रामेछाप, १६ कात्तिक। मालपोत कार्यालय रामेछापका कार्यालय प्रमूख रघुनाथ फुयाँल दशैंअघि कार्यालय छाडेर हिडेका तिहार सकिँदासमेत कार्यालय फर्किएका छैनन्। दशैंपछि कार्यालयमा उपस्थित नहुँदा सेवाग्राहीले सास्ती खेप्नुपरेको छ। कार्यालयमा प्रमूख नहुँदा धेरै सेवाग्राहीको काम रोकिएको छ भने कार्यालयको अन्य दैनिक कामहरु समेत प्रभावित हुँदै आएको छ।
कार्यालयका कर्मचारीले पटकपटक प्रमूखसँग सम्र्पक गर्दासमेत उनको मोबाइल स्विच अफ् भएकाले प्रमूखसँग सम्पर्क हुन् नसकेको मालपोत कार्यालय रामेछापका नायब सुब्बा दामोदर सुवेदीले जानकारी दिए। सुवेदीका अनुसार दशैं बिदामा गएका प्रमूख तिहार सकिँदा पनि कार्यालयमा हाजिर हुन् आएका छैनन्।
प्रमूखले अहिलेसम्म कुनै पनि बिदा लिएका छैनन्। दशैं सकिएपछि एक पटक कार्यालयमा सम्पर्क गरेका प्रमुख फुयाँल त्यसपछि सम्पर्कमा आएका छैनन्। कार्यालय प्रमूख नहुँदा कार्यालयले प्रदान गर्ने नामसारी, नाम संशोधन, दर्ता र संघ-संस्थाहरुको कामसमेत ठप्प भएको छ।
कार्यालयमा काम लिएर आएका सेवाग्राहीहरु प्रमूख नहुँदा त्यत्तिकै फर्कनुपर्ने बाध्यता रहेको लेखापढी व्यवसायी बोधकुमार रोकाले जानकारी दिए। सेवाग्राहीले सेवा नपाएको विषयमा रामेछापका प्रमूख जिल्ला अधिकारी लिलाकुमार पाण्डेले तत्काल बुझेर आवश्यक कारबाही गर्ने जानकारी दिए।



लाेकपाटी न्यूज

