काठमाडौं । प्रधानमन्त्री केपी ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्वतन्त्र रहेको बताएका छन् । आयोगको २९औँ स्थापना दिवसको कार्यक्रममा मंगलबार प्रधानमन्त्री ओलीले संर्वधानिक निकायको स्वतन्त्रतामाथि सरकारले हस्तक्षेप नगर्ने बताएका हुन् । बालुवाटार जग्गा प्रकरणमा आयोग निष्पक्ष हुन नसकेको र सरकारको दबाबमा मुद्दा दायर गरेको भन्दै आलोचना भइरहेका वेला प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीले सरकारले कुनै दबाब नदिएको र प्रभावमा नपारेको बताएका छन् । उनले आयोगलाई स्वतन्त्र र बलियो बनाउने पक्षमा सरकार रहेको बताए । भ्रष्टाचारलाई समाजको महारोगको संज्ञा दिँदै ओलीले भ्रष्टाचारविरुद्धको कारबाहीमा आयोगले हालैका दिनमा गरेका कार्य तथा देखाएको क्रियाशीलताको प्रशंसा गरे ।
आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले आयोग रहरले नभई बाध्यताले अनुसन्धान कार्यमा प्रवेश गर्ने बताउँदै भ्रष्टाचार हुन नपाओस् भन्ने मनसायले निरोधात्मक र प्रवद्र्धनात्मक रणनीतिमा जोड दिएको बताए । सार्वजनिक निकायबाट नीति, पद्धति र सदाचारिताका आधारमा कार्यसम्पादन भएमा भ्रष्टाचारको रोकथाम हुन सक्ने बताउँदै उनले सार्वजनिक सेवा प्रवाह र सार्वजनिक खरिदका कार्य पूर्णतया कानुनी मापदण्ड र प्रक्रियाका आधारमा सञ्चालन भएमा धेरै हदसम्म भ्रष्टाचार हुनबाट रोक्न सकिने बताए ।
स्थापना दिवसमा आयोगका १५ कर्मचारी पुरस्कृत भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले दुईजनालाई उत्कृष्ट अनुसन्धानकर्ता तथा १३ जनालाई उत्कृष्ट अख्तियार सेवा पुरस्कार प्रदान गरेकी हुन् । उत्कृष्ट अनुसन्धानकर्ता पुरस्कारबाट उपसचिव दीपकप्रसाद खतिवडा र डिएसपी भीष्म हुमागाईंलाई प्रदान गरिएको छ ।
उत्कृष्ट अख्तियार सेवा पुरस्कार पाउनेमा सहसचिव प्रदीपकुमार कोइराला, शेरजंग कार्की, एसएसपी अरुणकुमार बिसी, उपसचिव मदन कोइराला, रमेश ढकाल, गोकुल बाँस्तोला, सुशीला अधिकारी, गणेश गैरे, सिनियर डिभिजनल इन्जिनियर सुशील श्रेष्ठ, एसपी प्रवीण पोखरेल, डिएसपी मधुकुमार थापा, इन्जिनियर दीपक श्रेष्ठ र इन्सपेक्टर सञ्जीवबाबु खड्का छन् ।



लोकपाटी न्यूज

