नेपथ्यबाट जीवन नियाल्दा…

bb stha
द्वन्द्वात्मक भौतिकवादमा विश्वास राख्नेहरु प्राय भौतिक सम्पतिमा लिप्त हुँदैनन् । यद्यपि यो भौतिकवाद सिद्धान्ततः अवलम्वन गर्नेहरु प्रायश कम नै हुन्छन् । भौतिक सम्पति र स्वार्थलाई जीवनको मुख्य कडिभन्दा बाहिर राखेर जीवनको परिभाषा खोज्नेहरुको जीवन कम हुन्छ ।
लाेकपाटी न्यूज

–वि.वि. श्रेष्ठ

कतै निलो कतै कालो बादलले ढकमक्क आकाशले ईंगित गरिरहेको थियो । फेरि पनि भिषण वर्षाको शुरुवात हुँदैछ । प्रकृतिको प्रलयलाई भोग्नुको कुनै विकल्प छैन । सोचमा देखिएको विविधताले जीवन र संसारको मुहार देखिनेछ । यहि चिच्चाहटमा रम्नेहरुको भीडमा जीवन निरर्थक शिवाय केही हुँदैन । देखिएको त्यो सामरिक मौनतालाई चिर्नका लागि कसैको दुस्साहस भएन । समस्याको अथाह पहाडमा गुजिल्टिएर बाँच्नुको विकल्प नभएको मानव सोचमा विर्को लगाउने अन्य कुनै उपायको खोजी हुन सकेन । निरन्तरताको प्रहारमा नै जीवनको लेखान्त भएको महसुसमा रम्ने दिनचर्यामा नै जीवन घिस्रिरह्यो ।

द्वन्द्वात्मक भौतिकवादमा विश्वास राख्नेहरु प्राय भौतिक सम्पतिमा लिप्त हुँदैनन् । यद्यपि यो भौतिकवाद सिद्धान्ततः अवलम्वन गर्नेहरु प्रायश कम नै हुन्छन् । भौतिक सम्पति र स्वार्थलाई जीवनको मुख्य कडिभन्दा बाहिर राखेर जीवनको परिभाषा खोज्नेहरुको जीवन कम हुन्छ । वास्तवमा जीवनको अंश यहीँ पाईन्छ । केही कण बाेकेर जीवनका खोला तर्नेहरुले देखेको सांसरिक लिला र स्वार्थ र सम्पतिमा जेलिएको आत्माहरुले हेर्ने जीवनमा समानता कदापि पाउन सकिँदैन । समयको त्यो गतिको मापनलाई रोक्न र छेक्न खोज्ने हिम्मतहरु शुन्यतामा विलिन भएझैं जीवन पनि एउटा गतिशील समय हो । जहाँ न कसैको शक्ति न कसैको रोदन । त्यो गड्गडाएको आकाशको रोदन पछि देखिएको त्यो छविले धेरैलाई बाध्य बनाई दियो । आत्मिक स्वप्नद्वाेषमा रुमल्लिएको त्यो हृदयमा देखिएको पराकम्प विस्तारै शिथिल हुँदै गयो ।

मन भित्रको त्यो व्याकुलताले उकुसमुकुस भएको त्यो तरंगहरु नियमित हुन भरमग्दुर प्रयासरत बनिरह्यो । सोचमा आएको नैराश्यताले झन् झन् जकडिदियो । लाग्दछ, जीवन फूल होइन, काँडा मात्र हो । तर, त्यही काँडाको त्यो काँडेतारभित्र सुन्दर फूलको सुगन्धले सबैलाई मोहित बनाई दिन्छ । त्यही सुगन्धले बाँच्ने अभिलााषा पैदा गर्दछ । जीउने आधारशिला तयार गर्दछ । मस्तिष्कमा घोत्लिएको नकारात्मक भावलाई जित्ने हिम्मत नराख्ने आत्माहरु नकारात्मक सोच र शैलीको अधिनस्थ रहेर नै जीवन व्यतित गर्दछन् । यही पृष्ठभूमिमा नै सांसरिक चक्रताले पूर्णता पाउने रहेछ ।

भोग र भोगाई परस्पर विरोधी शब्दहरू हुन् । परिभाषित अर्थमा घोत्लिने हो भने पनि यसमा असंख्या फरकहरु पाउन सकिन्छ । भावीको लेखान्तमा विश्वास गर्नेहरु हामी भोगाईको प्रक्रियामा सकारात्मक हुन सक्दैनौं । कर्म नै जीवनको मुख्य आधार भएता पनि भाग्यको विश्वासमा जकडिएको संसार विकसित भनाउँदा मुलकमा बाँच्नेहरु पनि त्यो परिधिवाट बाहिर जान सकेनन् । त्यसैको भगवान भरोसामा वाँचेकाहरु जीवनरुपी घरका ढुङ्गा, ईट्टा हुन् जसले घरलाई धानिरहेका छन् । शिक्षा मानव जगतका मुख्य अभिन्न अगं भएता पनि साध्य भने होइन । वुर्जुवा समाजमा शिक्षाको रंग हरियो भएता पनि यसमा हल्का रातो मिश्रण भएको हुन्छ । जीवन साध्य हो भने त्यस वरिपरि रहने अगंहरु साधन हुन् भन्ने भावनाको जागृत जबसम्म हुँदैन, समाज कदापी पूर्ण हुँदैन ।

