‘सरकारमा कम्युनिष्टविरोधीको राज छ, इमान्दारहरु पार्टीमा हेपिएका छन्’

Bhim-rawal
लाेकपाटी न्यूज

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी समिति सदस्य भीम रावलले पार्टी राष्ट्रपति विद्यादेवी भण्डारीसहित अध्यक्षद्वय केपी शर्मा ओलीप्रति आक्रामक रूपमा प्रस्तुत भएका छन्। जारी स्थायी समिति बैठकमा अध्यक्षद्वय ओली र दाहालको राजनीतिक प्रतिवेदनमा टिप्पणी र सुझाव राख्ने क्रममा रावल राष्ट्रपति भण्डारी, प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति आक्रामक रूपमा प्रस्तुत भएका हुन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीमा हस्तक्षेप गरेको, प्रधानमन्त्री ओलीले सरकार सञ्चालन गर्ने शैली उचित नभएको तथा राष्ट्रियताको मुद्दामा उभिन नसकेको तथा प्रचण्डले पार्टीभित्र गुट मौलाएको भनी उल्लेख गरे पनि निर्मूल गर्ने उपाय नदिएको भन्दै आलोचना गरेका छन् ‘राष्ट्रपतिको पद अमूक व्यक्ति वा व्यक्ति समूहको स्वार्थ साधनमा उपयोग दुरुपयोग गर्न खोजिने कार्य नेपालको संविधान प्रतिकूल मात्र हुँदैन। वर्तमान राजनीतिक प्रणालीका लागि समेत प्रत्युत्पादक हुनसक्छ,’ उनले लिखित रूपमै राष्ट्रपतिको भूमिकाप्रति असन्तुष्टि जनाउँदै लेखेका छन्।

मुख्यतः प्रधानमन्त्री ओलीप्रति आक्रामक देखिएका रावलले पार्टी र राज्य सञ्चालक दुवैबाट निरन्तर अपमानित हुनुपरेको पीडासमेत पोखेका छन्। चिनियाँ राष्ट्रपतिको सम्मानमा असोज २५ गते सोल्टी होटलमा दिइएको रात्रिभोजको टेबुलमा पनि गुटबन्दी गरिएको भन्दै उनले पीडा व्यक्त गरेका छन्।

चिनियाँ राष्ट्रपतिको सम्मानमा असोज २५ गते सोल्टी होटलमा दिइएको रात्रिभोजको टेबुलमा पनि गुटबन्दी गरिएको भन्दै उनले पीडा व्यक्त गरेका छन्। ‘उपप्रधानमन्त्री, पार्टीको उपाध्यक्ष भइसकेको र सांसद तथा सुदूरपश्चिम पार्टी कमिटीको इञ्चार्ज रहेको मलाई नै एकजना सहसचिवको टेबुलमा राख्ने प्रवृत्ति (निम्तामा पनि गुटबन्दी) को एउटा उदाहरण थियो,’ उनको दुखेसो छ।

दुईतिहाई जनमत हुँदाहुँदै पनि समाजवादी पार्टीलाई सरकारमा लगेको, विगतमा नेकपाविरुद्ध लागेका हृदयेश त्रिपाठी र रामेश्वर राय यादवलाई मन्त्री बनाएकोमा मात्रै होइन, दीपक मल्होत्रालाई भियतनाम भ्रमण गराएकोमा प्रधानमन्त्रीको आलोचना गरेका छन्। संविधान जलाउनेलाई समर्थन गरेको भन्दै मिलिनियम च्यालेञ्ज कर्पोरेशनका सवालमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीमाथि पनि लिखित रूपमै खनिएका छन्।