विश्वकै होचा व्यक्तिको कीर्तिमानी बनाएका खगेन्द्रको निधन

khadendra thapa magar
लाेकपाटी न्यूज

काठमाडौं, ३ माघ। कीर्तिमानी होचा व्यक्ति खगेन्द्र थापामगरको निधन भएको छ। मगरको शुक्रवार दिउँसो मणिपाल शिक्षण अस्पताल पोखरामा २८ वर्षको उमेरमा निधन भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार राति १२ बजे मगरलाई अस्पताल भर्ना गरिएको थियो। मणिपाल अस्पतालको सघन उपचारकक्ष (आईसीयू) मा भर्ना भएका थापा मगरलाइ शुक्रबार दिउँसो करिव ३ बजे चिकित्सकको टोलीले मृत घोषणा गरेको खगेन्द्र थापा मगर प्रतिष्ठानका अध्यक्ष मीनबहादुर राना मगरले जानकारी दिए।

खगेन्द्रमा मुटुको समस्या थियो। स्वासप्रस्वास, हेमोग्लोबिन कमी, सेतो रगत आवश्यकभन्दा बढी हुने समस्या खगेन्द्रमा रहेको प्रतिष्ठानका अध्यक्ष रानाले बताए। खगेन्द्रको जन्म बाग्लुङ धुल्लुवासकोट ६ मा भएको थियो । २०६७ असोज २८ गते विश्वकै होचा व्यक्तिको रुपमा ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा नाम लेखाउन सफल भएका थिए । त्यतिबेला थापा ५७ सेन्टिमिटर अर्थात् २२ दशमलव ०४ इञ्च थिए।

थापा १६ वर्षको उमेरदेखि पोखरा सिर्जना चोकमा बस्दै आएका थिए। रूपबहादुर थापामगर र धनमाया थापामगरबाट खगेन्द्रको धुल्लुबासकोट ६ मा १८ असोज २०४९ मा जन्म भएको थियो। जन्म भएको बेला खगेन्द्र मात्र ६०० ग्रामका थिए। उनको वजन ५.५ किलोग्राम मात्र रहेको थियो । थापाको शनिबार बौद्ध अर्घौं सदन रामघाटमा अन्त्येष्टि गरिने प्रतिष्ठानका अध्यक्ष रानामगरले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्