पूँजी बजार र बैंकहरुका समस्या तत्काल समाधान गर्छौं : गभर्नर

Chiranjibi-Nepal
लाेकपाटी न्यूज

काठमाडौं, ११ पुस । नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले पूँजी बजार र बैंकहरुमा देखिएका समस्या समाधानको प्रक्रिया अघि बढाएको बताएका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको मंगलबार बसेको बैठकमा गर्भनर नेपालले सो समस्या समाधानका लागि बनेको कार्यदलबाट आएका सुझावहरु कार्यान्वयन तहमा लैजाने तयारी समेत भएको बताएका हुन् ।

केन्द्रीय बैंकको पहलमा बैंकहरुले ब्याजदर घटाउन समेत भद्र सहमति गरेको उनको भनाइ छ । उनले वित्तीय संस्थाहरुलाई नैतिक दबाब दिएर ब्याजदर नियन्त्रण लिएको बताएका छन् ।

यस्तै गभर्नर नेपालले सेयर बजारसँग सम्बन्धित निर्देशनहरु पनि तत्काल जारी गर्ने तयार गरेको बताएका छन् । उनले बैंकहरुलाई सेयर ब्रोकरको काम गर्न दिने व्यवस्था चाँडै गरिने बताउँदै बैंकको प्राथमिक पूँजी र निक्षेपको निश्चित प्रतिशत रकम ऋणपत्र बजारमा लैजाने व्यवस्था समेत मिलाउन लागेको प्रष्ट पारे ।