डा. निमानन्द रिजाल
कोरोना संक्रमण विश्वब्यापी महामारीको रुपमा देखा पर्यो र आजको अवस्थामा आइपुग्दा (७ वैशाख २०७७) संसारभरमा १५४,००० (एक लाख चौवन्न हजारको मृत्यु र २४ लाखको हाराहारीमा संक्रमित छन्। नेपालमा ३१ जना संक्रमित छन् र ४ जना निको भएर घर फर्किएका छन्। यसमा नेपाल सरकारको प्रयास सरहानीय छ। विश्वका ठूला शक्तिसम्पन्न राष्ट्रहरुले पनि आफना नागरिकलाई बचाउन सकिरहेका छैनन्। लाखौंको संख्यामा संक्रमित छन्। संक्रमित र मृत्युको गणनामा यी शक्तिसम्पन्न देशहरुमा अत्यधिक देखिन्छ।
यस्तो अवस्थामा नेपाल सरकारले जे गर्यो, त्यो सरहानीय छ। स्थानीय सरकार र जनताको भरपुर सहयोग नभएको भए आजको न्युन संक्रमणको अवस्था शुन्य मृत्युदर हुनुमा सरकार, जन्ता र जनप्रतिनिधिहरुको प्रयास खुला दिलले प्रशंसा गर्नुपर्ने हुन्छ। सुरक्षा दस्तामा नेपाल प्रहरी, सैनिकले पनि अत्यन्तै खटेर काम गरिरहनुभएको छ। यस्तै डाक्टरहरु, नर्स, स्वास्थ्यकर्मीलाई पनि हृदयदेखि नै नमन गर्न मन लाग्छ। तपाईंहरुको अदम्य प्रयास र साहसको पनि खुलेरै प्रशंसा गर्नुपर्ने हुन्छ। श्रोत र साधनको कमी हुँदाहुँदै खटेर काम गर्ने स्वास्थ्यकर्मीहरु पनि नेपालमा कम छैनन् भन्न पाउँदा गर्व गर्नुपर्ने हुन्छ।
कतै योजनाबिहीन देखिनु र समय समयमा विवादमा तानिनु, मजदुरहरु बाटोमा हिडेर कोशौं घर पुग्ने प्रयत्न, सुरक्षा दस्ताले देखाएका केही ब्यवहारजस्ता अशोभनीय देखिएता पनि बिस्तारै कोभिड–१९ लाई परास्त गर्दैछाैं। “जिउ रहे घिउ पिउँला” भन्ने उखानलाई चरित्रार्थ पार्दै जिउने आधारहरुलाई धरासायी पार्न हुँदैन। सुरक्षित ढंगले “घिउ पिउने” बाटोहरुको अबलम्वन गर्यौं भने हामीले गर्न सक्छौं भन्ने विश्वसामु उदाहरण पेश गर्न सक्छौं। हामीसँग जीवन र जिउनुलाई साथसाथै लानुबाहेक अर्को विकल्प देखिँदैन।
कोरोना र विश्व अर्थ–व्यवस्था
कोरोनाले विश्व अर्थव्यवस्थालाई धरासायी बनाउँदै छ। सार्क देशहरुमा भारत, नेपाल र भुटानको मात्र अर्थतन्त्रमा गिरावट आएको छ, अहिले पनि नेपालको आर्थिक बृद्धि १.५ देखि २.५ प्रतिशत प्रक्षेपण विश्व बैंकले गरेको छ। यो भारी मात्राको गिरावट हो। अन्य सार्क मुलुकमा ऋणात्मक प्रक्षेपण गरेको छ। नेपालको जि.डि.पि.को करिब २५ प्रतिशत आम्दानी बिप्रेषणले गरेको छ। यो बिप्रेषणका मूख्य स्रोत रहेका खाडी मुलुकहरुमा पनि कोभिड–१९ को आतंक मच्चिएको छ। पेट्रोलियम पदार्थको मूल्य २१ वर्ष यताकै न्युन मूल्यमा झरेको छ।
