कुमारी प्रथाको उद्धवबारे जनश्रुति
भनिन्छ, परापूर्व कालमा नेपालको राजकुमारी र एक राक्षस राजकुमार (शत्रु देशको राजकुमार) बिच गहिरो प्रेम सम्बन्ध थियो। एक दिन राक्षस राजकुमारको देशले नेपालमाथि आक्रमण गरेछ। आफ्नी प्रेमिका नेपाल राजकुमारीलाई राक्षस राजकुमारले आफूलाई साथ दिन लडाई जितेपछि एकीकृत राज्यको युवराज्ञी बन्न दवाब दिएछ। देशप्रतिको कर्तव्य र प्रेमको दोसाँधमा परेकी नेपाल राजकुमारीले राजकुमारलाई साथ नदिने र देशको अस्तित्व रक्षाका लागि प्रतिरोध लडाईंमा होमिने निर्णय गरिन्। आक्रमणकारी राक्षस राज्य पराजित भयो र राक्षस राजकुमार पनि मारियो। राजकुमारीको माया चोखो र पवित्र थियो। त्यसैले उनले अरु कसैसँग प्रेम वा वैवाहिक सम्बन्ध नराख्ने तर आफ्नो चोखो मायाले अमरत्व पाओस् भनेर आजीवन अविवाहित (कुमारी) नै बस्ने निर्णय गरिन्। उनको त्यस्तो अगाध देशप्रेम र चोखो माया देखेर जनताले उनलाई देशको संरक्षक देवीको रुपमा पुज्न थालेछ र देशभरिका उनका सखीहरुले पनि उनलाई साथ दिँदै आजीवन अविवाहित (कुमारी) रहने निर्णय गरेछन्। त्यसैको प्रतीक र प्रतिविम्बस्वरुप नेवारहरुको मुख्य मुख्य गाउँबस्ती र शहरका कतिपय टोलहरुमा अक्षत कन्यालाई कुमारीको रुपमा स्थापना गरी देवीको रुपमा पूजा गर्ने परम्परा अझै कायम छ। अक्षत कन्या भन्नाले रजस्वला नभएकी, शरीरमा कतै पनि घाउ चोट पटक नलागेकी, दाँत समेत नफुक्लेकी शुद्ध र सग्लो शरीर भएकी, निडर स्वभावकी कन्या हो। कुमारी बनेकी कन्या क्षत हुने बित्तिकै उनी कुमारी रहँदिनन् र अवकास पाउँछिन्। उनको ठाउँमा अर्को अक्षत कन्यालाई कुमारी बनाइन्छ। ईन्द्रजात्राको बेला रथजात्रा गरिने कुमारीलाई लायकु कुमारी (राजकीय कुमारी) भनिन्छ। शाक्य कुलकी अक्षत कन्या मात्र लायकु कुमारी हुन पाउने नियम छ। लायकु कुमारी बसन्तपुरस्थित कुमारी घरमा बस्छिन् भने अरु कुमारीहरु कोही कोही आफ्नो कुमारी स्थानको कुमारी घरमा र धेरैजसो आफ्नै घरमा बस्छन्। कुमारी बन्ने कन्याहरु शाक्य, बज्राचार्य र ज्यापु कुलका मात्र हुन्छन्।
कुमारी रथजात्राको अर्थराजनीतिक पक्ष
काठमाडौंमा हरेक वर्ष भाद्रशुक्ल द्वादशीदेखि आश्विनकृष्ण तृतीया सात दिनसम्म एउटा पर्व बडो हर्षोल्लासका साथ धुमधामसँग मनाइन्छ, जसलाई नेपाल भाषामा “येंया:” भनिन्छ। येंयाःको शाब्दिक अर्थ काठमाडौं जात्रा अथवा काठमाडौं महोत्सव हो, जसलाई गैरनेवारहरु ईन्द्रजात्रा भन्ने गर्दछन्। त्यसका अनेक आकर्षणहरुमध्ये भाद्रकृष्ण चतुर्दशीको दिन हुने जीवित देवी लायकु कुमारीको रथयात्रा प्रमुख आकर्षण हो। यहाँ लायकु कुमारीको रथयात्रा कसले किन र कहिलेदेखि शुरु गर्यो र त्यसको अर्थराजनीतिक पक्ष के थियो भन्नेबारे चर्चा गरिन्छ। प्रस्तुत विषय कुनै जनश्रुति होइन, लिखित इतिहास पनि होइन, तथ्यबाट सत्यसम्म पुग्ने द्वन्दात्मक अध्ययन विधिबाट निकालेको पंक्तिकारको नितान्त निजी निचोड हो, जसलाई उ अलिखित इतिहासको पाटो भन्न रुचाउँछ।
