राजनीतिक नेतृत्व चयन गर्न बनाउन लागिएको रियालिटी सो ‘द लिडर्स’ यति बेला चर्चामा छ। ठूला पार्टीका नेता र नेतृत्वबाट जनता त्यति धेरै सन्तुष्ट नभएको बेला ‘द लिडर्स’ अर्थात् नेतृत्व चयन गर्ने रियालिटी सो बन्दै छ। यो शोमा बाबुराम भट्टराई र रवीन्द्र मिश्र, जो स्वयम् नेतृत्वमा सानदार रूपमा असफल छन्, उनीहरूलाई ‘जज’ राखिने भएपछि यसले राजनीति वृत्तमा थप चर्चा पाएको छ।
नेपाली राजनीतिको माखेसाङ्लो पार गरेर त कर्तव्यनिष्ठ नेताहरू नजन्मिएको लामो परिदृश्य सामु, के एउटा रियालिटी शोबाट देशले खोजेको राजनेता जन्मिन्छ त ? नेता बन्ने कार्य कदापि सजिलो छैन। त्याग तपस्या र जीवन सङ्घर्षबाट नै यसको प्रतिफल पाउन सकिन्छ। नेताहरू नैतिकवान्, इमानदार र विषय विज्ञ समेत हुनुपर्छ।
सामूहिक जीवनलाई प्रोत्साहन गर्ने, जनस्तरको जीवनलाई रोज्ने खालको हुनु पर्छ। सिद्धान्तनिष्ट र राम्रो योजना बनाउन सक्ने नेताले नै आफ्ना विचारहरूलाई सही सदुपयोग गर्दै त्रुटिहरू सच्याउन सक्छ।अनुशासन पालना गर्ने र अध्ययन अनुसन्धानमा जोड दिने व्यक्ति नेता बन्न सक्छ। देश, समाज, समय र परिस्थिति अनुसार निर्णय लिन सक्ने व्यक्ति नै आफू नेता बनेर कार्यकर्ताहरूको मन जित्न सक्छ।
म विगत पाँच वर्ष देखि विद्यार्थी राजनीतिमा होमिएको छु। देश कै प्रतिष्ठित चिकित्सा शास्त्र अध्ययन संस्थानको एक होनहार विद्यार्थी सङ्गठनको नेतृत्व पनि समालिरहेको छु। यो पाँच वर्षको अवधिमा मैले विद्यार्थी नेता हुन गरेका त्यागहरू त्यति विचारणीय नहुन सक्छन्, तर मेरो राजनीति प्रतिको बुझाई, समर्पण र चनाखो पनलाई भने तिखार्दै लगेको छु। आजको विद्यार्थी राजनीति भोलिको भविष्य पनि हो र आजका क्याम्पसका नेताहरू भोलिका देशका नेताहरू पनि हुन्।
त्यसैले विद्यार्थीको हक, अधिकारको हितमा नीति, निर्णय र योजनाहरू कार्यान्वयन गर्दै लानु पनि आजको विद्यार्थी राजनीतिको आवश्यकता हो। टायर बाल्ने, सडक अवरुद्ध गर्ने, नाराबाजी गर्ने, क्याम्पसमा ताला लगाउने, आफू निकट प्राध्यापक एवं कर्मचारी नियुक्तका लागि जोड बल गर्ने यी र यस्ता राजनीतिक प्रशिक्षणले विद्यार्थी राजनीतिलाई माथि लाँदैन र भोलिको देश हाँक्ने नेता समेत जन्माउँदैन। विचारधारात्मक कुरा उठाउने, क्याम्पसको सर्वाङ्गीण विकासमा टेवा पुर्याउने, महत्त्वपूर्ण विषयहरूमा जोड दिने, सैद्धान्तिक स्तर उकास्ने र विद्यार्थी राजनीतिका उपलब्धिहरूलाई सक्रिय रूपमा प्रचार गर्ने गर्नाले राजनीतिक प्रेरणा जागृत हुनुका साथै देशले समेत भोलिको दिनमा सबल नेतृत्व पाउँछ।
नेताहरू कुनै कारखानाबाट अपर्झट उब्जिन सम्भव छैन। समाजमा सदिऔं देखि देखा परेका वर्गीय विषमता र शोषण र तिनै शोषणहरूको विरोध गर्न कुनै निश्चित दर्शन वा सिद्धान्तमा टेकेर विद्रोहरूपी सङ्गठनहरू निर्माणसँगै तिनै सङ्गठनको नेतृत्व गर्न नेताहरू जन्मिन्छन्। विश्वका इतिहासहरू हेर्दा सर्वहारा वर्गले पुँजीपति वर्गका विरुद्ध वर्ग सङ्घर्ष अगाडि बढाउनु र मजदुरहरू सङ्गठित हुनु नै नेताहरू जन्मिने आधारहरू थिए। मार्क्स, लेनिन र माओका क्रान्तिका कार्यदिशा,वैज्ञानिक समाजवादी सिद्धान्तको विकास र वर्ग सङ्घर्षका आधारहरूबाट पनि विश्वले धेरै राजनेताहरू जन्माएको छ।
नेपाली राजनीतिमा समेत राणा शासन विरुद्धको क्रान्ति, मदन भण्डारीले कल्पना गरेको जबज र प्रचण्डद्वारा निर्देशित जनयुद्ध मार्फत धेरै नेताहरू जन्मिएका छन्। नेपालमा राज्यसत्ताको उत्पत्ति र विकासक्रम आफैमा असमान र जटिल रहँदै आएको पनि छ। केन्द्रीय राज्यसत्ता, निरङ्कुश राजतन्त्र, वर्ग, वर्ण र सामन्ती प्रणालीका विरुद्ध सङ्गठनात्मक चेतद्वारा विकसित भएर गरिएका आन्दोलनहरूले नै नेताहरू जन्माएको मेरो बुझाई छ।
