाँ सहयात्री पाएकोजस्तो पूर्ण अनुभूति हुन थाल्यो। अनि सँगै बाँच्ने र मर्ने कसम खाँदै ज्युँदा मुनामदनझैं उदाहरण बन्ने कोशिस मात्र नभई सबैले त्यसै भनेर तारिफ गरेको बखान सुनाउन थाल्नुभयो। उहाँले थप्नुभयो, “मलाई यति माया गर्छिन् कि त्यसको वर्णन म शब्दले गर्नै सक्दिनँ। म नसुत्दासँगै बसेर आड दिन्छिन्, संगीत सिक्न आउने प्रत्येक भक्तहरुलाई उनीले खुशी पारेर पठाउँछिन्, एक दिन त के एक छिन पनि मलाई छोडेकी छैनन्, मेरो लागि सुमी भगवान नै हो।” सुमी म्याडम पूर्ण सरको पीपलको छहारी भएर उहाँलाई हौसला प्रदान गरिरहनुभयो।
उहाँहरुको जीवन धेरै नै अगाडि बढ्न थाल्यो। सँगसँगै अन्तरआत्माको शुदीका लागि साइबाबाको भजनमा निकै सक्रिय हुन थाल्नुभयो। केही वर्षमै पुत्रीलाभ हुन पुग्यो, अत्यन्तै आग्यमानी ठान्नुभयो। अनि त झन् जीवन सोचेभन्दा असाध्यै सुखमय र आनन्दमय बन्दै गयो। सरले कहालिलाग्दो घटना सम्झिँदै भन्न थाल्नुभयो “संगीत साधनामा मस्त भएर छोरीसँग खेल्दै गर्दा एक्कासी साहै पेट दुख्न थाल्यो। सुमीले हतार हतार एम्बुलेन्स बोलाएर टिचिङ अस्पताल लगिन्। डाक्टरले पहिले नै खानपिनमा ध्यान दिनोस्, तनाव धेरै नलिनुस् भनेका थिए। तर त्यही समय त्यो बज्रपातपछि कामैकाम र चुनौतीले विक्षिप्त बनायो, अनि आफ्नो स्वास्थ्यमा ध्यानै दिन पाइएन।”
बोल्दा बोल्दै सरको आँखा रसाए। “टिचिङ अस्पतालमा २०७४ साल साउन २९ गने भर्ना हुन कर लाग्यो। ती क्षणहरु सम्झिँदा आङ सिरिङ हुन्छ। सुमीले २२ दिनसम्म खाना नै नखाइ उपचारमा खटिनुपर्यो, मर्ने र बाँच्नेको दोसाँधमा भएको आफ्नो प्राणभन्दा प्यारो श्रीमानलाई कसरी छोड्ने भनेर कल्पना नै गरिनन्।” किड्नी काम गर्न छाड्यो र अन्तिम अवस्था भन्दै डायलसिस गरेको गरेकै गर्दा उहाँको स्वास्थ्य अत्यन्त कमजोर र त्यसपछि त हलचल पनि नगर्ने भयो।
यो समाचारले सबै आफन्त र शुभेच्छुकमा सन्नाटा छायो। सुमी म्याडम जति नै स्तब्ध भए पनि उच्च मनोबलकासाथ उपचारमा अनवरत रुपमा खटिन थाल्नुभयो। डा. सन्तोषले “बहिनी अब उहाँको आश नगर, जिद्धी नगर” भने पनि उहाँले जब्बरजस्ती भेन्टिलेटरमा राखेर उपचार गर्नुभयो। सरले लामो श्वास तानेर भन्नुभयो “सुमी मलाई जसरी नि बचाउँछु भनेर दृढ इच्छाशक्तिसहित लागेको लागेकै परिन्।” हुन त पूर्ण सर भागवत् गीतामा भनेजस्तै “ब्रम्हाणाधाय कर्माणी” अर्थात् इन्द्रीयहरु मन, बुद्धि, प्राण आदि सबै भगवानकै हुन्, आफ्ना होइनन् भन्दै जे भइरहेछन् साइरामकै लीला हुन् भनेर सर्वव्यापी परमात्माको अन्तरध्यानमा पूर्णसर लाग्नुभयो (उहाँको अचेत अवस्थाको कल्पनाको आधारमा।) आफ्ना आफन्त, दाजुभाइ भनाउदाँहरुले नहेरे पनि सहयोगी हातहरु, कैंयन् साथीहरु व्यक्तिगत रुपमै सहयोग पठाइदिएका कारण डाक्टरलाई चकित पार्दै कोमाबाट २२ दिनपछि पुनर्जन्म पाउनुभयो। पूर्ण सरको खुसीले छाती निकै ठूलो भयो।
