देश पशुपतिनाथमा हाेइन, सेताेकाेटधारी भगवानकाे हातमा छ

Achyutshali Ghimire
लोकपाटी न्यूज
  • डा.अच्युत शाली घिमिरे

महामारी कोरोनाको

त्रासहरुमा

इमेरजेन्सी वार्डका

भीडहरुमा

बिरामीका दुखाईहरुमा

हाकिमका थर्काईहरुमा

छिटो गरिदिनुस् न

भन्ने बिरामी आफन्तका

गुनासोहरुमा एउटा स्वास्थ्यकर्मी

हरतरह तैनाथ भईरहेको हुन्छ

जसरी

युद्ध स्तरमा खटिएका

सेनाहरु तैनाथ हुन्छन्

हर बखत

हर समय

तर पनि भएका केही

कमजोरी र असजिलोहरुमा

हामीले पनि त बुझिदिनुपर्छ

आखिर स्वास्थ्यकर्मी पनि

त मान्छे न हो

कुनै औजार त होइन नि!

 

तपाईको जस्तै

उस्को पनि त घरमा

प्यारी श्रीमती छिन्

स्कूल पुर्याउन पर्ने बालबच्चा छन्

रोगी बाबु आमा छन्

सम्हाल्नु पर्ने सिंगो घर र व्यवहार छ

तै पनि त उ

रातदिन नभनी

बिरामी कै सेवामा

जीवन धान्न मात्र काफी

सरकारको रासन पानी

खाएर

खटिएकै त छ!

अलिकति सोचिदिनुस् त

कति आफ्ना पीडाहरु

मन भित्रै राखी

स्वास्थ्यकर्मीले तपाईसँग मिठो बोलेको हुन्छ!

त्यसैले त औषधिको डोज भन्दा

स्वास्थ्यकर्मीको मुस्कान तपाईलाई

शक्तिशाली लाग्छ,

स्वास्थ्यकर्मीले गर्ने नम्र

व्यवहारले तपाईलाई

कति चाडै निको बनाउछ !

 

देख्नेहरुलाई

सेतो एप्रोन र चिटिक्क पोसाकमा

रहरलाग्दो छ पेशा,

सरकारलाई

बिरामीको रोग किन

च्याट्टै पारिनस् भनेर

स्पष्टीकरण सोध्नलाई

कष्टदायी छ पेशा,

घर पुग्दा अध्यारो हुन्छ

घरबाट निस्कदा

बल्ल घाम झुल्किन्छ,

छोराले

ड्याडी भन्न पाउदैन

दमका रोगी बाबुलाई

तातो पानी खुवाउन पाईदैन,

थाकेर बेलुका चाडै सुतिन्छ

आडैमा सुतेकी

श्रीमती सुम्सुम्याउन

समेत

अर्लाम बजाउनु पर्छ,

एउटा स्वास्थ्यकर्मी

घर पुग्दा

परदेशी आए झै

सबै जना आखाँ तन्काएर हेर्छन्

छुट्टिएर हिड्दा

कोरोना सम्झिएर

आखाँ न्यास्रो पार्छन्,

आखिर पैसाकै लागि

स्वास्थ्यकर्मी दौडिएको त

होइन नि,

तर समय जस्तै

स्वास्थ्यकर्मीको जिन्दगी

भित्तामा झुण्डाएको

घडि जस्तै छ

आफ्नै तालमा छ

सोच विचार गर्दैन

तर कुदिरहेछ

नि:सन्देह निःस्वार्थ।

आखिर स्वास्थ्यकर्मी पनि

त मान्छे न हो!

कुनै औजार त होइन नि।

 

न चाहा राख्छ

न खुशी रोज्छ

न सुविधा भोगी हुन्छ,

स्वास्थ्यकर्मी उपकरण र

व्यवस्थापन बिनै

मैदानमा रातदिन खटिन्छ,

तै पनि

हामी नेता,मन्त्री,शिक्षक,वकिल,इन्जिनीयर

आदि संग प्रश्न सोध्दैनौं

उ किन जीवनमा

स्वास्थ्यकर्मीले जस्तै कम्प्रमाईज गर्न सक्दैन?

तर जब

सरकारको एजेण्डा आउछ

महामारी कोरोनाको त्रास

छाउछ

अनि स्वास्थ्यकर्मीले

अस्पताल नछाड्ने

आदेश पाउछ

विडम्बना

बल्ल मिडियाले

स्वास्थ्यकर्मीको

गुनगान सुनाउछ।

 

आजकल

गाँउघर  शहरको माहोल

सुनसान छ

मानिसहरु बाहिर निस्किदैनन्

त्यो भन्दा सुनसान छ

मन्दिरको माहोल,

मन्दिरहरु भगवान बिहिन छन्

किन कि

भगवानहरु सेतो एप्रोन

लगाएर

स्वास्थ्यकर्मीको रुप धारण गर्दै

अस्पतालमा खटिएका छन्,

लाखौ लाख सलाम

ति सेतोकोट धारी

सम्पूर्ण भगवानहरुलाई

जो र जस्को कृपामा

देश कोरोनाको त्राससँग

जुधिरहेछ !!

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्