वीरगञ्ज, ९ पुस । आफूले राखेको प्रेम प्रस्ताव अस्वीकार गरेपछि पर्साको पर्सागढी नगरपालिका वडा नम्बर १ बागवानाकी एक किशोरीमाथि छुरा प्रहार भएको छ ।
पर्सागढी नगरपालिका वडा नम्बर २ मा रहेको जनता उच्चमावि बढनिहारमा कक्षा ११ मा अध्ययनरत पर्सागढी नगरपालिका वडा नम्बर १ की शकुन्तला कुमारीमाथि सोही वडा भटनीका जय किशोर चौधरीले छुरा प्रहार गरेका हुन् । जयकिशोरले राखेको प्रेम प्रस्ताव अस्वीकार गरेपछि शकुन्तलामाथि छुरा प्रहार भएको प्रहरीले जनाएको छ ।
जयकिशोरले शकुन्तलालाई पटक पटक प्रेम प्रस्ताव राख्न दबाव दिदै आएका थिए । शकुन्तलाले जयकिशोरको प्रेम प्रस्ताव अस्वीकार गरेपछि उनले छुरा प्रहार गरेको प्रहरीको भनाई छ ।
छुराप्रहारबाट शकुन्तलाको शरिरको विभिन्न भागमा चोट लागेको छ । छुरा प्रहारबाट घाईते उनको वीरगन्ज स्थित नेशनल मेडिकल कलेजमा उपचार भईरहेको छ ।
छुरा प्रहार गर्ने जयकिशोरलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाईएको छ ।
छुरा प्रहारको घटनामा संलग्नलाई हदै सम्मको कारवाहीको माग गर्दै स्थानीय महिलाहरुले मनवा प्रहरी चौकी अगाडि प्रदर्शन गरेका छन् । आक्रोशित महिलाहरुले प्रहरी चौकी मनवाको कार्यालयको कम्पाउण्ड वाल समेत भत्काईदिएका छन् । प्रदर्शनमा उत्रिएका महिलाहरुलाई प्रहरी, सशस्त्र प्रहरी तथा जनप्रतिनिधिहरुले सम्झाई बुझाई गरेपछि घर फर्किएका छन् ।



लाेकपाटी न्यूज

