बन्ने भयो ‘छक्का पञ्जा ४’

Chhakka_Panja_4
लाेकपाटी न्यूज

काठमाडौं। दीपक-दीपाको समूह पुनः आफ्नो सफल फ्रान्चाइज ‘छक्का पञ्जा’तीर फर्किएको छ। यस वर्ष आफ्नो क्याम्प बाहिरका निर्देशक दीपेन्द्र लामाको निर्देशनमा ‘छ माया छपक्कै’ ल्याएका उनीहरु फेरी ‘छक्का पञ्जा ४’ ल्याउने तयारीमा लागेका हुन्।

शुक्रबार रिच इन्टटेन्मेन्ट तथा जि जि ए ग्रुपसँग उपत्यका वितरण सम्झौता गरेको तस्विर सार्वजनिक भएसँगै सिनेमाको सिक्वल निर्माण हुन लागेको पक्का भएको हो। उपत्यका बाहिर भने सिनेमालाई दीपक संलग्न एफ डी कम्पनीले वितरण गर्ने छ।

हाल सिनेमाको कथा लेख्ने काम भइरहेको छ। दीपाश्री निरौलकाको निर्देशनमा बन्ने सिनेमामा दीपक, जितु नेपाल तथा केदार घिमिरे(माग्ने बुढा)को प्रमुख भूमिका हुनेछ भने सिनेमामा काम गर्ने अभिनेत्री टुङ्गो लगाउन बाँकी रहेको छ।

‘छक्का पञ्जा’ सिरिजका ३ सिनेमा लगातार हिट भएपछि निर्माणपक्षले वर्षमा दुई सिनेमा निर्माण गर्ने घोषणा गर्दै आएपनि आफ्नो योजनामा सफल हुन सकेको छैन। उनीहरूले आफ्नो क्याम्प बाहिरका राम्रा कथामा लगानी गर्ने बताएपनि त्यस्तो भइरहेको छैन।

सिनेमा दशैंमा रिलिज हुने अनुमान गरिएको छ। त्यसो त यो मितिमा मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यको निर्माण रहेको सिनेमा रिलिज हुने घोषणा भइसकेको छ भने अशोक शर्माले आफ्नो सुपरहिट सिनेमा ‘अल्लारे २’ रिलिज गर्ने स्पष्ट पारिकसकेका छन्। यस्तै यो मितिमा ‘ए मेरो हजुर ४’ र ‘आइ एम ट्वान्टी वान’ रिलिज हुने तयारीमा रहेको बताइन्छ।

‘छक्का पञ्जा ४’को दशैंमा रिलिज हुने सम्भावना भने त्यति बलियो देखिएको छैन। यसअघि आफ्नो फेसबुक स्टाटसबाट सिनेमाको आधिकारिक जानकारी दिने दिपक-दीपाको समूहले आफ्नो फेसबुकमा यसबारेमा हालसम्म कुनै पोस्ट गरेका छैनन्। यध्यपी उनीहरूलाई फेसबुकमा नयाँ सिनेमाको लागि शुभ-कामना भने मिलिरहेको छ। सिनेमा चैतबाट फ्लोरमा जाने बताइन्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्