ईन्द्रजात्राको बेला कुमारीको रथजात्रा गर्ने चलन धेरै पुरानो होइन । इतिहासमा दर्ज भएकै कुरा हो कि कान्तिपुरका अन्तिम मल्ल राजा जयप्रकाश मल्लले विक्रम सम्वत् १८१४ मा शाक्यकुलकी कुमारीलाई लायकु कुमारी (राजकीय कुमारी) को दर्जा दिएर इन्द्रजात्राको अवसरमा कुमारीको रथजात्रा मनाउने परम्पराको शुरुआत गरेका थिए । जुन बेला शाक्य कन्यालाई लायकु कुमारीको मान्यता दिएर उनको रथजात्रा मनाउने परम्परा थालिएको थियो, त्यसबेला गोरखाली राजा पृथ्वीनारायण शाहको राज्य विस्तार अभियानमा कान्तिपुर राज्यले पटकपटक भीषण आक्रमण खेपिरहेको थियो। युद्ध अर्थतन्त्र अत्यन्त महंगो हुन्छ भन्ने कुरा जगजाहेर नै छ। कान्तिपुरको राज्यकोष खाली हुँदै गइरहेको थियो। युद्ध अर्थतन्त्र धान्न राजा जयप्रकाश मल्लले विभिन्न मठ मन्दिरका सम्पत्ति मास्न थालिसकेका थिए। पछिल्लोपटक मल्लवंशको ईष्टदेवी तलेजु भवानीकै अत्यधिक सम्पति युद्धमा खर्च गर्न खोज्दा देवीका पूजारी, भण्डारी, गुठियार र सरोकारवाला अन्य पक्षहरुले तीब्र विरोध गरेर रोकेको देखिन आउँछ, जसलाई जनमानसमा जयप्रकाश मल्लले आफूसँग पासा खेल्न आएकी तलेजु भवानीप्रति कुदृष्टि राखेको भनी नियोजित प्रचार गरिएको प्रतीत हुन्छ। कान्तिपुरे सेना र दरबार नराम्रोसित विभाजित भइसकेको थियो। स्वयम् जयप्रकाश मल्लकी पटरानी दयालक्ष्मी मल्ल लगायत कतिपय भारदार पृथ्वीनारायण शाहसँग भित्रभित्रै मिलिसकेका थिए। दयालक्ष्मीले त एकचोटी आफ्नै पति राजा जयप्रकाश मल्ललाई अपदस्थ गरी नाबालक छोरा ज्योतिप्रकाश मल्ललाई राजा बनाई उनको नायब बनेर केही समय शासनसमेत गर्न पुगेकी थिइन्। सेनापति तौढिक काजी नेतृत्वको सेनाको डिभिजन जयप्रकाश मल्लप्रति अझै बफादार रहे तापनि सेना र युद्धको खर्च धान्न भयंकर आर्थिक संकट परिरहेको थियो। यस्तो अवस्थामा जसरी भए पनि प्रतिरोध युद्ध लड्नु वा आत्मसमर्पण गर्नुबाहेक जयप्रकाश मल्लसँग तेस्रो विकल्प थिएन। तर जयप्रकाश मल्ल पनि लरतरो राजा थिएनन्, उनले जसरी भए पनि प्रतिरोध युद्ध लड्ने निश्चय गरे र त्यसका लागि आवश्यक खर्च जुटाउने एउटा उपाय पनि निकाले।
धार्मिक सहिष्णुता नेपाली समाजको ठुलो विशेषता रहँदै आए तापनि लिच्छवीकालको प्रारम्भदेखि नेपालको राज्यसत्ता सञ्चालनमा हिन्दू धर्मावलम्बीहरुको वर्चस्व हावी थियो र अहिले पनि त्यो कायमै छ। जनस्तरमा हिन्दू र बौद्ध धर्मको विभेदले खासै अर्थ नराखेको भए तापनि सत्ताको पहुँचबाट टाढा परेकोले बौद्धमार्गीहरुमा राज्यसत्ताप्रति असन्तुष्टि हुनु स्वाभाविकै थियो र छ। उनीहरुको यही असन्तुष्टिलाई