- मनहरि तिमिल्सिना
२००६ सालमा स्थापित नेकपाको तेस्रो महाधिवेशन वि.सं. २०१९ वैशाख ४–१५ मा भयो। महाधिवेशनका प्रस्तावित लाइनहरुमा तुलसीलाल अमात्यको सार्वभौमसत्ता सम्पन्न संसद, पुष्पलाल श्रेष्ठको विघटित संसदको पुनस्र्थापना र मोहनविक्रम सिंहको संविधानसभा निर्वाचन थिए। महाधिवेशनमा सिंहको संविधानसभा निर्वाचनको लाइन बहुमतबाट पास भयो। तर, महामन्त्रीमा तुलसीलाल अमात्य निर्वाचित भए। केन्द्रीय समितिमा केशरजंग रायमाझी, शम्भुराम श्रेष्ठ, कमर शाह, डिपी अधिकारी, पिबि मल्लहरु थिए।
महाधिवेशनले मोहनविक्रम सिंहको नीति पारित गरी तुलसीलाल अमात्यलाई महामन्त्रीमा निर्वाचित गर्नु नेकपाका लागि चुनौतिको विषय बन्यो। एमबिको नीति तुलसीलालको नेतृत्वका कारण तेस्रो महाधिवेशनपछि नेकपा दर्जनौं समूहमा विभाजित भयो। विभाजनको केही वर्षपछि कम्युनिष्ट नेताहरु विभिन्न ढंगले कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्न क्रियाशील भए। त्यसमध्ये पुष्पलाल श्रेष्ठ र मोहनविक्रम सिंहको प्रयास अरुभन्दा गुणात्मक रह्यो।
२०२४ मा पुष्पलालले भेला गरी आफ्नो समूह व्यवस्थित गर्न खोजे। २०२५ सालमा गोरखपुरमा तेश्रो सम्मेलन गरी नयाँ जनवादी गणतन्त्रको लाइन पारित गरी पुष्पलाल श्रेष्ठ महामन्त्री बने। २०२९ सालमा पुष्पलाल समूहको चौंथो राष्ट्रिय सम्मेलन भयो। २०३१ श्रावणमा कम्युनिष्ट एकता सङ्घर्ष समिति गठन भयो। २०३३ असार १५ मा जीवराज आश्रित, मोदनाथ प्रश्रित, बामदेव गौतमले पुष्पलालबाट विद्रोह गरी मुक्ति मोर्चा समूह गठन गरे। २०३५ मा पुष्पलालको मृत्युपछि त्यसको नेतृत्व बलराम उपाध्यायले गरे। यसै संगठनलाई विकास गरेर २०४४ सालमा सहाना प्रधान र भरतमोहन अधिकारी मिलेर ने.क.पा. (माक्र्सवादी) गठन गरे। २०४७ मा माले र मार्क्सवादीबीच एकता भई नेकपा (एमाले) बन्यो।
वि.सं. २०२२ सालमा भारतको दरभंगामा सम्मेलन गरी भरतमोहन अधिकारी र कमल कोइरालाको नेतृत्वमा मेची कोशी प्रान्तीय कमिटी गठन भयो। २०२७ सालतिर यसको कार्यनीतिक विवादका कारण झापा जिल्ला कमिटी अलग भयो। त्यही झापा जिल्ला कमिटीले २०२८ सालमा वर्गदुश्मन खत्तम पार्ने उद्धेश्यसहित झापा विद्रोह सुरु गर्यो। त्यसको मूख्य नेता थिए सिपी मैनाली।
वि.सं. २०२८ सालमा सुरु भएको झापा विद्रोहका कमीकमजोरी हटाउने निर्णयसहित २०३१ जेठ १४ मा झापा, मोरङ्ग, सुनसरी जिल्ला कमिटीले समन्वयका लागि अपील गर्यो। २०३२ जेठ २४–२५ मा सम्मेलन गरी अखिल नेपाल क्रान्तिकारी कोओर्डिनेशन केन्द्र (माले) कमिटीको गठन भयो। २०३५ साल पौष ११ गते कोओर्डिनेशन केन्द्रको सम्मेलन गरी नेकपा (माले) पुनर्गठन भयो, त्यसको नेतृत्व सिपी मैनालीले गरे। २०४६ सालको आन्दोलनमा माले, मार्क्सवादी लगायतका एकथरि समूहबीच आन्दोलनको लागि संयुक्त बाममोर्चा बन्यो। त्यही मोर्चा जनआन्दोलनपछि पार्टी एकतामा बदलियो।