समाज जब पूर्ण हुँदैन, त्यहाँ रहने आत्माहरु कदापी खुशी र सुखी हुन सक्दैन । जीवनको वास्तविकता गहिरो हुन्छ, त्यो गहिराईमा हिँड्न साहस सायद कमैले गरोस् । सोच विचार, चिन्तनमननमा तात्विक भिन्नता के त ? व्यक्तिको चेतनास्तरले यसको मापन गर्दछ । त्यही चेतनास्तरको अभिव्यक्ति समाजमा मुखरित भएको हुन्छ । सोच्ने शैलीको सामिप्यताले जीवनमा महत्वपूर्ण भूमिका खेल्दछ । त्यसका लागी चेतनाको महत्वपूर्ण भूमिका रहन्छ । त्यसो भए कस्तो चेतना समाजमा आवश्यक रहेको छ ? यही चेतना नै समाजमा बाँच्ने प्राणीहरुका लागी जीवनका मुख्य कडि बनिदियो । जुनमा हामी दिनानुदिन परस्त बनिरहेका छौं ।

नेपथ्यको त्यो कालरात्रीवाट जीवन चियाउदाँ जब जीवनमा भौतिक, आर्थिक र हरेक पक्षबाट मानव जाति असफल हुन्छ, त्यसपछि भगवानका नाम जप्ने मठ मन्दिर जाने गर्दछ। यो त्यो व्यक्तिमा आएको चेतनाको प्रारुप होइन, बाध्यताको उपज हो । जीवन भोगाईका क्रममा सफल हुनका लागी जस्तो पनि कर्म गर्न तयार हुने आत्माहरु जब जीवनका सम्पूर्ण ढोकाहरु बन्द हुन्छन् तब पाप प्रायश्चितका लागी भगवानका शरणमा लिप्त हुन खोज्दछ । तर, त्यो सोच्न सक्दैन कि त्यो सबै ढोंगी कर्म भगवानका लागी पनि स्वीकार्य छैन । जीवनको प्रक्रिया शुरु भएको चरणवाट जीवन नियाल्ने हिम्मत गर्नेहरु कमै भेटिने सन्दर्भमा यसको गहिराईमा पुग्ने प्रयास कदापि सफल नभएता पनि यसको भेउ भने पाउन सकिन्छ ।

जीवन जन्मेदेखि मृत्यृसम्मको पलको विश्लेषण गर्ने हो र त्यसको भावमा जीवनलाई लैजाने हो भने जीवनको वास्तविकताको नजिक हुन सकिन्छ । नत्र जीवनका नाममा भ्रममा बाँच्नेहरुको भीडबाट आफैंलाई कदापि बाहिर निकाल्न सकिँदैन । जीवन के का लागी ? हृदयमा अनेकौ प्रश्नहरु सोझिरह्यो । रातको त्यो निष्पट्ट कालरात्रीमा सबै जना मस्त निद्रामा परिरहँदा पनि सोधिरह्यो । त्यही प्रश्नले भगवानको चरणमा बस्न दिएन । लाग्यो जीवनमा यति धेरै उतारचढाव किन र के लागि ? भौतिक, अार्थिक र पारिवारिक रुपमा सम्पन्न हुनेहरुपनि जीवन देखि किन यति धेरै वेखुशी ? भौतिक र आर्थिक रुपमा सम्पन्न हुँदैमा मात्र पनि जीवनमा खुशी नहुनेहरुको भीड र जीवनका उत्तरार्धमा देखिएको भोगाईहरुले जीवनप्रति थप नैराश्यता सिर्जना गरिदियो । त्यही नैराश्यताको भीडवाट त्यो कालरात्रीमा पनि जीवनको भाव र अर्थ खोज्न थप प्रेरित गरिदियो ।

बक्स १
नेपथ्यको त्यो कालरात्रीवाट जीवन चियाउँदा जब जीवनमा भौतिक, आर्थिक र हरेक पक्षबाट मानव जाति सफल अथवा असफल हुन्छ, त्यसपछि भगवानका नाम जप्दै मठ मन्दिर जाने गर्दछ। यो त्यो व्यक्तिमा आएको चेतनाको प्रारुप होइन, बाध्यताको उपज हो । जीवन भोगाईका क्रममा सफल हुनका लागि जस्तो पनि कर्म गर्न तयार हुने आत्माहरु जब जीवनका सम्पूर्ण ढोकाहरु बन्द हुन्छन् तब पाप प्रायश्चितका लागि भगवानका शरणमा लिप्त हुन खोज्दछ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्