सम्बोधन गरी आफ्नो पक्षमा ल्याउन र उनीहरुबाट अधिक से अधिक आर्थिक सहयोग र ऋण संकलन गर्न जयप्रकाश मल्लले पनि आफूमाथि लागेको तलेजु भवानीमाथि कुदृष्टि राखेको आरोपमै टेकेर बौद्धमार्गीहरुमा सबैभन्दा सम्पन्न र सुनचाँदी जवाहरातका धनी व्यापारी शाक्य समुदायलाई निजहरुको व्यापार व्यवसायलाई अरु फलाउन फुलाउन राज्यले अनेक सुविधा र अधिकार प्रदान गर्ने सहमति गरेर आफ्नो पक्षमा पारी त्यस समुदायकी कुमारीमा तलेजु भवानीको शक्ति प्रवेश गरेको, उनै कुमारी तलेजु भवानीको प्रतिरुप बन्नु भएको र अबदेखि देशको संरक्षक उहाँ नै हुनु भएको व्यहोरा तलेजु भवानीबाट आज्ञा भएको भन्ने प्रचार गराए र शाक्य कुमारीलाई लायकु कुमारीको दर्जा मात्र दिएनन्, उनको सम्मानमा काठमाडौं नगर वरिपरि लायकु कुमारीको रथयात्रा गराउने निर्णय पनि गरे। यसबाट उत्साहित भएका शाक्यहरुलाई अझ बढी खुसी पार्न लायकु कुमारीका साथै शाक्य कुलका दुईजना बालकहरुलाई गणेश र कुमारको रुपमा सँगै रथयात्रा गर्ने परम्परा पनि बसाले। यस प्रकार आर्थिक कारणले शाक्य कन्यालाई लायकु कुमारी बनाइएको र उनको रथयात्रा गर्ने चलन बसालिएको कुरा प्रष्टिन आउँछ। सबै बौद्धमार्गीका पुरोहित र गुरुवर्ग बज्राचार्य समुदायमा पनि कुमारी राख्ने प्रथा नभएका होइन। तर उनीहरु शाक्यहरुको तुलनामा त्यति सम्पन्न नभएको र संख्यामा पनि थोरै भएकोले बज्राचार्य कुमारीलाई लायकु कुमारी नबनाइएको प्रतीत हुन्छ। त्यसै गरी जनसंख्याको ठूलै भाग ओट्ने ज्यापु समुदायमा पनि कुमारी राख्ने चलन छ। तर पनि त्यस समुदायकी कुमारीलाई लायकु कुमारी नबनाउनुमा दमित किसान वर्गको हुनु र आर्थिक विपन्नता नै हुनुपर्छ भन्ने पंक्तिकारको ठहर छ। तर ज्यापुहरुको असन्तुष्टि प्रकट भएरै छाड्यो, जुन राजाकी ल्याइते ज्यापुनी रानी रुष्ट भएबाट मुखरित भयो। कुमारी रथयात्रा मुख्य रुपमा क्वनेयाः (नगरको तल्लो, दक्षिण भागको जात्रा) र थःनेयाः (नगरको माथ्लो, उत्तरी भागको जात्रा) गरी दुई दिन दुई पटक हुन्छ। राजा जयप्रकाश मल्लले आफ्नी ज्यापुनी रानी र उनको समुदायलाई खुसी पार्न उनकै ईच्छाबमोजिम उनको माइती टोल किलागलस्थित ज्यापु समुदायकी कुमारीसित दर्शनभेट गरी जानुपर्ने गरी थप एक दिन कुमारी रथयात्रा गर्ने परम्परा थपे। यसरी राजा जयप्रकाश मल्लले आफूप्रति बौद्ध समुदायका साथै समाजका आधारभूत वर्गको समर्थन जुटाउन तथा त्यसको मुख्य उद्देश्य गोरखाली फौजसित प्रतिरक्षा युद्ध लड्नका लागि अर्थ संकलन गर्ने र जनशक्ति जुटाउने भरमग्दुर प्रयास भएको र केही वर्ष आफ्नो शासन सत्ता टिकाउन सफल भएको पनि देखिन्छ।