२०४६ साल भाद्र ९–१४ सम्म यस समूहको चौंथो महाधिवेशन भयो। २०४७ मा नेकपा (माले) र नेकपा (मार्क्सवादी) मिली नेकपा (एमाले) बन्यो। २०४९ मा नेकपा (एमाले) को पाँचौं महाधिवेशनबाट मदन भण्डारी महासचिवमा निर्वाचित भए, महाधिवेशनले जनताको बहुदलीय जनवादको नीति पास गर्यो। तात्कालीन माले धारा विद्रोहको धारा थियो। मदन भण्डारी झापा विद्रोहको धाराबाट आएका थिएनन्। तर, उनले सबै राजनीतिक आन्दोलनबाट आएका समूहहरुको निकै कुशल नेतृत्व गरे।
वि.सं. २०२८ मंसीर २० मा मोहनविक्रम लगायत बागमति प्रान्तीय कमिटीमा रहेका सिद्धीलाल सिंह, नरबहादुर कर्मचार्य, देवेन्द्रलाल श्रेष्ठ मिली केन्द्रीय न्यूक्लियस गठन गरे। केन्द्रीय न्यूक्लियसका संस्थापकहरुमा मोहनविक्रम, मनमोहन अधिकारी, निर्मल लामा, शम्भुराम श्रेष्ठ, जयगोविन्द शाह, भरतमोहन अधिकारी, रामबहादुर ह्यामो, कमल कोइराला, सिद्घीलाल सिंह आदि थिए।
२०३१ भाद्रमा निर्मल लामा, मोहनविक्रम सिंहको पहलमा चौंथो महाधिवेशन भयो। जसको नारा देशभक्त र प्रजातन्त्रवादीहरुको संयुक्त सरकार थियो। महाधिवेशनले मोहनविक्रम सिंहलाई महासचिवमा निर्वाचित गर्यो। वि.सं. २०४१ सालमा भएको चौमको पाँचौं महाधिवेशनले मोहनविक्रममाथि कार्वाही गर्यो, त्यसपछि चौम विभक्त भई नेकपा (मशाल) र नेकपा (मसाल) बन्यो। मशालको नेतृत्व मोहन वैद्य र मसालको नेतृत्व मोहनविक्रम सिंहले गरे। मोहन वैद्यको नेकपा (मशाल) को धारा २०४८ मा नेकपा (एकता–केन्द्र) हुँदै २०५१ मा नेकपा (माओवादी) मा रुपान्तरित भयो। २०४३ को सेक्टर काण्डपछि प्रचण्ड नेकपा (मशाल) को महामन्त्री बने। प्रचण्डको नेतृत्वमा रहेको त्यही माओवादीले २०५२ फागुनबाट युग बदल्ने जनयुद्धको नेतृत्व गर्यो।
शुक्रबार विराटनगरमा आयोजित नेकपाको कार्यक्रममा प्रसङ्गवश प्रचण्डले भने, ‘मेरो ओरिजिन माओवादी होइन। मैले पुष्पलाल समूहबाट कम्युनिष्ट पार्टीको सदस्यता लिएको हुँ। कमरेड मदन भण्डारी पनि झापा विद्रोहको धाराबाट आएको नेता होइन। तर, उहाँले मूलतः झापा विद्रोहबाट आएको माले धाराको पनि कुशलतापूर्वक नेतृत्व गर्नुभयो।’ प्रचण्डको अभिव्यक्तिले पूर्वमाओवादीभित्र मात्र होइन, देशभरि नै एकखालको तरङ्ग पैदा गर्यो, जुन तरंगित हुनुपर्ने विषय थिएन।
प्रचण्ड भनाइको अर्थ हो, जसरी मदन भण्डारीले झापा विद्रोहको विरासतबाट आएको धारालाई वैचारिक, राजनीतिक, सांगठानिक र भावनात्मक दृष्टिले पनि एकतावद्ध बनाएर सबैको नेतृत्व गर्नुभयो। म आफू जनयुद्धको धाराबाट आएको भए पनि जनआन्दोलन र शान्तिपूर्ण राजनीतिक धाराबाट आएका सबै समूह, विचार र प्रवृत्तिको त्यसरी नै नेतृत्व गर्न सक्छु। त्यही सङ्कल्पका साथ अघि बढिरहेको छु। नेकपा एकीकृत भइसकेको छ, अब कसैले कसैलाई पूर्वसमूहको आँखाले हेर्न जरुरी छैन। प्रचण्डको भनाइको तात्पर्य मूलतः यही हो।
