काठमाडौं, ११ माघ । ७ वर्ष अगाडिबाट सुरु भएको बागमती सफाइ महाभियानको आज ३५० औं हप्ता पुगेको छ। अभियानको आजसम्म आइपुग्दासम्म १२ हजार टन फोहोर उठाइएको छ। शनिबार ३५० औं हप्ता पुगेको छ। ३५० औं हप्तासम्म आइपुग्दा १० लाखभन्दा बढी स्वयंसेवक बागमती सरसफाई महाअभियानमा सहभागी भएका छन्।
वि.संं. २०७० सालबाट सुरु गरिएको बागमती सरसफाइ महाअभियानको ३५० औं हप्तामा आज पनि बागमतीको सरसफाई गरिएको छ।२०७० जेठ ५ गते गुह्येश्वरी मन्दिरको प्राङ्गणबाट महाअभियानको सुरुवाता गरिएको थियो। अभियान सुरु भएपछि बागमतीका शाखा नदीहरु विष्णुमति, धोवीखोला, हनुमन्ते, मनोहरा, गोदावरी, बल्खु एवं चक्रपथका बिभिन्न स्थान तथा भित्री टोलहरुमा समेत सरसफाई थालिएको छ।
उपत्यका बाहिर पनि अभियान सञ्चालन भइरहेको छ। उपत्यका बाहिर करिब ९० स्थान भन्दा बढी शहर बजारमा स्थानीयबासीको सहभागितामा सफाइ कार्यक्रमहरु संचालन भइरहेको छ । ३५० हप्तामा महाअभियान प्रवेश गरेको विशेष अवशरमा काठमाडौं महानरपालिका वडा नम्बर ११ ले स्वच्छता र सरसफाइका लागि २४ बुँदे अवधारणा सार्वजनिक गरेको छ।
शनिवार बागमती नदी सरसफाइ महाअभियानको ३५० औं हप्ताको बिशेष कार्यक्रममा वडाध्यक्ष हीरालाल तण्डुकारले अवधारणा सार्वजनिक गरेका हुन्। वडाले अघि सारेको अवधारणामा अबको २ बर्ष्भित्र ५ वटा सार्वजनिक शौचालय र आवश्यकताका आधारमा घुम्ती शौचालय निर्माण गर्ने, बसन्तनगर रुद्रमती किनार र त्रिपुरेश्वर कुमारी मार्गमा ‘जेष्ठ नागरिक मनोरञ्जन पार्क’ निर्माण गर्ने योजनाहरु समेटिएका छन्।
नेपाल सरकारका विभिन्न निकायहरु, सामाजिक,धार्मिक संघ संस्थाहरु तथा बाग्मती सफाइ अभियन्ताहरुको संयुक्त प्रयासमा संचालित यो अभियानमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, गायत्री परिवार, यस ट्राभल्स डट कम, नेपाल विज्ञापन संघ, नेपाल चलचित्र कलाकार संघ, प्याब्सन, एनप्याब्सन, नेपाल टेलिकम, लगायत लाखौंको संख्यामा विद्यार्थी, शिक्षक, कर्मचारी, व्यवसायी, उद्योगपति, पत्रकार, कलाकार, डाक्टर, इन्जिनियर, समाजसेवी, राजनीतिकर्मी आदिको सहभागीता हुँदै आएको छ।



लाेकपाटी न्यूज
