‘नेपाली गीत–संगीतः कहिले पाइरेसी त कहिले कन्ट्राेभर्सीका शिकार !’

Sachindra Shrestha
लेखकः सचिन्द्र श्रेष्ठ
२०४८ सालतिर कुमार बस्नेतले 'छोरीभन्दा आमा तरुनी' गीत गाउँदा समेत उनले ठूलै मूल्य चुकाउन पर्यो ।बिशेष गरी महिलावादी समूहबाट। कोमल ओली तीजको मौका पारेर गाएकाे 'पोइला जान पाम' भन्ने गीतका कारण सर्बोच्चसम्म पुग्नुपर्याे। यी लगायत धेरै लोक आधुनिक गीतहरु बेला बेलामा चर्चा चलिरहन्छन्।
लाेकपाटी न्यूज

– सचिन्द्र श्रेष्ठ

फेरि एक पटक नेपाली सांगीतिक बजार तातिएको छ। न तातियोस् पनि किन ? जहाँ जहिले जुन बेला पनि जेसुकै हुन सक्ने बजार न हो। गीत संगीत भन्ने बित्तिकै जस्तोलाई पनि सहज मनोरञ्जन दिन र लिन सक्ने उपयुक्त औषधीभन्दा फरक पर्दैन।

प्रसङ्ग गरौं केही दिन अगाडि जहाँ तिहार नजीकिँदै गर्दा बजेको दुर्गेश थापाले गाएको उक्त गीतबाट, जसले नेपाली गीत समाजलाई अतिरञ्जित, ढाडस दिएको निहूँमा उनलाई प्रहरी प्रशासन समेतको चक्कर लगाउन पर्ने स्थिति आयो। सो गीतको सार शब्दले समाजलाई असर गर्दा उनलाई ‘चिसो बियर’ नराम्रोसँग लाग्यो। चिसो बियरको मातका कारण उनले यसलाई सच्याएर पुनः प्रसारण गर्ने भने साथै आफूले क्षमा याचना समेत मागेका छन् । उनले माफ माग्नु नै आफूमा ठूलो महानता हो।

हुन त हाम्रो सानो र साँघुरिएको समाजमा चाहे दशैं होस् या तिहार वा तीज, यस्तो चाड पर्वामा गाउने गीत मौलिक संस्कृतिभन्दा यौन वासना, ग्ल्यामरसलाई प्राथमिकताका साथ उत्सुकता र कामुकता बढाउने खालका शब्द चयन गरी गाउने चलन कुनै नौलो घटना भने होइन। अघिल्लो बर्ष नै पशुपति शर्माको ‘लुट्न सके लुट’ भन्ने गीतले राष्ट्रीयता, सिंगो मुलुक र सरकारप्रति बितृष्णा पैदा गरायो भनेर उक्त गीतलाई हटाउन लगाइयो।वास्तवमै यस्ता गीतले एक किसिमको जनमानसमा ऊर्जा पैदा त गराउँछ तर सोही गीतका कारण अन्यलाई असर गरेको कुरा गीतका स्रष्टा कहिले पनि बुझ्न तयार हुँदैनन्।

२०४८ सालतिर कुमार बस्नेतले ‘छोरीभन्दा आमा तरुनी’ गीत गाउँदा समेत उनले ठूलै मूल्य चुकाउन पर्यो ।बिशेष गरी महिलावादी समूहबाट। कोमल ओली तीजको मौका पारेर गाएकाे ‘पोइला जान पाम’ भन्ने गीतका कारण सर्बोच्चसम्म पुग्नुपर्याे। यी लगायत धेरै लोक आधुनिक गीतहरु बेला बेलामा चर्चा चलिरहन्छन्।

यी साधारण गीत बाहेक आजकल समय अनुसार हिप हप ऱ्याप गाउने गीतको त कुरै नगरौं, कस्तोसम्म हुन्छन् भनेर। चाहे पुराना ऱ्यापर गिरिस, प्रनिलका गीतमा मीनिंङलेस भनेर नै गीत निकालेर गाउने गर्थे। त्यसपश्चात् स्वर्गीय यम बुद्धका गीत होस् या लाहुरे र भीटेनका ‘चुरोट’ जस्ता गीतले सामाजिक सद्भावलाई खलबलाई राखेको छ । त्यो बारेमा प्रहरी प्रशासन मौन नै छ। खास गरी बजारमा अफ्रिकन ऱ्यापबाट सुरु हुँदै हाम्रो नेपाली समाजसम्म आईपुग्दा यस्ता गीतले ठूलै फड्को मारेको छ। पंक्तिकार ऱ्याप वा हिप हप गीतको बिरोध गर्न खोज्या होइन तर सोही गीतका शब्द छान्दा कमसेकम आफ्नो परिवारसँग बसेर सुन्न र हेर्न सहजै सकियोस् भन्ने हो। गीतमा भलगारिटीले मात्र गीत उत्कृष्ट र मिठो सुनिन्छ भन्ने होइन। सरल र सहज समाजमा पच्ने खालका गीतले समेत सांगीतिक बजार तताउन सफल छ।