मैले त्यो खुसीको उज्यालो डगमगाउन नपाउँदै उत्साहित भएर सोधें “सरको अबको इच्छा ?” उहाँ अलि अलि उत्साहित अनि अलि अलि चिन्तित हुँदै अघि भन्नुभयो “खासमा भन्नुपर्दा म यो पुनर्जन्मदेखि नै आबाबुबा, भगवान् साइराम, शुभेच्छुक, साथीभाइ, नातागोता, इष्टमित्र, जस–जसले त्यो ठूलो गुन लगाउनुभयो, उहाँहरुप्रति अत्यन्तै कृतज्ञ छु। तर किड्नी प्रत्यारोपण गर्न पाएदेखि डायलोसिस गर्न हप्ताको ३ चोटी जानु पनि पर्दैन थियो, अनि यो असैह्य पीडाबाट छुटकारा पनि पाइन्थ्यो। दुःखको कुरा म करिब करिब मृत्युशैयामा पुगेकोबेला कति साथीहरु, आफन्तहरु थिए जसले मलाई सहयोग गर्छु भनेका थिए। तर साँच्चिकै पर्दा ती मानिसहरु कता लाखापाखा लागे थाहा नै भएन। कतिलाई सहयोग गर्नका लागि सुुमीले सम्पर्क गरिन्, कत्तिले ठाडै इन्कार गरे, कत्तिले म त चिन्दिनँ समेत भने, धैरै आश गरेका एक व्यक्तिले अब पूर्णको आश नगरे हुन्छ समेत भन्न भ्याए।
तर साइरामको कृपाले केही अकल्पनीय विद्यार्थीहरु, आसै नगरेका साथीहरु लगायत केही संस्थाहरुले निशर्त सहयोग गरे। तिनीहरु मेरो प्रत्येक दिनको प्रार्थनामा छन्, उनीहरुको सहयोग यो जुनी त के सयौं जुनीसम्म पनि नभुल्दै साइरामसँग उनीहरु लगायत उनीहरुको परिवारको दीर्घायु स्वास्थ्य र उत्तरोत्तर प्रगतिका लागि सदैव प्रार्थना गर्दछु। र आफू पूर्ण रुपमा ठिक भएपछि जस्तो पनि सहयोग गर्न तत्पर रहनेछु। उनीहरु मेरा लागि देवता सरह हुन्। यो “नाफाको जिन्दगी” किड्नी प्रत्यारोपणपश्चात् सम्पूर्ण सीप र शक्तिका साथ संगीत संयोजनमै लागेर देश र समाजमा केही योगदान गर्नेछु। केही संगीतमा लगाव गर्ने युवाहरुलाई भजन संगीत र काठे लोकभाकाको जर्गेना गर्न अभिप्रेरित गर्ने। एउटा सानो संगीत संयोजन गर्ने पाठशाला खोलेर वा कुनै संगीत सिर्जना गर्ने संस्थासँग मिलेर गरिब तर जेहेन्दार युवा वा क्षमतावानहरुलाई निःशुल्क संगीत संयोजन सिकाउने मेरो ठूलो सपना छ।”
पूर्ण गुरुङ सर जो यस राष्ट्रकै गहना हुन्, जसले १००० बन्दा बढीमा संगीत सिर्जना गर्नुभएको छ, उहाँको किड्नी प्रत्यारोपण उपचारका लागि सहयोग गर्न हार्दिक अपिल गरिन्छ। यस पुण्य कार्यका लागि जुनसुकै संस्था वा व्यक्तिबाट जति पनि सहयोग आउँछ, उहाँले लिपिबद्ध गर्नुहुनेछ। उहाँको जीवन बचाउन सकियो भने फेरि यस देशले एउटा होनाहार संगीतकर्मी पाउनेछ र लाखौंका मनमा बसिसकेका पूर्ण सरले हजारौं संगीत सिर्जना गर्दै यस देशलाई ठूलो योगदान गर्न सक्नुहुनेछ।
(समनसँग कुराकानीको आधारमा तयार पारिएको सत्य कथा)
(उपचारमा सहयोगका लागि निम्न बैंक खातामा रकम जम्मा गर्न सकिनेछ। नाम – पूर्ण कुमार गुरुङ, खाता नं. ०१२०५२४०३६०८००११, कुमारी बैंक, पुतलीसडक।)



लोकपाटी न्यूज