प्रचण्डले आफू पुष्पपालको ओरिजिनबाट आएको भए पनि जनयुद्धको तयारी, नेतृत्व र व्यवस्थापन गरेको कुरा नै शुक्रबार व्यक्त गरेका थिए। प्रचण्डको भनाइको प्रष्ट सन्देश थियो, ‘ओरिजिन क्रान्तिकारी भएर मात्र पुग्दैन, वर्तमान पनि क्रान्तिकारी र सबैको नेतृत्व गर्नसक्ने खालको हुनुपर्छ।’ यही कुरालाई कति मीडियाले बङ्गाए भने कतिले प्रचण्ड डुब्लुकेट माओवादी भएको भन्नसमेत भ्याए। दशकौं लामो इतिहास नपढी शब्द टपक्कै टिपेर अर्थ्याउने मीडियाका कारण नेता–कार्यकर्ता अरुभन्दा बढ्ता तरंगित पनि भए।
हरेक मानिसको एउटा निश्चित ओरिजिन हुन्छ, चाहे त्यो जैविक होस् वा राजनीतिक–सामाजिक। प्रचण्डको ओरिजिन पुष्पलाल समूह हो। प्रचण्डले वि.सं. २०२८ सालमा पुष्पपाल समूहबाट नै कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए, जुन कुरा उनको आधिकारिक जीवनीमा यसअघि नै सार्वजनिक भइसकेको छ। ओरिजिनलाई ओरिजिनलको शब्दार्थमा ढालेर तरंगित हुन वा प्रचण्डभन्दा ओरिजिनल माओवादीको मृगतृष्णामा दौडिन जरुरी छैन।
कुनै मानिस खस–आर्य ओरिजिनमा जन्मन्छ। तर, त्यो समावेशी लोकतन्त्रको वकालत गर्दछ। कुनै मानिस हिन्दू धार्मिक सम्प्रदायमा जन्मन्छ। तर, त्यो भौतिकवादी चिन्तक बन्छ। मान्छे जुन ओरिजिनमा जन्मिन्छ, त्यसका केही प्राकृतिक गुण र विरासत त हुन्छन् नै। तर, जीवन सङ्घर्षमा त्यसले आफ्नो ओरिजिनको पर्दा च्यातेर अघि बढ्न सक्छ। त्यही कुरा मार्क्सदेखि यताका अधिकांश कम्युनिष्ट नेताहरुको हकमा पनि लागू हुन्छ।
प्रचण्डले शुक्रबार व्यक्त गरेको विचारको शब्दमा अर्थ होइन, त्यसको सारतत्व खोज्न जरुरी छ। प्रचण्ड सारतत्वले भन्छ, ‘हामी अलग–अलग ओरिजिनबाट कम्युनिष्ट आन्दोलनमा आएका छौं। तर, हाम्रो दायित्व विभिन्न धाराबाट आएको नेकपाको कुशल नेतृत्व गर्नु हो। हामीले अब कसैलाई पनि पूर्वसमूहको आँखाले हेर्न जरुरी छैन। जुन समूहको ओरिजिनबाट आएको भए पनि नेकपाको विचार र राजनीतिको जगमा उभिएर साझा नेतृत्व गरौं। के यसो भन्नु गल्ती भयो ? त्यो गल्ती थिएन। बरु, सूविचारित एकीकृत नेतृत्वको सन्देश नै थियो।
प्रचण्डको शुक्रबारको अभिव्यक्तिमा ओरिजिन भन्नुपर्ने कतिपय ठाउँमा ओरिजिनल शब्द प्रयोग भएको देखिन्छ। तर, त्यसको भावार्थ ओरिजिन नै हो। प्रचण्डको मन्तव्यको शिलशिला सुन्ने जो–कसैले ओरिजिनको भावार्थ बुझ्छ, ओरिजिनलको शब्दार्थ होइन। तसर्थ, सच्चाइमा उभिएर पूर्वसमूहको चश्माले हेरेर गुटकै संयुक्त मोर्चा होइन, विचार, राजनीतिक र भावनात्मक दृष्टिले पनि एकीकृत पार्टी बनाउने प्रचण्डको सङ्कल्पको गुरुत्व बुझौं, अस्तु !



लाेकपाटी न्यूज

