काठमाडौं। कोरोना भाइरस (कोभिड–१९) का बारेमा जानकारी दिन सरकारले हटलाइन नम्वरको व्यवस्था गरेको छ। तर, स्वास्थ्य मन्त्रालयले हटलाइन नम्वरका रुपमा तोकेका नम्वरबाट सर्वसाधारणले जानकारी पाउन सक्दैनन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ०१.४२६२५४३, ४२६२८०२, ४२६२६९६ र ४२६७३७६ लाई हटलाइन नम्वर तोकेको छ। तर, ती कुनै पनि नम्वरमा सर्वसाधारणको फोन उठ्दैन। हामीले शुक्रबार दिउँसो सार्वजनिक स्थलमा बढीमा २५ जना मात्र उपस्थित हुन सरकारले गरेको आग्रहको वैज्ञानिक कारण के हो ? त्यसबारे जान्न पटकपटक टेलिफोन गर्दा ती नम्वरहरुमा घण्टी गएर पनि फोन सम्पर्क हुन सकेन।
सरकारले नागरिकको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राखेर नै यस्ता हटलाइन नम्वरहरुको व्यवस्था गर्ने गर्दछ। तर, हाम्रो कर्मचारीतन्त्रको चरम लापरबाहीले त्यस्ता संरचनाहरु हात्तीको देखाउने दाँत हुने गरेका छन्। स्वास्थ्य मन्त्रालयको हटलाइन नम्वर पनि सर्वसाधारणले सूचना पाउने पहुँचभन्दा टाढा रहेको बुझ्न कुनै कठिन छैन।
हटलाइन नम्वर मात्र होइन, सरकार र मन्त्रालयका तर्फबाट सूचना दिन तोकिएका सूचना अधिकारीहरुले पनि फोन उठाउँदैनन्। शुक्रबार हामीले कोरोनाको सम्भावित जोखिम र सरकारले गरेको तयारीबारे जानकारी लिन स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी गणेश श्रीवास्तवलाई सम्पर्क गर्यौं। तर, उनले पनि घण्टी गए पनि फोन उठाएनन्।
अत्यन्त संवेदनशील मानिएको कोरोना भाइरस, यसको संक्रमण र बच्ने उपायका बारेमा जानकारी दिन सरकारले तोकेका अधिकारीले किन यस्तो लापरबाही गर्छन् ? सरकारले तोकेको जिम्मेवारी पूरा नगर्ने कर्मचारीबाट देशले महामारीसँग दृढतापूर्वक लड्न सक्ला ? यो आम सरोकारको विषय बनेको छ।



लोकपाटी न्यूज

