‘खुला सीमा सधैंका लागि बन्द गरौं’

Priya devkota
पीडित स्वयंलाई थाहा हुँदैन ऊ बेचिँदैछ भनेर। अशिक्षित र गरीब परिवारका चेलीबेटीलाई झुक्याएर दलालहरु बिहे गर्छन्, अनि थाहै नदिएर भारतमा अनेको ठाउँमा बेच्ने गरेको पाइएको छ। साना बालबालिकलाई रोजगारीको लालच दिएर बेच्ने गर्छन्। केही वर्ष अगाडि चेलिबेटीलाई देह ब्यापारमा संलग्न गराउन बेचिएको पाइए पनि अहिले भने मूख्यतः अङ्ग प्रयारोपनका लागि बालबालिकालाई प्रयोग गरेको पाइन्छ।
लोकपाटी न्यूज

प्रिय देवकोटा

तपाईं हामी सबैलाई अवगत नै छ, हाम्रो देश नेपालको अधिकांश जिल्लाहरु छिमेकी मुलूक भारत र चीनसँग जोडिएका छन्। भारत र नेपालबीच खुला सीमानाका कारण नेपालका धेरै जिल्लावासीहरु दैनिक उपभोग सामग्री पनि भारतबाट नै आयात गरेको पाइन्छ, फलतः यसले देशको अर्थतन्त्रमा समेत असर गरिरहेको छ।

त्यति मात्र नभएर भारतसँगको खुला सीमाका कारण अबैध कारोबार एवं चोरी डकैती पनि हुने गरेको पाइन्छ । अबैध कारोबारअन्तर्गत मानव बेचबिखन (चेलीबेटी बेचबिखन) पनि एक हो। देशको अर्थतन्त्र र राजनीतिक उतारचढावका कारण देशमा सोचेजस्तो र पर्याप्त रोजगारी नभएको हुनाले निम्न वर्गीय मानिसहरु रोजगारीको खोजीमा भारत प्रवेश गर्ने गर्दछन्। यो हाम्रो राष्ट्रिय समस्या हो।

मानव बेचबिखन सजिलै पत्ता लगाउन सकिन्नँ। किनकि पीडित स्वयंलाई थाहा हुँदैन ऊ बेचिँदैछ भनेर। अशिक्षित र गरीब परिवारका चेलीबेटीलाई झुक्याएर दलालहरु बिहे गर्छन्, अनि थाहै नदिएर भारतमा अनेको ठाउँमा बेच्ने गरेको पाइएको छ। साना बालबालिकलाई रोजगारीको लालच दिएर बेच्ने गर्छन्। केही वर्ष अगाडि चेलिबेटीलाई देह ब्यापारमा संलग्न गराउन बेचिएको पाइए पनि अहिले भने मूख्यतः अङ्ग प्रयारोपनका लागि बालबालिकालाई प्रयोग गरेको पाइन्छ।

एक देश वा क्षेत्रबाट अर्को क्षेत्रमा कुनै पनि व्यक्ति गैरकानुनी रूपमा परिवहन गर्ने कार्य वा अभ्यास, सामान्यतः जबरजस्ती श्रम तस्कर वा यौन शोषणको उद्देश्यका नियतले गरिने कार्यलाई मानव बेचबिखन भनिन्छ। मानव तस्करी आफ्नो फाइदाका लागि अर्को मानवको स्वतन्त्रता चोरी गर्ने ब्यवसाय हो। पीडितहरुलाई अमानवव्य, अवैधानिक वा अवस्थाअन्तर्गत काम गर्न कुटपिट, धम्की वा हेरफेर गर्ने काम गरिन्छ। यो एक करोडौं डलरको अपराधिक उद्योग हो, यसरी विश्वभरिमा २४.९ मिलियन मानिसको स्वतन्त्रता खोसिएको छ।

अधिकांश महिला र बालबालिकालाई बिभिन्न प्रलोभन देखाई भारत पुर्‍याइने गरिएको छ। मानव बेचबिखन र लैंगिक हिंसाविरूद्ध लामो समयदेखि कार्यरत संस्था आफन्त नेपालका अनुसार वर्षेनि १५,००० देखि २०,००० सम्म बिशेषगरी महिला र बालबालिकालाई भारत र भारत हुँदै विभिन्न मुलुकमा पुर्‍याइन्छ। उनीहरुलाई दलालले श्रम एवं रोजगारीको लालच देखाए पनि मुख्य उदेश्यचाहिँ जबरजस्ती यौन व्यवसाय र अङ्ग प्रत्यारोपण हो। मानव बेचबिखनमा १८ बर्ष मुनिका बालबालिका पनि पर्दछन्, वर्षेनि १२,००० बालबालिका भारत भित्रिएको पाइएको छ।

नेपाल सरकारले घरेलु कामदारका रुपमा महिलालाई बैदेशिक रोजगारीका लागि बिदेश जान प्रतिबन्ध गरेपछि भारत हुँदै मध्यपूर्वका बिभिन्न देशहरुमा रोजगारीका लागि जाने महिला दिदीबहिनीहरु अझ उच्च जोखिममा रहेको पाइएको छ। आफन्त नेपाल संस्थाले मात्र सीमानामा २०००० भन्दा धेरैलाई परामर्श दिने र स्वयं भारतबाटै पनि १०० उद्दार र स्वदेशफिर्ती गर्ने गरेको छ भने १००० चाहिँ नेपाल भारतका बिभिन्न सीमानाबाट भारत प्रवेश गर्नु अगाडि नै उद्दार गर्ने गरेको छ।

बिगतका दिनमा मानव बेचबिखनविरुद्ध थुप्रै अभियान सञ्चालन गरिएको थियो। तर खुला सीमाका कारण चाहिँ सोचे जति सफल हुन नसकेका ती अभियानलाई लकडाउनले भने पूर्णता दिने प्रयास गर्दैछ। बर्तमान समयमा लकडाउन प्रभावकारी रुपमा प्रस्तुत भइरहेको छ। मानव बेचबिखनविरुद्ध मात्र नभएर खुला सीमाका कारण घट्ने बिभिन्न अपराधिक क्रियाकलाप समेत न्युन हुन थालेका छन्।

२०७२ सालको महाभूकम्पको बेला नाकाबन्दी हुँदा समस्यामा परेका नेपाली जनता अहिले आफै आफ्नै देशमा आत्मनिर्भर हुन थालेका छन्। अहिलेको यो कदम भोलिका दिनमा देश विकासका लागि भविष्यमा महत्वपूर्ण भूमिका खेल्ने छ। आखिर सीमा बन्द हुँदा पनि हामी बाँच्न सक्ने रहेछौं। लकडाउनकै समयमा खुला सीमा सधैका लागि बन्द गर्दा कसो होला ?

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्