तर के त्यति विधि सङ्गठनात्मक र सङ्घर्षको स्थितिबाट उब्जिएका नेताहरू अहिलेको विकसित समाजको अन्तर्विरोध र समस्या समाधानका प्रक्रियाहरूमा उत्तिकै चनाखो छन् त ? वा विगतका त्याग र परिश्रमको ब्याज खान मात्र पल्किएका छन्। यो विषय सोचनीय छ। नत्र अहिले भए गरेका कमजोरीको उचित निकास एवं प्राप्त उपलब्धिहरू संस्थागत हुन नसक्दा नेताहरू प्रति वितृष्णा जाएर हुनु स्वाभाविक छ।
नेतामा त्यस्तो गुण हुनुपर्छ जसले विधान, प्रतिवेदन, प्रकाशन र सङ्गठनात्मक संरचना द्वारा प्रभावकारी निर्णयहरू कार्यान्वयन गराउन सफल रहनु पर्छ। जनस्तरको मूल्य, मान्यता अनुरूप कार्य भए/नभएको अनुगमन, निरीक्षण गर्ने र सोअनुसार नभएमा तत्काल कार्यान्वयन गराउन ताकेता गराउन सक्नुपर्छ। जनताका तर्फबाट आउने सुझाव, सल्लाह, सूचना र आलोचनाको हरदम स्वागत गर्दै प्राकृतिक समस्याहरूको निराकरण गर्दै सङ्गठनको विचार, नीति तथा कार्यक्रम जनता माझ पुर्याउन सक्नुपर्छ।
सक्षम र समर्पित नेता हुनलाई सर्वहारा र श्रमजीवी जनताको पक्षमा सधैँ अडिग भएर उभिन सक्नुपर्छ। भौतिकवादी सोच र अवसरवादी दृष्टिकोणबाट सङ्गठनलाई रोकेर नोकर शाही, पदलोलुप र सुविधा जनक दिशा तर्फ जान बाट वञ्चित गर्न सक्नुपर्छ। अन्यथा वर्गीय सङ्गठन का किसान, मजदुर आदि, जनसंगठनका युवा, विद्यार्थी, महिला, दलित, जनजाति, मधेसी र पेसागत सङ्गठनका शिक्षक, प्राध्यापक, स्वास्थ्यकर्मी, वकिल, इन्जिनियर आदिहरूलाई आफ्नै नेता विरुद्ध प्रति क्रान्तिको प्रमुख माध्यम हुनबाट रोक्न कसैले सक्दैन।
नेता भनेको सामूहिक नेतृत्वमा विश्वास गर्ने, योग्यताहरूको पहिचान गर्दै परिचालन र परिणाम निकाल्न सक्ने क्षमतावान् अगुवा हो। जनताको तागतमा विश्वास राख्दै जुझारु भएर मात्र अहिलेको समाजको विषम भ्रष्टाचार र अधोगतिको पतनबाट सक्षम नेताले रोक्न सक्छ। कार्य योजनामार्फत जनताको अभिभारा पुरा गर्न र भाषण भन्दा परिणाम मार्फत राजनीतिक कार्यदिशा प्रतिपादन गर्न नेताले आँट गर्नै पर्छ। सङ्गठनको मेरुदण्ड मानिने कार्यकर्ताको उचित गुण/अवगुण, योग्यता र कार्यक्षमताको सही निरूपण गर्न पनि नेताले विवेक प्रयोग गर्नै पर्छ। फरक मत सहित सहकार्य गर्न सक्ने, प्रतिभावान्, देशभक्त, व्यवहारिक, दूरदर्शी कार्यकर्ता भएमा मात्र नेताले आफ्नो कार्य कौशल देखाउन सक्छ।
विवेकपूर्ण ढङ्गले हरेक प्रतिबद्धता अनुरूप योजनाहरू नेताद्वारा अगाडि बढाइए मात्र वैचारिक, राजनीतिक एवं सङ्गठनात्मक शुद्धीकरण सम्भव छ। जनताको श्रमलाई शिरोपर गर्दै जनहितका कार्यमा एकाकार गर्न सके मात्र उ लोकप्रिय नेता कहलाउने छ। सादा जीवनसहित अंहकारबाट जोगिएर आलोचनात्मक टिप्पणीलाई सहर्ष स्वीकार गर्दै देश बनाउने परिश्रममा ध्यान दिनु आजको राजनेताको आवश्यकता हो।
तर के, एउटा सुपर मार्केटबाट ‘जज’को च्वाईसमा एउटा प्याकेटको सामाग्री खरिद गरे जस्तै रियालिटी शोबाट राजनेता जन्मिन सक्छन् त ? के बिना सामाजिक वस्तुस्थितिसँगको व्यापक घर्षण, राजनेता फुत्त टिभीको स्क्रिनबाट जन्मिन सम्भव छ त ? राजनेता खडेरी परेको मौसममा यो जरुर सम्भावनाको खेल त हो, तर दीर्घकालीनरुपमा, समाज र देशको हित चाहने नेता जन्माउन सङ्घर्ष, त्याग र लामो तपस्या जरुरी छ।
लेखकः डा.अच्युतशाली घिमिरे, शिक्षण अस्पताल



लाेकपाटी न्यूज