यसले नेपालको बिप्रेषणबाट हुने आम्दानी प्रत्यक्ष असर पार्ने प्रष्ट देखिएको छ भने कतिपय युवाहरु कामबाट निकालिने र घर फर्कने अवस्था छ। खाडी क्षेत्रबाट आउने बिप्रेषणको भारी मात्रामा कटौती हुने प्रचुर सम्भावना देखिन्छ। यस्तै अन्य देशमा काम गर्न गएका युवाहरु पनि फर्कने अवस्था सिर्जना भएको छ। यसले हाम्रो अर्थतन्त्रमा असर पर्दछ। हरेक देशलाई आफनो नागरिक बचाउने र अर्थव्यवस्था कसरी सञ्चालन गर्ने भन्ने चिन्ताले सताइरहेको भेटिन्छ।
कोरोनाभाइरस भविष्यमा पनि बारम्बार आइरहने सम्भावना देखिन्छ। यसको औषधि बनाउन होडबाजी चलिरहेको छ। मानव जातिकै लागि ‘खुसीको खबर हो भने तर औषधि अहिलेसम्म पत्ता लागिनसकेको अवस्थामा अब आउने दिनहरुमा कसरी कोरोना फैलनबाट रोक्ने र अर्थतन्त्रलाई पनि खस्किनबाट बचाउने ? सबैका लागि चिन्ताको विषय हो। जीवन र जिउनेको सन्तुलन मिलाउने सरकार मात्र जनताको सरकार हो भन्ने नयाँ परिभाषा आइरहेको छ। शक्तिशाली देश भनिनेहरु यसबाट चुकिरहेका छन्। अरुलाई दोषारोपण गरेर जनता मर्नबाट बचाउन सक्दैनन्।
नेपालमा जीवन र जिउनेबीचको तारतम्यलाई कसरी अगाडि बढाउने आम बहसको कुरा हो। यसका लागि जनताको साथ आवश्यकता पर्दछ। हामीलाई कोरोनाले आर्थिक रुपमा पनि कमजोर बनाउँदै लगेको छ। कोरोनाबाट मुक्ति पाउँदै अर्थतन्त्रलाई पनि खस्किन नदिई अगाडि कसरुी बढ्ने ? हाँक बनेको छ।
अर्थतन्त्र अगाडि बढाउने उपाय
जीवन र जिउने अहिले विश्वभरिकै मानिसहरुको चिन्ताको विषय बनेको अवस्थामा हामी निम्न उपायहरु योजनावद्ध रुपमा लागू गरेमा जीवन र जिउनुलाई सन्तुलित रुपमा अगाडि बढाउन सक्छौं।
क) एरिया सिलबन्दी गर्ने – एरिया भन्नाले जिल्ला, ठूला शहर भन्ने बुझनुपर्दछ। यी क्षेत्रमा सञ्चालित उद्योग, कृषि, आयोजनाहरु सञ्चालनमा ल्याउने गर्नुपर्दछ। यसो गर्दा यातायातको व्यवस्था, स्यानिटाइजर, मास्क, सामाजिक दूरी कायम गर्दै अत्यावश्यक मानिसलाई मात्र पासको प्रयोगबाट हिड्ने व्यवस्था मिलाउने।
ख) ठूला उद्योगले कामदारको आन्तरिक रुपमा बसोबासको व्यवस्था मिलाउने – यसले काममा तीब्रता आउनुको साथै कोरोनाबाट सुरक्षित राख्छ र आम्दानी पनि बढ्छ। खानपिन आफै मिलाउन सक्छन्। पैदल दूरीका कामदारलाई पनि क्याम्प राखेर काम गराउन सकिन्छ। अथवा पास दिएर पिकअपको व्यवस्था मिलाउन सकिन्छ।
ग) स्कूल, कलेजहरुमा दुरसिकाइको माध्यमबाट पढाइ सञ्चालन गर्ने – कुनै विद्यालयले यो कार्य सुरु गरेका छन्, कसैले सुरु गरेका छैनन्। यो सबै परिवार केटाकेटीलाई सम्भव नहुन सक्छ, यसलाई विषयगत रुपको पढाइ टि.भी च्यानलबाट सञ्चालन गर्ने, गृहकार्य विद्यालयमा पठाउने र त्यहाँबाट चेक गर्ने। यो योजना बनाई लागू गर्न शिक्षा मन्त्रालय चुक्नु हुँदैन। विषय र कक्षाको पढाइको तालिका सार्वजनिक गरी हरेक विद्यालयहरुले आफना विद्यार्थीहरुको सम्पर्कमा बस्ने, गृहकार्य बटुल्ने विद्यार्थीसँग तालिका बाँड्ने।
