गंगालाल तामाङ
चीनको बुहानबाट शुरु भएको कोरोना भाइरस जैविक हतियार हो भनेर ठूलै हल्लीखल्ली मच्चिएको छ। तर, बास्तविकता के हो ? अहिलेसम्म पनि रहस्यको गर्भमै छ। तर, यसले आजका दिनसम्म आइपुग्दा विश्वलाई विश्वयुद्धको अवस्थामा भन्दा पनि जर्जर बनाएको छ। लाखौं मान्छे यो भाइरसबाट संक्रमित भएका छन्। लगभग १ लाख ३५ हजारभन्दा बढी मानिसहरुले मृत्युवरण गरिसकेका छन्। विश्वका विकसित भनाउँदा देशसमेत रुवाबासीमा लागेका छन्। पुँजीवादको आडमा विश्वलाई नै आफ्नो पकडमा राख्दै आएका विकसित देशहरु एउटा भाइरसको भ्याक्सीन उत्पादन गर्न नसकेर तड्पिरहेका छन्।
नेपालले कारोना भाइरसको माहामारी फैलन नदिन गत बर्षकै चैत ११ गतेदेखि बन्दाबन्दी गरेको छ। जसको कारणले नागरिकहरु घरभित्र बस्न वाध्य भएका छन्। देशको आर्थिक क्रियाकलाप प्राय ठप्प भएका छन्। आजको एक मात्र आवश्यकता सर्वप्रथम आफू बाँच्ने अनि अरुलार्ई बचाउने हो। सरकारले भने अनुसार हामीसँग ६ महिनालाई पुग्ने सामग्री मौज्दात छ। छ महिनामध्ये एक महिना बितिसकेको छ। अब ५ महिनापछि खाद्य संकट आउन सक्छ। देशको अर्थतन्त्र टाट पल्टन सक्छ। यस्तो हुन नदिनलाई सरकार बेलैमा सचेत हुन आवश्यक छ। हरेक समस्या तथा संकटको वुद्धिमतापूर्वक सामना गरिएमा यो समस्या कम, अवसर बढी हुन्छ। विश्व नै आर्थिक मन्दीमा जाने अवस्थामा नेपालले भने यो भाइरसको संक्रमणको अवस्थालाई यसरी उपयोग गरी देशको अर्थतन्त्रलाई बचाउन सक्छ।
नेपालको प्रमुख समस्याको रुपमा भारतीय खुला सीमा रहेको छ। खुला सीमाको कारण भारतले आफ्नो सुरक्षा चासो भन्दै विगतदेखि नै नेपालमा हस्तक्षेप गर्ने तथा नेपालको बदनाम गर्दै आएको छ। इतिहासदेखि नै भारतमा संकट पर्दा भारतीयहरु खुल्ला सीमाको कारण नेपाल प्रवेश गर्ने गरेका छन्। भारतमा कोरोनाको संक्रमण फैलिएसँगै चोरबाटोबाट तुलनात्मक रुपमा सुरक्षित मानिसको नेपालमा भारतीयहरु दिनानुदिन नेपाल प्रवेश गरिरहेका छन्।
यसले गर्दा संक्रमण फैलिने सम्भावना त छँदैछ। यो संक्रमणपछिको समयमा आफ्नै नागरिकलाई रोजगारीको व्यवस्थापन चुनौतिपूर्ण बनिरहेको अवस्थामा यसरी प्रवेश गर्नेको कारणले देशको अर्थतन्त्रमा भयावह अवस्था सिर्जना हुने निश्चत छ। रोगको संक्रमण फैलिएको यो अवस्थामा भारत पनि खुल्ला सीमा बन्द गर्ने विषयमा सकारात्मक हुने भएकाले सरकारले कुटनीतिक छलफलमार्फत खुला सीमामा तारजाली लगाउने निर्णय गर्नसक्ने अवस्था छ। यसो गर्न सकेमा नेपालको राष्ट्रियताको पक्ष बलियो हुने अवस्था उत्पन्न हुन्छ।
कारोना भाइरसले मानिसलाई परम्परागत जीवनशैली अपनाउन सम्झाइदिएको छ। हामीले आधुनिकताका नाममा हाम्रो मूल्यमान्यता, जीवनशैली, स्थानीय ज्ञानसीप, पूर्वीय दर्शन, सभ्यता सबैलाई नजरअन्दाज गरेका थियौं। तर, यो महामारीसँगै अब हाम्रा पूर्खाले विकास गरेका मूल्यमान्यता, जीवनपद्धति, संस्कार, संस्कृतिको समेत दिनानुदिन अभ्यास गर्नु अत्याआवश्यक देखिएको छ। जसबाट संक्रमणको अवस्थामा समेत सहजै संक्रमणबाट मुक्त हुन सकिन्छ। यसले गर्दा हामीले हाम्रो आफ्नै संस्कृति, संस्कार विकास गर्न सकिन्छ। भनिन्छ, जोसँगै आफ्नो पराम्परागत संस्कृति छैन, ऊ सधैं शरणार्थी हुन्छ।