उता राज्य विस्तारका अति महत्वाकांक्षी गोर्खाली राजा पृथ्वीनारायण शाहले पनि ती सबै कुरा सुक्ष्म रुपले अध्ययन गरिरहेका थिए। लामो समयदेखि राज्यसत्ताप्रति असन्तुष्ट रहँदै आएको तत्कालीन नेपाली समाजको एउटा ठूलै अंग बौद्धमार्गी समुदाय जयप्रकाश मल्लको पक्षमा जान लागेको देख्दा देख्दै उनी कसरी चुप लागेर बस्न सक्थे ? भक्तपुरका राजा रणजित मल्लको मित छोरा बनेर भक्तपुरमै शिक्षादिक्षा हासिल गर्दै किशोरावस्था बिताएर नेपालभाषामा बोल्न र लेखपढ गर्न पोख्त बनेका पृथ्वीनारायण शाहले पनि आफूलाई लायकु कुमारीको भक्त नै हो भनेर देखाउन उक्त भाषामा लायकु कुमारीको स्तुति नै लेखेर प्रचार गराए र आफ्ना सुत्रहरुमार्फत् नेपालका बौद्धमार्गीहरुको धर्म संस्कार संस्कृति परम्पराका साथै उनीहरुका पेशा व्यापार व्यवसायलाई पूर्ण सम्मान र संरक्षण गर्ने सन्देश पठाएर आफूप्रति आकर्षित गर्ने र विश्वस्त पार्ने प्रयास गरेको देखिन्छ।
जनश्रुति अनुसार पृथ्वीनारायण शाहले काठमाडौं उपत्यकालाई चारैतिरबाट घेरेर नाकाबन्दी गरिदिँदा त्यहाँको वन्दव्यापार ठप्प भएको, जनजीवन अस्तव्यस्त र कष्टकर बन्दै हाहाकार मच्चिराखेको बेला पृथ्वीनारायण शाहको उक्त गोप्य सन्देशबारे के गर्ने भनेर निष्कर्षमा पुग्न लायकु कुमारीको अध्यक्षतामा काठमाडौंका ३२ टोलका देवताहरुको धर्मसभा बसेको थियो, जसमा ललितपुर राज्य मातहतको गौंडा भए तापनि त्यस बेला उपत्यका नगर क्षेत्रभित्र पस्ने मुख्य नाका भएकोले कीर्तिपुरको बाघभैरवलाई पनि आमन्त्रित गरिएको थियो। छलफलको क्रममा सभाका सहभागीहरुले मल्ल राजाहरु आपसमा सधैं कुकुर बिरालोजस्तो लडिरहने गरेबाट राज्यसत्ता सम्हाल्न कमजोर र असक्षम बन्दै गएको, जनताको जिउधन र व्यापार व्यवसायलाई सुरक्षा दिनुको सट्टा अचाक्ली युद्धकरको बोझ थपिँदै गएको, ल्हासा व्यापारीहरुको ठूलो समूहले पृथ्वीनारायण शाहलाई समर्थन गर्ने गोप्य निर्णय गरिसकेको, दरबारभित्रै पनि चर्को गुटबन्दी भई रानी दयालक्ष्मीसहित कतिपय भारदार र सेनापति पथ्वीनारायण शाहसँग भित्रभित्रै मिलिसकेको, ललितपुर राज्यले आफ्नै गौंडा कीर्तिपुरको रक्षा गर्न छोडिदिएको, भक्तपुरका राजा रणजीत मल्लले पृथ्वीनारायण शाह मेरा मित छोरा हुन्, उनले मलाई केही गर्दैनन्, म कान्तिपुरको भाँडभैलो प्रतिरोध युद्धमा साथ दिएर मित छोरा गुमाउन र युद्धको विनास व्यहोर्न चाहन्न भनिसकेको अवस्थामा हामीले मात्र के गर्न सक्छौं र ? हाम्रो धर्म संस्कार संस्कृति परम्पराका साथै हाम्रो पेशा व्यापार व्यवसायलाई सम्मान र संरक्षण गर्छु भनेर सत्य बाचा गर्छ भने गोर्खाली राजालाई समर्थन गरौं र युद्धको भयावह बर्बादीबाट बचौं भन्ने सर्वसम्मत राय आएपछि सभाको अध्यक्षता गरिरहेकी लायकु कुमारीले पनि पृथ्वीनारायण शाह विष्णु भगवानको साक्षात अवतार हुन्, अब उनको दिगविजयलाई कसैले रोक्न सक्दैन भन्दै सभाको रायअनुसार पृथ्वीनारायण शाहलाई राजा स्वीकार गर्ने र कुमारीको