साउने संक्रान्तिको महत्व

Dr achutshali ghimire
लोकपाटी न्यूज

– डा.अच्युत शाली घिमिरे

आज साउने संक्रान्ति। आजबाट दिनहरु छोटा हुन्छन भन्ने विश्वास छ। बाढी पहिरोबाट बाचिँयो भन्ने आत्मविश्वासका साथ मनाइने साउने संक्रान्ति पछि चाडबाडहरु सुरु हुन्छन। नाग पंचमी,जनै पूर्णिमा,श्री कृष्ण जन्माष्टमी,तीज,दशैं तिहार जस्ता महत्वपूर्ण चाड पर्वहरु भित्रिन्छन्।

हामी सानै हुँदादेखि साउने संक्रान्तिलाई तिउरे लाउने र लुतो फाल्ने पर्वका रुपमा मान्थ्यौं। यो चलन सबै हामीलाई हजुरआमाले सिकाउँनुहुन्थ्यो किन कि संक्रान्ति मान्न हामी नाती नातिनाहरु मामाघर पुग्थ्यौं। अनि हामी साउने संक्रान्तिको दिन बिहानै उठेर घरघरमा तिउरे खोज्दैं हिड्थ्यौं र धेरै जम्मा पाथ्र्यौं। रातपाते,मकरकाची,परेवाको विष्टी सबै जम्मा पाथ्र्यौं। अनि हजुरआमाले बिहानको खानामा मिठो अनतिको लट्टे,गाभाको तरकारी,करेलाको अचार बनाउनुहुन्थ्यो। हामी मिठो मानेर खान्थ्यौं।

साउने संक्रान्ति पछि मैजारो गर्ने चलन गाँउघरमा अझै छ। लगभग रोपाइँ सक्किएपछि गोरुलाई नुहाइदिएर हलिलाई मिठो मसिनो खुवाउने चलन छ। त्यसपछिका तीनदिन सम्म गोरुलाई आराम दिएर कामकाजमा नलगाउने प्रचलन पनि छ। हामी बिहानको खाना खाइसकेपछि हजुरआमाको मिठा बातहरु सुन्दै बार्तलीमा बस्थ्यौं। नाति नातिनाहरुसँग रमाइलो गर्न पाउँदा हजुरआमा पनि मख्ख पर्नुहुन्थ्यो। हामी खित्का छाडेर हाँस्दा हजुरआमा हाम्रो हाँसोलाई दुई हलको हाँसो भनेर मापन गर्नुहुन्थ्यो। दुई हल गोरु लाग्ने बारीसम्म सुनिने हाँसो भएको हुनाले यसरी मापन गर्ने गाउँले चलन चल्ति रहेछ। हजुरआमा विगतका दिनहरुमा हाम्री आमालाई पढाउँन,हुर्काउँन मेलापात गर्ने गरेका दुःखका कथाहरु पनि सुनाउँनुहुन्थ्यो। घाँसका भारी बोकेरै बर्खामा बढेका खोलाहरु तरेर जिविकोपार्जन गर्नु परेका त्यतिबेलाका घटनाहरु सुनाउँनुहुन्थ्यो। दिउँसो दुधिला मकै पोलेर खादैं हामी हजुरआमाकै वरिपरि झुम्मिन्थ्यौं।

साँझ पर्न आटेपछि वरपरका हामी सबै केटाकेटीहरु लुतो फाल्नका लागि तम्तयार बस्थ्यौं। पूजाआजा धूपन कार्य गरेपछि हामीलाई पनि उसै गर्न भनेर हजुरआमा भन्नुहुन्थ्यो। लुतो, पिलो, खटिरा, पटिरा सबै हटिजा भन्दै हामी केटाकेटीहरु अगुल्टो फाल्थ्यौं। हामी बच्चै थियौं त्यसैले कस्ले टाढा पुर्याउने भन्दै होडबाजी गथ्र्यौं।पहिले पहिले घरघरमा चर्पी थिएन अनि खेतबारी नै अस्थाई चर्पी जस्तै हुन्थे। अनि तिनै खेतबारीमा असार भरि धान रोपाइँ गरेर आएपछि आउन सक्ने छाला जन्य रोगहरु लुतो र खटिराबाट बच्न र आइसकेको भए पनि यसलाई फाल्नका निम्ति साउने संक्रान्तिका दिन लुतो फाल्ने चलन रहेको कुरा हजुरआमा स्पष्ट पार्नुहुन्थ्यो।

