‘राष्ट्रवाद नारामा होइन, प्राणमा खोजौं’

Dinesh Aryal
अप्रजातान्त्रिक राष्ट्रवादले पतनको बाटो सिर्जना गराउँदछ। देश बेच्ने फर्मुलाको आविष्कार गर्न सक्छ। आफ्नो राजनीतिक चेतनालाई रद्दीको टोकरीमा फालेर विदेशी इशारामा चल्न विवश बनाउँछ।
लाेकपाटी न्यूज
  • दिनेश अर्याल

आजको २१ औं शताब्दीमा इतिहासको विभिन्न कालखण्डबाट आफ्नो राष्ट्रको अस्तित्वलाई बचाउँदै राष्ट्रवादको पक्षमा विभिन्न खालको बहस सुरु भएको छ। विभिन्न परिवेशलाई पन्छाउदै राष्ट्रियतालाई खोज्दै संघर्ष गरिरहेका मुलुकहरु पनि प्रशस्तै पाउन सकिन्छ।

हरेक ब्यक्ति अनुसार राष्ट्रवादको परिभाषा अलि फरक हुन सक्छ, भित्तामा कोरिने कुनै पनि खालको नारा राष्ट्रवाद होइन। राष्ट्रवाद त त्यो सुन्दर आत्मामा हुने जीवन्त चेतना हो। सम्पूर्ण राष्ट्रवासीको प्राण हो राष्ट्रवाद। खासमा यो राष्ट्रवाद सम्बन्धी यो कुरा अहिलेका सिके राउत, राजेन्द्र महतो, केपी ओलीलाई भन्दा पहिलेका भक्ति थापा, अमरसिंह थापाहरुलाई बढी थाहा थियो होला।

नेपालका राजनीतिज्ञहरुको राष्ट्रवाद प्रजातान्त्रिक छैन, न त नेपालमा बस्ने नागरिकको नै छ। अप्रजातान्त्रिक राष्ट्रवादको लुरो बैशाखी टेकेर सत्तामा होमिएका ब्यक्तिहरुले नै नेपाल र नेपालिलाई समय समयमा दुख झेल्न बाध्य पारिरहेका छन। स्वतन्त्र रुपमा राष्ट्रलाई अगाडि बढाएर आत्मनिर्भर गराउने विकास प्रयत्नलाई राजनीतिक रुपमा भत्काउने काममा दल नै संलग्न छन। विदेशी स्वार्थका लागि नेपालको मानचित्र नै धुजाधुजा बनाइरहेका छन्।

अहिले नेपालको सीमामा भारतको दादागिरी यथावत छ, सुत्दा नेपाली भएर सुत्छन्, उठ्दा भारतीय बन्न पुग्छन् नागरिकहरु। पिलरहरु सुटुक्कै सारिँदैछन्। सीमामा नेपाली सेनाको कुनै सक्रिय भूमिका छैन। न सरकारले यसलाई गम्भिरतापूर्वक लिएको छ। सीमा विवाद हटाएर भूमि फिर्ता गर्न अहिलेसम्म सरकारले कुटनीतिक पहल गर्न सकेको छैन। हाम्रा राजनेताहरुमा राष्ट्रवाद कतिसम्म गिरेको छ भन्ने प्रमाण यहाँभन्दा बढी आवश्यक नपर्ला सायद।

विदेशीले चलखेल गर्ने भूमि त संसारमा थोरै मात्र छन्। तीमध्ये अग्रस्थानमा आउँछ नेपाल। हामी प्रत्यक्ष रुपमा देख्न सक्छौं नेपालका सबै राजनीतिक दलका गतिविधि तथा सिद्धान्तहरु भारतीय इशारामा सञ्चालित रहेका छन्। भारतले केही दिएको कारण उसप्रतिको मनोवैज्ञानिक झुकावले आफ्नो राष्ट्रप्रतिको भक्तिभाव गौणस्थानमा रहेको छ।

हुन त नेपाल इन्डिया सरकारसँगको सम्बन्ध मैत्रीपूर्ण नै पाउन सकिन्छ। अनौपचारिक रुपमा एकले अर्कालाई सहयोग गरिरहेका पनि छन्। यस्ता सम्बन्ध दुईपक्षीय सन्धि सम्झौताहरु समझदारी पत्रहरु र विज्ञप्ति जस्ता लिखित दस्तावेजमा आधारित रहेका छन्। समय सापेक्ष त्यस्ता दस्तावेजहरु परिवर्तन गरिराख्नुपर्ने हुन्छ, जुन हुन सकिरहेको छैन।

दुई सरकार बीचको सम्बन्धलाई विश्लेषण गरेर हेर्दा नेपालको सम्बन्ध इन्डियाको अरु छिमेकी राष्ट्रसँगको सम्बन्धभन्दा नेपालसँगको सम्बन्ध राम्रो रहेको छ। तर, एक देशले अर्को देशको स्वतन्त्रता तथा सार्वभौमिकताको सशक्त रुपमा सम्मान गरिरहेका बेला र दुई देशबीच यसरी सुमधुर सम्बन्ध कायम भइराखेको बेला इन्डिया स्वयंले नेपाललाई किन यसरी बेलाबेला दुख दिइरहेको छ ? किन नाकाबन्दी लगायो ? अहिले किन नेपालको भूमि आफूले हडप्न खोज्यो ? यी प्रश्नहरु अझै अनुत्तरित रहेका छन्।

अप्रजातान्त्रिक राष्ट्रवादले पतनको बाटो सिर्जना गराउँदछ। देश बेच्ने फर्मुलाको आविष्कार गर्न सक्छ। आफ्नो राजनीतिक चेतनालाई रद्दीको टोकरीमा फालेर विदेशी इशारामा चल्न विवश बनाउँछ।

राजनीतिक दलको ढुलमुले नीतिले दक्षिणको हस्तक्षेप र प्रभाव बढ्यो। हामी भारतले दुख दियो भनेर चिन्तित छौं। हामी नाकाबन्दी लगायो भनेर भारतलाई गाली गर्दछौं, भूमि मिच्यो भनेर भारतीय दुतावास घेराउ गर्न पनि पछि पर्दैनौं। तर दोष चोरको होइन, चोरलाई पस्न ढोका खोलिदिनेको हो।

राष्ट्रवाद जोगाउन स्वतन्त्र स्वाभिमानी हुन आवश्यक हुन्छ। तर स्वतन्त्र स्वाभिमानी दल भएर बस्दा राज्य चलाउन र कुर्सी जोगाउन गार्हो पर्दछ भन्ने लघुताभाष नेपाली दलहरुमा छ। भारतको प्रशासन संयन्त्र बलियो र दीगो छ भने नेपालको फितलो र कमजोर छ। यसकारणले पनि नेपालका समस्या काँचै रहन्छन्, समयमै समाधान हुन सक्दैनन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्