बि. एन ढकालको “आमाको आग्रह’’ (कविता)

Bedanath Dhakal
लोकपाटी न्यूज

मेराे काेखकाे एक सन्तान

मेराे काखमा हुर्किएकाे छाेरा

हेर्, एकपटक तँ आफ्नी

आमालाई

कति गर्छस् छलकपट

आफ्नी आमालाई दलदलमा फसाउन ?

तेरा झुपडीका आँगन र बलेँसीमा

बगाउँदै रक्तभेलहरु

तेरी आमाकाे वक्षस्थलमा सिँगाैरी खेल्दै

कति खान्छस् तिघ्राका चाेक्टाहरु ?

कति भत्काउँछस् रगतका आलहरु ?

म काे हाे ? थाहा छ तँलाई ?

लाखाैँ वीरवीरंगनाकी मालिक्नी हुँ म

तेरी जन्मदाता

रगतले सिर्जिएकी रक्तिम पृष्ठभुमी हुँ म

तेरी जीवनदाता हुँ ।

तँ काे हाेस् ?

थाहा छ तँलाई आफ्नो परिचय ?

मेराे प्रसवपीडासँगै जन्मेकाे बच्चाे तँ

मेराे काेखमा तैरिएकाे रक्तकण तँ

त्यसैले एकछिन धृष्टता गरेस्

कि, आफ्नी आमालाई छिन्नभिन्न गर्नुअघि

मेराे अस्तित्वका घैलाहरु फुटाल्नुअघि ।

मेराे प्याराे छाेरा

यी हजाराैं नदीनालाहरु जन्माउन

मेराे हिमालले सहेकाे प्रसवपीडा बुझ्छस् हैन ?

ओठमा लालीगुराँस ढकमक्क फुलाएर

त्याे पहाडले घुँघुरा बजाउँदा

पहेंलाे आँचल फिँजाएर छमछम

सुकुमारी तराई नाचेकाे सम्झन्छस् हैन ?

मेराे प्याराे छाेरा

तँ, तेरा भावी सन्ततिले

महाकालीकाे माझीले देउडा गाउँदा

मेचीकाे मेचेले बालन खेलेकाे हेर्न

साेलुकाे भाेटेले सेलाे गाउँदा

मधेसकाे मण्डलले नाचेकाे हेर्न

त्याग र बलिदानकाे ऋण बाेकाउने

ती वीर सहिदहरु सम्झन्छस् हैन ?

अनि किन तँ फेरि आज

बेलाबेला बहुलाउँछस् ?

र, जस्काे काखमा हुर्किस् उसैलाई

बिर्सिएर

कालाे सुरुङमा हुल्न खाेज्छस् अाफ्नै

आमालाई ?

किन घरिघरि पागल हुन्छस् ?

र, ती वीर सगरमाथाले बगाएका

नदीनाला

छिमेकीलाई आलुको भाउमा बेच्न

खाेज्छस् ?

ऊ हेर् त याे डिलमा

भक्ति थापा र बलभद्रकाे आलो रगत

काला गिद्धहरुले चुसिरहेका देख्छस् हैन ?

ऊ सुन् त मेची – महाकाली

कसरी जपिरहेछन् पृथ्वीनारायण

पृथ्वीनारायण ….. सुन्छस् हैन ?

अनि तँ किन फेरि आज

गुमाउँदैछस् मानवीय संवेदना ?

भुल्दैछस् मातृममता र स्नेह ?

धेरै भयाे छाेरा धेरै भयाे

हिजाेदेखि आजसम्म पनि

सुस्ता र टनकपुर राेइरहेछन् !

गण्डकी र काेसी आँसु बगाइरहेछन् !

भाेलि के गर्ने हुन् खै कुन्नि

हाम्रा ती अरुण थर्ड र अपर कर्णालीहरु !

भाेलि के भन्ने हुन् खै कुन्नि

हाम्रा ती फास्ट ट्रयाक र निजगढहरु !

भाेलि के हुने हाे खै कुन्नि

मेराे याे लाेभलाग्दाे रुप र बनाेट !

भाेलि के भन्लान् भावीसन्ततिले !

तर, याद गरेस् छाेरा

मेरा वीरवीरंगनाकाे साहस

इतिहासकाे स्वर्णिम पृष्ठमा लेखिएकाे छ ।

मेराे काेखकाे एक सन्तान

मेराे काखमा हुर्किएका छाेरा

म त तेरी आमा हुँ,

भगवान बुद्धकी स्वयम् माता

अब तैँले स्वयम्भुका आँखा बनेर

उदाउनुपर्छ

र विश्वबन्धुसँग हातेमालाे गर्दै

राेक्नुपर्छ, मेरा आँखाबाट बगेका आँसुहरु

चढेर मानवताकाे भर्याङ

चुम्नुपर्छ तैँले विजयकाे सर्वाेच्च
सगरमाथा !

त्यसैले छाेरा,

तेरी आमाको गर्धनमाथि उचालिएकाे

तरबार

तत्कालै फालिदे

बिन्ति !

याे नवयुगमा कालिदास बनेर

आफैँ बसेकाे हाँगाे काट्न नखाेज् !!

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्