- डा. अच्युतशाली घिमिरे
हाम्रो महान् पर्व तिहारको बहुआयामिक पाटो छन्। दशैं सकिएको एक महिना नबित्दै आउने यो चाड पशुपन्छीसँग मानिसको सम्बन्ध, फूल, उज्यालो अनि दाजुभाइ–दिदीबहिनीको प्रेममा केन्द्रित छ। धार्मिक पक्ष आफ्नो ठाउँमा होला। तर, यसको सामाजिक एवं मनोवैज्ञानिक पाटो पनि उत्तिकै छ। काग, कुकुर, गाई तथा गोरुको पूजा गर्नुले यी पशुपन्छीको मानिसको जीवनशैलीसँगको नाता र महत्व बोध गराउँछ।
लक्ष्मीपूजा र गोरुपूजाको दिन खेलिने देउसीभैलोले समग्र समुदायमै सम्बन्ध र भाइचारा बढाउन टेवा पुर्याउँछ । एक अर्काको घरमा गएर गीत गाउँदै नाचगान गर्दा वातावरण नै रमाइलो हुन्छ र संस्कृति सम्वर्धनमा योगदान पुर्याउँछ। देउसी र भैलोका भाका गुञ्जेझै लाग्दा यो मन पखेटा हालेर ती दिनहरुमा पुग्छ, जहाँ बाल्यकालका मधुरताहरु अझै अवशेषमा बाँकी छन्
बाल्यकालमा कलाको मौलिकता के हो, सिर्जना के हो? हामीलाई पत्तै थिएन। सायद तिहारको मोहनीमा देउसी समूह बनाएर हामी गाउँ घर डुल्थ्यौं। कोही भट्टायाउने कोही मादल बजाउने कोही खैझडी बजाउने कोही नाच्ने त कोही ताली पिट्ने संगैका साथीसंगीलाई मज्जाले जिस्काउने जम्मा भएका सेलरोटी र चिनीरोटीहरु भोकाएका पेटहरु मिलेर खाने, अनि जम्मा भएका चामल र सरसामाग्री लिएर बनभोज जाने। रकम अलि बढी नै उठ्यो भने विभिन्न कार्यक्रमहरु गर्ने। सायद आत्मीयताको अभिरुचि थियो बाल्यकालको देउसी भैलोमा।
ती सौन्दर्यका रेखाहरु मेटिंदैछन्। नौलो आयामहरुमा गासिँदै गए, नवीनताका सन्देशहरु हराउदै हराउँदै गए, अचेल संस्कृति पैसासँग दाजिन्छ, मनको माया इज्जतसँग दाजिन्छ। अचेल युवाहरु घरैबाट बाहिर निस्किन गाह्रो मान्छन्। युट्युबमा देउसी हेरेर बस्छन्। निस्की नै हाले ड्रम र गितार बोकेर हामी यस्तै त हो नि ब्रो भन्न थाल्छन्। जादू खै केमा छ ? स्वर्गबाट ओर्लिदै छौं, दुःखहरुमा घेरिदै छौं। हामीलाई स्पन्दनले भन्दा आधुनिकताले प्यासी बनायो र सम्पन्नताले दासी बनायो।
कला र संस्कृतिको जगेर्ना गर्ने र कोषमार्फत सामाजिक कार्य गर्ने उद्देश्यले पोहोरको वर्षझै यस वर्ष पनि मैले नेतृत्व गरेको संस्था के.एम.सी. पूर्वविद्यार्थी संघद्वारा आयोजित देउसी भैलो कार्यक्रम २०७६ अन्तर्गत रहेर आदरणीय गुरू प्रा.डा. भगवान कोइरालाज्यूको घरमा हिजो लक्ष्मी पूजाको दिन साँझतिर देउसी खेल्ने अवसर जुट्यो। संयोग के रह्यो भन्दा उहाँसहित उहाँहरुको परिवार समेत हाम्रो कार्यक्रममा जोडिन आइपुग्नुभयो। त्यो क्षण हाम्रा लागि अविस्मरणीय बन्न पुग्यो। मादलुको तालमा र गितारको लयमा भट्याउने र विभिन्न लोक संस्कृति झल्कने गीतहरुमा नृत्य पस्किने क्रम जारी नै रह्यो।
बिरामी जाँच्दा सेतो एप्रोनमा मात्र प्राय देखिइरहनुहुन्छ उहाँ। तर, जब उहाँ नेपथ्यको गीत ‘मै नाचे छमछमी’मा नाँच्न थाल्नुभो, हामी दंग र प्रफुल्लित भयौं। दुनियाँ बदल्न नवीनताको जादूपछि दौडिरहने उहाँ मनोरञ्जन, कला र सिर्जनाका क्षेत्रमा समेत यति प्रखर हुनुहुन्छ भन्ने हामीले सोचेका पनि थिएनौं। साँच्चै नै कला र संस्कृतिको उत्पत्ति मनुष्यको अनन्त चेतको प्रतिभाबाट हुदो रहेछ, सरहरुको प्रस्तुतिले प्रमाणित गरिदियो। दिव्य आभास, सौन्दर्य, हृदयस्पर्शिता सबै सबै साकार भएझै लाग्यो।
कला, संस्कृति र सिर्जनाको मूल तत्व आपसी प्रेम, स्नेह, सुमधुर सम्बन्ध हो र यी सबैले मानिसको जीवनमा उर्जा र हौसला प्रदान गर्नुको साथै अलौकिक आन्नदमा मानिसलाई प्रवेश गराउँछ। सर र म्यामसंगै कम्मर मर्काएर नाँच्न पाउदा हामी खुशीले गदगद थियौं। सरहरुको मिठा मिठा दुईचार शब्दहरु सुन्दै हामी रमाइरहेका थियौं।
बलिराजाको आदेश अनुसार नै सही हामी फेरि अर्को तिहारमा आउने वाचा गर्दै, आशिष दिँदै हामी विदा भयौं। यस संस्थामा आवद्ध हामी सबै डाक्टर, इन्जिनियर, सिए आदि प्रा.डा. भगवान सरले गर्नुभएको स्वागतका लागि जीवनभर कृतज्ञ रहनेछौं।



लाेकपाटी न्यूज