घ) बितरण व्यवस्था मिलाउने – सिलबन्दीभित्रका ब्यापारीहरुलाई चाहिने सामानहरु ढुवानीका लागि सुरक्षित रुपमा ढुवानी मिलाउने। यसमा पास, चेकजाँच सिलबन्दी भएको बोर्डरमा मिलाउने। सामान ढुवानीमा पनि सबै सुरक्षित राख्ने।
ड.) कृषि उत्पादनको भण्डारन र बितरणको व्यवस्था मिलाउने – उखु किसानको उत्पादनको भुक्तानी समयमै मिलाउने र उखु ढुवानी र उद्योगहरु सञ्चालनमा ल्याउने।
च) सरकारी निकायका आयोजनाहरुमा पूर्ण रुपमा सञ्चालन गर्ने – यसको आपूर्ति सुरक्षित रुपमा सरकारले मिलाउने र हरेक कामदारहरु क्याम्पमै बस्ने व्यवस्था मिलाउने अत्यावश्यक देखिन्छ।
छ) मर्मत सम्भारका क्षेत्रहरु सिलबन्दी क्षेत्रमा खोल्ने – यसमा विद्युत, इन्टरनेट, पलम्बिंग, मोटर ग्यारेज आदि पर्दछन्। यी क्षेत्रलाई सुरक्षित रुपमा सञ्चालन गर्न सकिन्छ।
ज) बैंकिङ क्षेत्र – यसलाई पनि पासको व्यवस्था गरी बिहान ८ बजेदेखि १ बजेसम्म सुरक्षाका नियमहरु पालन गराउँदै खुला राख्ने। यसले नयाँ नयाँ लगानीका ढोकाहरु खोल्न प्रोत्साहित गर्ने। कृषि उत्पादनमा लगानी बढाउन सहयोग गर्ने। बिदेशबाट फर्किएका र रोजगार खोजिरहेका युवाहरुलाई प्रोत्साहित गर्ने। बिप्रेषण होइन, उत्पादनमा लाग्न सिकाउने र लगानी गर्ने वातावरणको निर्माण गर्न प्रोत्साहित गर्ने।
झ) निर्माणका आयोजनाहरु – यसका लागि स्थानीय सरकारलाई सक्रिय बनाउने। सुरक्षा प्रबन्ध मिलाई सुचारु गर्ने।
ञ) राहातको साथै कामको व्यवस्था : सरकारले प्राथमिकतामा राखेका सडक, आयोजनाहरु कृषि उत्पादनमा ध्यान दिने। यी क्षेत्रलाई युवाहरुको आयआर्जनमा सहयोग पुग्ने गरी सञ्चालनमा ल्याउने। युवालाई राहत होइन, रोजगारी दिएर संकटको सामना गर्ने।
समग्रमा भन्दा एरिया सिलबन्दी राख्दै उत्पादनमा जनतालाई जोड्न अत्यन्तै आवश्यक छ। समयमा यस कार्यलाई योजनावद्ध रुपमा गरिएन भने देशमा आर्थिक अवस्था बिकराल बन्दै जाने सम्भावना छ। योजनावद्ध रुपमा जनतालाई आर्थिक क्रियाकलापमा नलगाउने हो भने देशमा स्वतस्फुर्त विद्रोह उठ्ने सम्भावना, लुटपाटका घट्नाहरु बढ्ने देखिन्छ।
जनता, सरकार, उद्योगपति, बैंकर्सहरु एक ठाउँमा जुट्नुपर्दछ। हरेक राजनीतिक पार्टी, धार्मिक संस्थाहरुको सहयोगको आवश्यक पर्दछ। सार्वजनिक यातायात पहिलो चरणमा बन्द गर्दै, ढुवानी सवारीका साधनहरु सञ्चालनमा ल्याउने अथवा राज्य केन्द्रीत ढुवानीको व्यवस्था गर्ने। पास दिएका व्यक्तिहरु बाहेकलाई बाहिर निस्कन पूर्ण बन्देज लगाउनु पर्दछ।
राम्रो काम गर्ने सुरक्षाकर्मीलाई प्रोत्साहित गर्ने। भारतसँगका नाकाहरुलाई पूर्ण रुपमा मानिसहरु आवतजावत रोकिने गरी सिलबन्दी गर्ने। हामीले पहिलो चरणमा यति गर्न सकेमा जीवन र जिउनेको बिचमा सन्तुलन कायम गर्न सक्छौं।



लोकपाटी न्यूज

