कोभिड–१९ : नेपालविरुद्ध ‘प्रोक्सी वार’मा भारतीय साम्राज्यवाद

Omprakash Pun
अमेरिकी साम्राज्यवादका नाइके डोनाल्ड ट्रम्प र भारतीय साम्राज्यवादका नाइके नरेन्द्र मोदी दुबै नश्लवादी शासक हुन्। डोनाल्ड ट्रम्पको प्रथम अमेरिका भनेको क्रिश्चियन धर्म, गोरो जाति, अङ्ग्रेजी भाषा र अमेरिकी पूँजीवादको सर्वोच्चता हो भने नरेन्द्र मोदीको मेकिङ भारत वा महान भारत भनेको हिन्दू धर्म, आर्यसमुदाय, भारतीय संस्कृति र भारतीय पूँजीवादको सर्वोच्चता भनेको हो। यी दुबै शासकहरु अल्पविकसित देश, श्रमजीवी जनता र मुस्लिम समुदायका दुश्मन हुन्।
लोकपाटी न्यूज

ओमप्रकाश पुन

पर्सा जिल्ला जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ मुखियालाई जोडेर भारतीय मिडियाले हिजोदेखि लगातार सम्प्रेसित समाचारले सिङ्गो नेपाली जगतलाई तरंगित पारेको छ। भारतीय सिमा सुरक्षाबल (एसएसबी) को रिपोर्टको हवला दिएर जालिम मियाँ मुखियाले नेपालबाट ४०–५० जना कोरोना संक्रमित मुस्लिमहरुलाई भारत पठाएर सिङ्गो भारतलाई कोरोना प्रभावित गर्न खोजेको आरोप लगाइएको छ। यो दुई देशबीचको मैत्री तथा कुटनीतिक क्षेत्रमा निकै ठूलो र अत्यन्त गम्भीर सवाल हो। यो विषयमा नेपाल पक्षले पनि यथाशिघ्र छानबिन गर्नुपर्छ र आफ्नो धारणा सार्वजनिक गर्नुपर्छ।

यदि यो कुरा पुष्टि भएन भने भारतीय पक्षद्वारा नेपालको राष्ट्रिय सार्वभौमिकतामाथि गरेको नाङ्गो हस्तक्षेप सावित हुनेछ। जालिम मिया मुखिया नेपाली नागरिक मात्रै नभएर उनी स्थानीय जनप्रतिनिधि र सरकारी डबल नेकपाका नेता पनि हुन्। उनले ४०–५० जना कोरोना संक्रमित मात्रै होइन, करिब दुई सय जति पाकिस्तानबाट आएका भारतीय मुस्लिमलाई एउटा मस्जिदमा राखेर अवैध तरिकाले भारत पठाउन लागेको आरोप लगाइएको छ।

भारतीय न्युज च्यानल जि न्युज लगायतका मिडियाले यसलाई निकै जोडतोडका साथ समाचार प्रसारित गरिरहेका छन्। यसभन्दा अघि जब चाइनामा मात्रै कोरोना देखापरेको थियोे, त्यतिबेला पनि भारतीय मिडिया जि न्युजको डिएनए अर्थात् डेली न्युज एनालाइसिसमा अब चीनसँग सामाजिक दुरी मात्रै होइन कि विश्वले आर्थिक दुरी पनि कायम राख्नुपर्छ र चीनमा सञ्चालित बहुराष्ट्रिय कम्पनीहरु निकालेर भारत, मलेसिया, कतार, इण्डोनेसिया लगायतका देशमा ल्याउनुपर्छ भन्ने समाचार प्रसारण गरिएको थियोे।

यसै सन्दर्भ श्रोतको रुपमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानी प्रधानमन्त्री शिंजो आबेको विचारलाई लिइएको थियो, जो देश अहिले आफै कोरोनाको उच्च जोखिममा छन् र उल्टै तिनलाई चीनले सहयोग गरिरहेको छ। यो भनेको समाजवादी मुलुकप्रतिको साम्राज्यवादी हमला थियोे। अहिले जालिम मिया अन्सारी (मुखिया) को नाममा भारतीय पक्षले गरेको मिडिया प्रचार पनि नेपालको सार्वभौमसत्तामाथिको भारतीय साम्राज्यवादी हमला हो। जसलाई अझ थप स्पस्ट निम्न बुँदाहरुमा गर्न सकिन्छ।

(१) नेपालमा हालसम्म देखा परेका ९ जना कोरोना संक्रमित भनेका भारत र अन्य देशबाट आएका मात्रै छन्। नेपाल अहिलेसम्म पनि कोरोनाको उच्च जोखिममा छैन। बरु भारतमा अहिले मर्नेको संख्या ३ सय बढी र संक्रमितको संख्या ८ हजार बढी भएकाले खतरा नेपालबाट भारतलाई होइन कि भारतबाट खतरा नेपाललाई छ। फेरि जालिम मुखियाले पठाउन लागेका भनिएका संक्रमित पनि भारत प्रवेश नगरेको र सिटामोल खाएर नेपालकै मस्जिदमा रहेको भन्ने भारतीय मिडियाकै समाचारले पनि यसको आफै खण्डन गर्छ। यो भ्रामक ‘प्रोक्सी वार’ हो।