लुतो फालेपछि खाना खाएर अब हामी तिउरे लगाउन हतार गथ्र्यौं। बिहान बटुलेका तिउरे,रातपाते र मकरकाची ढुंगामा थिच्थ्यौं। अनि त्यसमा अमिलो र परेवाको विष्टी पनि मोल्थ्यौं।अनि हजुरआमाले कर्कलाको पात काटेर ल्याउनुहुन्थ्यो। अगेनामा तोरीको तेललाई मनतातो बनाएर तताउनु हुन्थ्यो। अनि हामी हजुरआमाका अघि हाम्रा हातहरु पसाथ्र्यौं।पालै पालो हजुरआमा हाम्रा हातहरुमा तेल लगाइदिदै सबै चिज हालेर ठिक्क पारेको तिउरे लगाईदिनुहुन्थ्यो। अनि कर्कलाको पातले ढाकेर सुतरीको डोरीले बिस्तारै बानीदिनुहुन्थ्यो। हामी हाम्रा हातहरु जोगाएर आ-आफ्ना ओछ्यानमा जान्थ्यौं।राती हात चलाउन नपाउँदा र शरीर चिलाउँन नपाउँदा औधि अप्ठ्यारो हुन्थ्यो।तै पनि रातो तिउरे लगाएको हात सबैलाई देखाउँने चाहाले सबै अप्ठ्याराहरु भुलेर निदाउँने कोसिस गथ्र्यौं।र भुसुक्कै निदाउथ्यौं पनि।बिहान सबेरै उठेर हात पखालेर एक अर्कालाई देखाउन होजबाजी गथ्र्यौं। हजुरआमा पिँढीमा बसेर मुसुमुसु हास्नुहुन्थ्यो। कोसैको अरु औलाको तुलनामा बुढी औलामा बढि तिउरे गाढा भएको देख्दा हजुरआमा लौ जा अब सर्पले छेपारोको टाउको सम्झेर तिम्रो औला निल्छु भन्दै खिस्सि गर्दिनुहुन्थ्यो।हामी त छक्क पथ्र्यौं।उतिबेला हजुरआमा हुनुहुन्थ्यो अनि घरघरमा तिउरे पनि थिए। तर आजकाल बजारमा तिउरेको सट्टा मेहँदीका अनेक स्वरुपहरु आइसकेका छन्। उतिबेला खेतबारीमा काम गर्दा हिलोले हातगोडा खाने समस्याबाट बच्न तिउरे लगाउने चलन बहुउपयोगी थियो तर आजकल पनि तिउरे नपाउँदा मिसावट रहित मेहँदीको प्रयोग स्वास्थ्यका लागि लाभदायक नै मानिन्छ।

साउन महिना नारीहरुका लागि विशेष मानिन्छ। यस महिनामा नारीहरु व्रत बस्ने, हरियो, पहेँलो र रातो पहिरनमा सजिने गर्दछन र शृंगारमा पनि रङको विशेष संयोजन गर्दछन्। जसका लागि समेत तिउरे को उल्लेख्य महत्व हुने गथ्र्यो। धर्म, संस्कृति र सौन्दर्यसँग पनि जोडिएर आउने तिउरे लगाउने परम्पराले साउन महिनालाई तिउरे नै लगाउने महिनाका रुपमा चिनाएको थियो।

आजभोलि यो फेसन वा देखावटीका रुपमा मेहँदी लगाउने चलन विकास भएपनि परापूर्वकाल देखि नै आयुर्वेदमा महत्वपूर्ण औषधिका रुपमा शुद्ध मेहँदी बनाउने मेहँदी वृक्षु अर्थात हिन्नाु लाई हेर्ने गरिएको छ। तर अचेल बजारमा शुद्ध मेहँदी भन्दा पनि अशुद्ध र केमिकल मिसाईएको मेहँदी को बढ्ता प्रयोगले त्वचागत रोगहरु उत्पन्न हुने खतरा पनि संगसंगै बढेको पाईन्छ।

हाम्री हजुरआमाले त्यो परिवेशमा कसरी जानी होलिन साउने संक्रान्तिको महत्व अहिले सोचि ल्याउँदा समेत म धन्य हुन्छु। खेतापाती नै प्रधान वृत्ति बनाएकी सोझी हजुरआमा किंवदन्तीहरुमा साह्रै चाख राख्नुहुन्थ्यो। छर-छिमेकका अनेकौं टिका टिप्पणीमा प्रसंग अनुसार भानभक्तका रामायणका आदर्श फलाक्ने हजुरआमाले हामीलाई हाम्रा चाडबाड र रीतिरिवाजहरुमा अभ्यस्त र निपुण बनाउँदै लैजानुभएको थियो।जस्का लागि हामी हृदय देखि नै आभारी थियौं र छौं।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्