एकातिर मन अर्कोतिर शरीर लाग्छ
परदेशमा छु तर देशकै पीर लाग्छ ।
फराकिलो सडक र चिल्लो कार छैन
तर प्यारो आफ्नै पाखा भीर लाग्छ ।
हिमालको शीरबाट घाम झुल्किएको
सबैभन्दा सुन्दर त्यही तस्वीर लाग्छ।
अर्काको नुन खाइयो र त दुख पाइयो
गल्तीको सजाय जस्तो जागिर लाग्छ।
सम्हाल्न सजिलो रहेनछ जिन्दगी
समुद्रको छालजस्तै अस्थिर लाग्छ।
जो बाँच्छ आफ्नो माटोमा पौरखले
त्यही मान्छे संसारकै अमीर लाग्छ।
जहाँ मेरो देवीजस्ती आमा हुनुहुन्छ
आफ्नै घर मलाई त मन्दिर लाग्छ।
– विनाेद श्रेष्ठ



लाेकपाटी न्यूज