बन्दाबन्दीको अवस्था लम्बिँदै जाँदा आर्थिक गतिविधि प्राय ठप्प भएका छन्। हामी आयातमा निर्भर हुँदै गइरहेका छौं। विश्वभरि नैै कोरोना भाइरसले समस्या पारेकाले आफ्नो देशलाई नपुगेसम्म कुनै देश निर्यातका लागि तयार हुँदैनन्। यसले गर्दा हामी फेरि नाकाबन्दीकै अवस्थामा पुग्छौं। खाद्य संकट निम्तिन सक्छ। यसका लागि हामीले आजैबाट आफै उत्पादनमा जोड दिनुपर्नेछ। कम्तीमा पनि अब हामी खाद्यान्नमा आत्मनिर्भर हुनु प्रमुख आवश्यकता छ।
नागरिकहरु अहिले गाउँगाउँमा पुगेका छन्। उनीहरुलाई स्थानीय उत्पादनमा लगाई कृषकलाई खेतीकर्म गर्न प्रोत्साहित गरौंं। असहज अवस्था भएपनि मलखाद, बिउविजन र औजारको सहज उपलब्धता गराइदिउँ। गाँउ फर्केका युवालाई गाउँमै स्वरोजगार बन्न पे्ररित गरौं। सुरक्षित रहँदै कृषिलाई चलायमान बनाउँदै खाद्य संकट आउन नदिउँ।
विश्वका विभिन्न देशमा रोजगारीको सिलसिलामा ४० लाखभन्दा बढी नेपाली कार्यरत छन्। उनीहरुमध्ये धेरैको रोजगारी गुम्ने अवस्था आउँदैछ। उनीहरु नेपाल फर्किएपछि रेमिट्यान्सले चलेको अर्थतन्त्र थला पर्ने निश्चित छ। विदेशमा रोजगारी गरिरहेकाहरुसँग सीप छ, केही मात्रामा पुँजी पनि छ। त्यसैले उनीहरुको सीपको प्रयोग गर्दै स्थानीय उत्पादन तथा मझौला उद्योग सञ्चालनको तयारी शुरु गरौं। उत्पादनलाई स्थानीय सरकारमार्फत् सरकारले खरिद गरी बजारीकरण गर्नेतर्फ आजकै दिनदेखि तयारी गरौं।
बिकसित भनाउँदा देशको विकासको मुखुण्डो कोरोनो नामक भाइरसले उदाङ्गो पारिदिएको छ। जसरी अहिले विश्वको विकासको गति अगाडि बढेको छ। यसबाट मान्छे सुरक्षित हुन नसक्ने प्रमाणित भएको छ। त्यसकारण अब नेपालले जडिबुटीको खेतीलाई प्रोत्साहन गर्नुपर्ने अवस्था आएको छ। नेपाललाई जडिबुटीको भण्डारसमेत भन्ने गरिन्छ। हाम्रो वरिपरिका झारदेखि लिएर जङ्गलसमेत जडिबुटीयुक्त छन्।
प्रत्येक जडिबुटीको उपयोगिता पत्ता लगाउँ। किसान लाई जडिबुटी खेतीतर्फ आर्कषित गराउँ। जडिबुटीको संकलन तथा प्रशोधन सरकारी तवरबाट गरौं। अबको विश्व आयुवेर्दिक उपचार पद्धतिमा आकर्षित हुँदै जाने निश्चित छ। त्यसकारण महामारीको समयमा नागरिकलाई जडिबुटीको खेतीमा लाग्न प्रेरित गरौंं। यसमा लाग्दा संक्रमणको जोखिमसमेत कम छ।
नेपालीहरुको एउटा विशेषता भनेको चाडै बिर्सने बानी हो। भूकम्पले जर्जर बनेको अवस्थामा भारतले नाकाबन्दी लगाइदिँदा उत्पादनमा आधारित अर्थतन्त्र निर्माण गर्ने संकल्प हामिीले गरेका थियौं। तर नाकाबन्दी खुलेसँगै हामीले संकल्प बिर्सियौँ र आयातमै भर पर्यौं। समयले सधैं अवसर दिँदैन। तर हामीलाई फेरि आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने मौका दिएको छ। अब भने यसलाई सदुपयोग गर्न जुटौं।
न्त्यमा, संकटको बेला नेताको बास्तविक पहिचान हुने गर्छ। वर्तमान सरकारले कोरोना नियन्त्रण तथा रोकथाम गर्दै मुलूकलाई समृद्धिको यात्रामा लगाउने अभुतपूर्व अवसर प्राप्त गरेको छ। सरकारमा रहने साथीहरु तपाई सधैं सत्तामा रहनु हुन्न। जनताले हिसाब मागेको दिन रछ्यानमा पुग्नुहुन्छ। दम्भ नदेखाउनुहोस्। सबैको सुझाव तथा सहमतिलाई समेटेर अगाडि बढ्नुहोस्।
यही मौका हो, आफ्ना विपक्षीलाई भित्तामा पुर्याएर सिध्याउँछु भनेर, खाल्डो खन्छु भनेर लाग्ने भए विचार गर्नुहोस्। तपाई स्वयं खाल्डोमा पर्न सक्नुहुन्छ। संकटका बेला राजनेताका रुपमा मुलूकको नेतृत्व गर्ने कि कात्रोमा समेत कमिसन खाने भ्रष्टाचारीको संरक्षण गरी कम्युिनष्ट आन्दोलनलाई नै बद्नाम गराउदै मुलूकलाई संकटमा पार्ने ? आगे तपाईको मर्जी।



लोकपाटी न्यूज