रथयात्रा हुने पहिलो दिन जनताको अपार उपस्थितिमा उनलाई राज्याभिषेक गर्ने निर्णय सुनाइन्। यस्तो निर्णय सुनेपछि सभाको क्रियाकलाप चुपचाप हेरिरहेका कीर्तिपुरको बाघभैरवले रिसाउँदै तिमीहरु देशद्रोही आत्मसमर्पणवादी कायरहरुलाई जे मन लाग्छ गर, कीर्तिपुर एक्लैले अस्ति मात्रै आततायी गोर्खालीहरुलाई मार भगाएकै हो, अहिले पनि हामी एक्लै लड्छौं र शत्रुलाई खेदेर पठाउँछौं भनेर खुट्टा बजार्दै सभाबाट बाहिरिए। त्यसको केही महिनापछि गोर्खालीहरुसँग भएको तेस्रो लडाईमा कीर्तिपुरको नराम्रो पराजय भयो, गोर्खाको अधिनस्थ बन्यो। त्यसको केही समयपछि आश्विनशुक्ल चतुर्दशी ईन्द्रजात्राको तेस्रो दिन अर्थात् कुमारी रथयात्रा हुने पहिलो दिन पूर्वयोजनाअनुसार पृथ्वीनारायण शाह आफ्ना सेनासहित बिना कुनै रक्तपात कान्तिपुर नगर प्रवेश गरे। जयप्रकाश मल्ललाई साथ दिनेमा तौढिक काजी र उनी मातहतका केही सेनाबाहेक कोही बचेनन्। उनीहरुलाई पनि गोर्खाली सेनाले बन्दी बनाएपछि जयप्रकाश मल्ल आफ्ना वफादार विशेष अंगरक्षकहरुको सहयोगमा गुप्त सुरुङमार्ग हुंदै ललितपुरमा शरण लिन पुगे भने यता हनुमाढोका दरबार नासल चोकमा राखिएको राजसिंहासनमा आसिन पृथ्वीनारायण शाहले कान्तिपुर राज्यका सम्पूर्ण नागरिकको जिउधन धर्म संस्कार संस्कृति परम्पराका साथै उनीहरुका पेशा व्यापार व्यवसायलाई पूर्ण सम्मान र संरक्षण गर्ने र पहिलेभन्दा बढी सुविधा दिने सार्वजनिक घोषणा गरेपछि लायकु कुमारीको आशीरवचन र बज्राचार्यसमेत सम्मिलित गुरुपुरोहितहरुको मन्त्रोच्चारणसहित पृथ्वीनारायण शाहलाई विधिवत रुपमा कान्तिपुर राज्यको पनि राजा घोषणा गरी राज्याभिषेक समेत सम्पन्न गरियो। यसरी अर्थराजनीतिका कारण शाक्य कुलकी कुमारीलाई लायकु कुमारीको सम्मान दिएर उनको रथायात्रा गर्ने चलनसमेत चलाइयो र अर्थ राजनीतिकै कारण कान्तिपुर राज्यबाट मल्ल वंशको शासन सदाको लागि अस्त भयो र शाहवंशीय शासनको जग बस्यो।
अब यहाँ स्पष्ट गर्न बाँकी कुरा के हो भने उहिले राजा गुणकामदेवले व्यवस्थित नगरहरुको विकास गर्दा हरेक नगरलाई ३२ वटा टोलमा विभाजित गर्ने गरिन्थ्यो र प्रत्येक टोलमा एक जना नाइके वा मुखिया रहने गर्थ्यो। तत्कालीन कान्तिपुर राज्यको पूर्वी सिमाना बागमती नदी थियो। अहिले पनि बागमती पारीका ३ वटा वडालाई छोड्ने हो भने काठमाडौं महानगरमा ३२ वटा वडा नै हुन आउँछ। तिनैलाई तत्कालीन ३२ वटा टोलको रुपमा बुझ्न सकिन्छ। नेपालको इतिहासका कतिपय कुरालाई अलौकिक कथा, किम्बदन्ति र प्रतीकात्मक रुपमा व्यक्त गरिएको छ। यस आलेखमा उल्लेख गरिएका ३२ टोलका देवतता भनेका तिनै ३२ टोलका नाइके वा मुखिया नै थिए। कीर्तिपुरको बाघभैरव भनेको पनि त्यहाँको तत्कालीन गौंडापति प्रधान थिए। अस्तु।
ज्वागल, ललितपुर



लोकपाटी न्यूज

