प्रिय मान्छे उच्च सम्मान !

Prem Rimal
लोकपाटी न्यूज
  • प्रेम रिमाल

संसार कोभिड १९ बाट आक्रान्त छ। करिव छ लाख जतिलाई यसले भौतिक रूपमै छोयो। बाँकी संसारमा कोरोना भाइरसले भूत (!) बनेर आतङ्क मच्चाइरहेको छ।  मान्छेका सबै प्रयत्न जीवनका निम्ति हुन्। जब जीवन सङ्कटमा परेको अनुभूति हुन्छ तब साङ्गहरू दौडिन थाल्छन् ,विकलाङ्गहरू रून कराउन।

कोरोनाले दौडिन सक्ने र नसक्ने, शक्तिशाली र अशक्त, पहिलो विश्वको र तेस्रो विश्वको भनेर भेदभाव गर्दैन। नत पण्डित र लामाहरू न त पादरी र मौलानाहरू सबैका लागि यतिबेला कोरोना कहर अपूर्व भोगाइ बनेको छ। संसार हाम्रो हो भन्ने अझ एउटा युगको राजनैतिक र सामरिक महामारी बेलायतको प्यालेस र वेष्टमिनिष्टरका रक्षाकवचहरू तोडेर कोरोना राजकुमार र प्रधानमन्त्रीमाथि जाइलागेको छ।

यस्तो अवस्थामा हामी जस्ता मागेर युरोपेली जिन्दगी बाँच्न पल्केकाहरूको सुरक्षा कसले गर्दिने होला ! हामी आफैंले मात्र यो समस्याको समाधान गर्न सकिन्छ। नेपालको स्वतन्त्रता दिवस छैन। हामी कहिल्यै पराधीन नहुनु क्यालेण्डरमा यो पर्वले स्थान नपाउनुको कारण हो।

हो, तात्कालिक सापेक्षतामा सुविधा र तालिमले सुसज्जित सेनाहरूलाई टाकुरामा बसेर ढुङ्गा लडाएरै अनि लुकेर अरिङ्गालका गोलामा ढुङ्गा हानेरै हाम्रो इतिहासको क्यानभासमा रगतलाई रङ बनाएर स्वतन्त्रताको नक्शा कोर्ने काम हाम्रा अग्रजहरूले गरेका हुन्। यतिवेला स्रोत साधन नभए पनि जित्न सकिन्छ भन्ने विगतका नजिरहरूलाई सम्झेर व्यवहार गरौं। कोरोनामाथिको जित पनि हाम्रै भागमा पर्नेछ।

केही समय एकान्तवास अरू थपिने छ। हामीले हार खानु हुँदैन। सरकारले गरेको आव्हानलाई स्वीकारेर चल्नुपर्छ। समस्या कोरोनाकोभन्दा भोकको हुनेछ। हामी हुनेखाने पनि छौं, भए खाने पनि। गरिखाने पनि छौं बसिखाने पनि। काम गर्नेहरूसँग सञ्चय गर्ने सामथ्र्य छैन। धैरै बेलेर रोटी बन्दैन। भोक नै भयमाथि विजय पाउनका लागि प्रयोग भएको प्रामाणिक हतियार हो। त्यसैले यो हतियारको प्रयोग गर्नपर्ने परिस्थिति सिर्जना हुनबाट समाजलाई रोकौं। नखाए मरिन्छ भन्ने भयले गर्दा मान्छे अन्तिममा भकारी भत्काउन निस्कन्छ। त्यसैले अब हाम्रो नजिकमा भएका दैनिक ज्यालादारी गरेर बाँचेका मान्छेहरूको बारेमा सोचौं।

ठूला-ठूला महल, गोदाम र सेप ( लकर ) बनाउने पनि यीनै हुन् र भत्काउन पर्दा पनि यीनीहरूकै प्रयोग हुन्छ। यो सत्यलाई बुझेर काम गरौं। त्रिपिटक, कुरान, बाइबल र पुराण सबैमा भएको कुरा एउटै हो, सबै जीवनको मूल्य समान हुन्छ। तर केही लोभी पापीले आफ्नो कम्पनीको उत्पादनको मार्क प्राइज बढी टाँसिदिए झैं तेरो र मेरोको भनेर अब्बल र दोयम बनाएर कित्ताकाट गरिदिँदा संसार रछानसमान बनेको हो। अब यो विपत्तिको सामना गर्न वास्तविक भौतिक दूरी बढाउने र मानवताको दूरी घटाउने प्रण गर्नुपर्छ। हाम्रो समाज धर्म्भिरू भनिन्छ।

अब परीक्षाको घडीमा छौं हामी । आफूले खाने बेलामा अर्काे कुनै भोक चपाएर बसेको देवतालाई सम्झने गरौं। नखाने मुर्तिमा स्याउ सुन्तला चढाउने, अर्घ र अलङ्कार चढाउने हामीले कोरोना कहरबाट बच्ने साझा लडाइँमा बाँडेर खाउँ मिलेर बाँचौको भजनलाई भजेर होइन अपनाएर देखाउनु आवश्यक छ। व्यक्ति प्राकृतिक सत्ता हो । अथवा व्यक्ति आफू व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाका सबै अधिकार एकैपटकमा प्रयोग गर्न सक्छ।

भान्सामा बनेको आँटोपिठो बाँडेर खानलाई न अख्तियारले रोक्छ न कुनै कानूनले। न त बाँड्नका लागि कुनै अध्यादेश जारी गर्नपर्छ। त्यसैले मबाट हामी बनेर हिँड्ने बाचा गरौं। उमेरका बालबालिका र बृद्धबृद्धालाई जसरी अग्राधिकार र आरक्षणको कुरा गरिन्छ यतिवेला अभावका कारण अस्तव्यस्त बन्न लागेकाहरूलाई प्राथमिकतामा राखौं ! साबुन पानीले धोएर त हात मात्र सफा हुन्छ। अब विचारले धोएर मनलाई सुकिलो बनाउनु पर्छ। घर सफा, शरिर सफा त गरेकै छौं, अब मन सफा गर्ने बाचा गरौं !

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्