(२) जालिम मुखियालाई कोरोना फैलाउने उद्योग गरेको भनिए तापनि त्यसमा भारतीय मिडियाले उनलाई अवैध हतियार, लागूऔषध र जाली नोटको कारोबार गर्ने अपराधी भनेकाले यो कोरोनाभन्दा पनि अन्य उद्देश्यले अभिप्रेरित न्युज जस्तो देखिन्छ। यदि यसो हो भने यो नेपाली र भारतीय लगायत सिंगो मुस्लिम समुदायमाथिको भारतीय हस्तक्षेप हो। यदि त्यसो नभए आफ्नै देशका भनिएका मुस्लिमलाई भारत पठाउदा किन यत्रो आपत्ति ? नेपालमा पनि यदि कोही समुदाय भारतबाट असुरक्षित छ भने त्यो मुस्लिम समुदाय नै हो। नेपालका मुस्लिम अगुवाहरुको हत्या लगातार भारतीय पक्षले गर्दै आएको इतिहास साक्षी छ।

(३) कोरोनाको महामारीको कारण भारत र नेपाल दुबै देशमा लकडाउन गरिएको छ। यसलाई थप बलियो बनाउन नेपाल पक्षले सीमानामा व्यापक सशस्त्र प्रहरी परिचालन गरेको छ। कोरोना प्रभाव र सुरक्षा संवेदनशीलताका कारण नेपालबाट भारत होइन। बरु, भारतबाट नेपाल आउने मानिसको संख्या धेरै छ र नेपाली मात्रै नभएर भारतीय नागरिक पनि नातागोताको संरक्षणमा नेपाल आइरहेको समाचार सम्प्रेषण भइरहेका छन्। त्यसकारण भारतीय मिडियाको यो समाचार भ्रामक र राजनीतिक अभिप्रेरित छ। यो भारतीय सत्ताधारी वर्गको असक्षमतालाई ढाकछोप गर्न ल्याइएको गलत अफवाहसिवाय केही होइन। यस्ता गलत लालछनाले नेपाललाई होइन, भारतलाई नै नोक्सानी गर्छ र सबैभन्दा झूठो बोल्ने भनेका भारतीयहरु नै हुन् भन्ने विश्व मान्यतालाई पुष्टि गर्छ।

(४) अमेरिकी साम्राज्यवादका नाइके डोनाल्ड ट्रम्प र भारतीय साम्राज्यवादका नाइके नरेन्द्र मोदी दुबै नश्लवादी शासक हुन्। डोनाल्ड ट्रम्पको प्रथम अमेरिका भनेको क्रिश्चियन धर्म, गोरो जाति, अङ्ग्रेजी भाषा र अमेरिकी पूँजीवादको सर्वोच्चता हो भने नरेन्द्र मोदीको मेकिङ भारत वा महान भारत भनेको हिन्दू धर्म, आर्यसमुदाय, भारतीय संस्कृति र भारतीय पूँजीवादको सर्वोच्चता भनेको हो। यी दुबै शासकहरु अल्पविकसित देश, श्रमजीवी जनता र मुस्लिम समुदायका दुश्मन हुन्। अहिले कोरोनाले अमेरिकाको बाइवलीय पूँजीवाद र भारतको हिन्दूवादी पूँजीवादलाई असफल पारिदिएको छ। यसै असफलताको आवरणमा आएकोे हो नेपालबाट भारतमा कोरोना प्रवेशको चित्कार। यसलाई पूँजीवादी राजनीतिक चरित्रका रुपमा लिनुपर्छ।

(५) सारमा भन्ने हो भने यो भारतीय पक्षद्वारा नेपालको सार्वभौमिकता र मुस्लिम समुदायमाथिको नाङ्गो हस्तक्षेप हो। सरकारी नेकपाका दोश्रो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोनाका बिरुद्ध भारतसँग मिलेर लड्ने अभिव्यक्ति दिए संगसंगै यो सवाल भारतीय मिडियामा उठेको छ। विषय उठानका पात्र पनि स्वयं सरकारी पार्टीकै जनप्रतिनिधि भएकोले यसमा सम्बन्धित पक्ष गम्भीर भएर छानबिन गरोस् र आधिकारिक धारणा सार्वजनिक गरोस्। दोषी भए कार्वाही गरोस्। होइन भने सरकार र सरकारी पार्टी पनि त्यसको मतियार साबित हुनेछ। तर नेपाली जनताले भने राष्ट्रिय सार्वभौमिकतामाथिको हस्तक्षेपका बिरुद्ध संघर्ष जारी राख्नेछन्।

(पुन विद्रोही नेकपाका नेता हुन्।)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्