बढ्दो बेरोजगारीसँगै व्यक्तिहरु लोकसेवा पास गर्न सक्रिय छन्। आफ्नो भविष्य सुरक्षित हुने भन्दै युवाहरु लोकसेवाप्रति आकर्षित भएका हुन्। लोकसेवा तयारी गर्ने केही सुत्रहरुलाई बुँदागत रुपमा प्रस्तुत गरिएको छ।
तपाईले लेख्ने अक्षरको अंकमा प्रभाव
परीक्षार्थीले पाउने अंकमा राम्रो नराम्रोअक्षरले धेरै असर गर्दैन । अक्षर सफा भयो भने जाँचकीले राम्रोसँग कापी जाँच्छन् । अक्षर राम्रो भयो भने जाँचकीले कापी जाँच्दा सकारात्मकता पाउँछ । परीक्षार्थीले परीक्षाको दिन नयाँ कलमभन्दा पनि एक–दुई दिनदेखि चलाइरहेको कलमले लेख्दा राम्रो हुन्छ । परीक्षार्थीले पढ्ने र लेख्ने दुवै बानी गर्नुपर्छ, जसले परीक्षामा सहज हुन्छ ।
बढी अंक कसरी ल्याउने
परीक्षार्थीले बढी अंक कसरी ल्याउन सकिन्छ योजना बनाएर पढ्ने बानी गर्नुपर्छ । परीक्षा हलमा पुगेपछि प्रश्न राम्रोसँग पढ्नुपर्छ । पाठ्यक्रमको कुनै पनि विषय पढ्न बाँकी राख्नु हुँदैन । सबै पढ्नुपर्छ । समसामयिक विषयलाई बढी ध्यान दिनुपर्छ । प्रश्नहरूमा राख्ने डाटाहरूमा बढी नै अपडेट हुनुपर्छ ।
लोकसेवामा परीक्षार्थीले के गर्ने
लोकसेवा परीक्षामा परीक्षार्थीले प्रश्न नै नपढी हतारमा उत्तर लेख्ने गरेको पाइन्छ । कतिपय परीक्षार्थी अगाडिदेखि तयारी नगरेर एकैपटक परीक्षाको अघिल्लो दिन रातभर पढ्ने गर्छन् । विशेषगरी परीक्षार्थीले समयको ख्याल गर्दैनन् । परीक्षा हलमा पुगेपछि उनीहरू हतारमा हुन्छन्, जसले गर्दा आफूलाई बढी ज्ञान भएको कुनै एउटा प्रश्नमा मात्र बढी लेख्छन् । कुनै एक प्रश्नको उत्तर आएन भने निरास भइहाल्छन् । बजारमा भएका सामग्री पूरै कण्ठ गरेर त्यहाँ भएको कुरा मात्र लेख्ने गर्छन्, जसले गर्दा परीक्षार्थीमा नयाँपन देखिँदैन ।
लोकसेवा परीक्षा तयारी
अधिकांश परीक्षार्थीले एक्लै बसेर तयारी गरेको पाइन्छ । एक्लै बसेर तयारी गर्नुभन्दा पनि एक–दुईजना साथी बनाएर पढ्दा परीक्षार्थीलाई सहज हुन्छ । परीक्षार्थीले लेखेर पढ्ने अभ्यास गर्नुपर्छ । त्यससँगै पढेका कुरालाई ठीक छ या गलत छ भनेर चेक गर्नुपर्छ । गलत डाटा कहिल्यै पनि लेख्नु हुँदैन । पाठ्यक्रमको पूरा तयारी गर्नुपर्छ ।
परीक्षा हलमा ध्यान दिनुपर्ने कुरा
परीक्षा हलमा जाँदा पर्याप्त समय लिएर जानुपर्छ । हतारमा जाँदा बाटोमा केही समस्या पर्न सक्छ । त्यसैले समय लिएर जानुपर्छ । समयमै आफ्नो कोठामा पस्नु र बस्नुपर्छ । प्रश्नपत्र हात परेपछि राम्रोसँग अध्ययन गर्नुपर्छ । आफ्नो कापी अरूलाई हेर्न दिनु हुँदैन । परीक्षामा लेख्ने समयमा केही समस्या आउन दिनु हुँदैन । परीक्षा अवधिका बीचमा सकेसम्म बाहिर जानु हुँदैन । समयको एकदमै ख्याल गर्नुपर्छ ।



लाेकपाटी न्यूज