नेपाली गीत संगीतको बजार अन्यको भन्दा सानो भइरहँदा गीतले कस्तो खालको अर्थ बुझाउन सकेको छ त्यों ठूलो कुरा हो। गीत संगीतले मानवीय सोच, विचार र मनोरंजनका नाममा छाडा प्रवृतिलाई निरुत्साहित गर्न सक्नुपर्छ। अहिले त झन इन्टरनेटको सहज पहुँचका कारण यूट्यूबर,अंडर ग्राउंड ब्याण्डले यस्तोसम्म गीत, भिडियो निकालेको छ कि, जो हेर्न र सुन्न समेत एक्लै बस्नु पर्दछ। आखिर यस्ता दर्जनौं निक्लने गीत, संगीतमा सेन्सर गर्न किन सकिरहेको छैन त ? प्रश्न अनुत्तरित छ।

हाम्रा नेपाली गीतसँग आफ्नै भाषा, सस्कृति रहनसहन ,पहिचान जोडिएको छ। नेपाली गीत संगीतमा मदिरा, सुर्तीजन्य पदार्थलाई मिसाउँदा हरेक गीत संगीतले फरक सुन्ने र हेर्ने गरिएको एवं मन पराइएको पाईन्छ। गीत संगीतकै कुरा गर्दा ज्योति मगर र आस्था राउतको सामाजिक सञ्जालमा शीतयुद्ध नै चल्यो। ज्योति मगरले सञ्जालमा ब्यक्त गरिन् कि पुरुषहरु कम छाडा छन् ? उनीहरुले गाएका गीत सुन्नुभएको छ ? हाल्ने, ठोक्ने, झार्ने जस्ता कुराहरु हुन्छन् । हामीले त कम्तीमा दोहोरो अर्थ लाग्ने शब्दहरु बोल्छौं, उहाँहरु त ठाडै बोल्नुहुन्छ यसलाई के मान्ने ?

अर्की गायिका आस्थाले भनिन्, अब संगीतमा पनि सेन्सर बोर्ड आवश्यक भएको छ । शब्दहरुको मूल्यांकन गरेर मात्रै रेकर्ड गर्न अनुमति दिनुपर्छ, कलाकारहरुको पनि ग्रेडिङ हुनुपर्‍यो । छाडा गीत गाउनेहरु र अरु कलाकारहरुलाई एउटै कसीमा राखिनु भएन । यसरी हेर्दा हाम्रो नेपाली समाज गीत संगीतमा अछूतो छैन भनेर बुझ्न सकिन्छ । किनकी सुन्ने र हेर्ने नै ग्लायमर्सलाई टेवा दिइ राखेका छन्।

पाश्चत्य गीत गाउने शैलीको सिको गर्दै गर्दा आफ्नै गीत संगीत भने लोप भएको महसूस भएको छ । पहिले गाउँ घरमा गाउने रोधी होस् या सोरठी गीत आजकल भनिने गीतहरुको दोहोरो अर्थ लाग्ने र बजारमा पनि एस्तै गीत संगीतको डिमाण्ड बढ़ने भएका कारण यस्ता गीत खोजी खोजी राख्ने र प्रसारण गर्ने गरिएको छ। यूट्यूबमा बढी भ्यूज गराउन टिस् भी को टीआरपी बढाउन र छिट्टै चर्चा बटुल्न समेत यी खालका गीत संगीतले ठूलो प्रभाव पारेको छ। मेरो सृजनाले नेपाली मौलिकतामा कस्तो असर पार्छ भनेर होइन कि कस्तो गीत निकाल्यो भने ब्यापार हुन्छ, चर्चामा आइन्छ भनेर हिँड्नेको ठूलै जमात अहिले बढ्न थालेको छ।

‘मेरो ढाड चिलायो’, ‘नाईटोदेखि मुनि’, ‘म सेक्सी देखिन्छु’, ‘दरमा रक्सी खाइन्छ’ खालका जस्ता अत्यन्त निकृष्ट शब्द प्रयोग गरेर गीत बजारमा आउने गरेको छ। यसलाई रोक्ने कसले हो ? किनकी नेपाली गीत संगीत , संस्कृति मनोरञ्जन र आनन्द मात्र नभएर हाम्रो मान सम्मान, पहिचान ,गौरब र परिचय दिलाउने माध्यम पनि हुन्। गीत संगीतमा अश्लीलता,यौन, मदिरासँग जोडिएका गीतहरुमा पुराना गायक तथा लेखक समेत यी शब्दहरु राखेर गीत लेख्ने ,गाउने, र कतिले त साहित्य नै फुराएको देख्न पाइन्छ। चाहे स्वर सम्राट नारायण गोपाल,अरुण थापाले गाउने गीत होस् या साहित्यकार लक्ष्मी प्रसाद देवकोटा, भूपी शेरचनका कवितामा पाइने साहित्य सबै यसलाई नै इंगित गरी गाइने र लेख्ने चलन चलाइएको थियो।

अब हरेक गीत संगीत, साहित्य वा कला होस् यसलाई समाज, वर्ण, लिङ्ग, भेषभुषा, जातजातिलाई असर नगर्ने गरी रचना गर्ने र आम मानिसमा प्रशारण गर्ने खालको छुट्टै सेन्सरको ब्यबस्था गर्न सरकार लाग्नु पर्दछ। गीत संगीतको विवाद सेन्सर मात्र पनि होइन कपि राइट्स ऐन पनि एक भएका कारण दुबैलाई असर नगर्ने गरी कला साहित्य संगीतको सम्मान गरी लेख्न गाउन र प्रशारण गर्न आवश्यक छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्