नेपालको गरीबी केही वर्ष भित्रमा हटाउँछौं : अर्थमन्त्री डा. खतिवडा

1
लाेकपाटी न्यूज

काठमाडौं, १ कात्तिक । अर्थमन्त्री डा. युवराज खतिवडा तथा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल र प्रतिनिधिमण्डलका अन्य सदस्यहरुले संयुक्त राज्य अमेरिकाको वासिनटन डि.सी. मा आयोजित अन्तर्रा्ष्ट्रिय मुद्रा कोष तथा विश्व बैंक समूहको दक्षिणपूर्वी एशिया मतदान समूहको संयुक्त वार्षिक बैठकमा सहभागिता जनाएका छन्।

विश्व बैंकले नेपालमा सहायता गरेको पचास वर्ष पुगेको उपलक्ष्यमा आयोजित विशेष कार्यक्रममा अर्थमन्त्री डा. खतिवडाले विश्व बैंकले नेपालमा सहायता परिचालन गर्दा विगतमा लिएका कतिपय रणनीति प्राथमिकताहरुको विषयमा चर्चा गर्दै नेपालको प्राथमिकता अनुसार चरम गरीबी केही वर्ष भित्रमा हटाउने र आम जनताको औषत आयु एसिया प्रशान्त क्षेत्रको औषत आयु बराबर पुर्‍याई गुणस्तरीय जीवन यापन गर्न सक्ने बनाउन बैंकको सहायता राशीमा उल्लेखनीय बृद्धि गर्न जरुरी रहेको बताए।

बैंकबाट प्राप्त हुने सहायतालाई उच्चतम प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गर्ने र ऋण माथिको निर्भरता कम गर्न तुरुन्तै प्रतिफल दिने क्षेत्रमा सहायता परिचालन गर्ने नीति नेपाल सरकारले लिएको बताउँदै अर्थमन्त्री डा. खतिवडाले प्राप्त हुने सहायताको पूर्ण सदुपयोग हुने विश्वास दिलाए।

विश्व बैंकका उपाध्यक्ष हार्ट्विक सेफर र अन्तर्रा्ष्ट्रिय वित्त निगमका उपाध्यक्षले नेपालले विगतमा बैंकको सहयोगमा विभिन्न क्षेत्रमा गरेको प्रगतिको चर्चा गर्दै गत वर्ष नेपाल दक्षिण एसियाकै राम्रो प्रगति गर्ने मुलुक हुन सफल भएकोमा उच्च प्रशंशा गर्दै अझ धेरै साझेदारी गर्न बाँकी रहेको बताए।

नेपालमा वित्तीय संघीयताको कार्यान्वयनको अनुभव आदान प्रदान गर्ने कार्यक्रममा विश्व बैंकका उपाध्यक्ष हार्ट्विक सेफरले नेपालले छोटो सयममा वित्तीय संघियता कार्यान्वयन गर्न सफल भएकोभन्दै प्रशंसा गरे।

अर्थमन्त्री डा. खतिवडाले वित्तीय संघीयताको कार्यान्वयनका सम्बन्धमा विविध पक्षमा प्रकाश पारेका थिए भने नेपालमा वित्तीय संघीयताको कार्यान्वयन खास गरी अन्तर सरकारी वित्त हस्तान्तरण तथा राजश्व बाँडफाँड लगायतको विषयमा नेपाल सरकारका सचिव डा. बैकुण्ठ अर्यालले प्रस्तुती गरेका थिए।

विश्व बैंक समूह र अन्तर्रा्ष्ट्रिय मुद्राकोषको संयुक्त वार्षिक वैठकमा सहभागी हुन आएको अवसरमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनका अर्थमन्त्रीहरुको १४ औं अनौपचारिक वैठककोमा अर्थमन्त्री डा. खतिवडाले यस क्षेत्रको आर्थिक बृद्धिका लागि व्यापार सहजीकरण जरुरी रहको बताए ।

यस क्षेत्रमा अन्तर देशीय सडक लगायत हवाई सञ्जालको पर्याप्त विकास हुन सकेमा यसले आर्थिक बृद्धिमा योगदान पुर्‍याउने उनले बताए। यस क्षेत्रमा भौतिक पूर्वाधारको पर्याप्त विकास नहुनु नै व्यापार सहजीकरणको लागि बाधक रहेको बताउँदै अर्थमन्त्री डा. खतिवडाले विश्व बैंक जस्ता अन्तर्रा्ष्ट्रिय दातृ निकायहरुको सहयोगबाट अन्तर देशीय सडक सञ्चालनको लागि पूर्वाधारहरुको विकास गर्न मद्दत पुग्ने बताए।

दक्षिण एसिया क्षेत्रमा सडकको अतिरिक्त हवाई सेवाको सञ्जाल विकास गरी अन्तर आवद्धता बढाउनु जरुरी रहेको बताउँदै उनले यसबाट पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने साथै यसबाट आर्थिक वृद्धिमा परिपुरक भूमिका रहने बताए।